कारागारबाट फरार कैदी ९ महिनापछि पक्राउ



न्युज अफ नेपाल, हेटौंडा ।

कारागारबाट फरार रहेका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ । कर्तव्यज्यान मुद्धामा भीमफेदी कारागारमा २० वर्ष कैद सजाय भोगिरहँदा फरार भएका (सुनसरी साविक बकुलौरी गाविस वडा–४ (हाल सुनसरीको रामधुनी नगरपालिका वडा नम्बर–७ बस्ने) २५ वर्षीय कुलदीपराज धामी पक्राउ परेका हुन् ।

उनी २०७६ कार्तिक ३० गते कारागारबाट भागेका थिए । उनी पर्खाल नाघेर भागेको अनुसन्धानका क्रममा खुलेको छ । उनी जेलका सहनाइके थिए ।

फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले भागेको ९ महिनापछि कञ्चनपुरबाट चितवनतर्फ आउने क्रममा साउन १६ गते नवलपुरको देवचुली नगरपालिका वडा नम्बर–१६, रहजरस्थित पुलछेऊबाट पक्राउ गर्न सफल भएको मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले जानकारी दिनुभयो ।

पक्राउ परेका धामीलाई आइतबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरिएको हो । धामीले २०७१ सालमा चितवनमा २१ वर्षीय रोजिन गुरुङलाई कर्तव्य गरी हत्या गरेको पुष्टि भएको थियो । उनलाई बाँकी सजाय भुक्तानीका लागि आइतबार नै भीमफेदी कारागार पठाइएको प्रउ राठौरले बताउनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्