हाइ प्रोफइल ट्विटर ह्याकमा संलग्न १७ वर्षका किशोर पक्राउ



एजेन्सी ।

पूर्वअमेरिकी राष्ट्रपति बाराक ओबामा, टेस्ला कम्पनीका मालिक एलन मस्कलगायत दर्जन बढी अमेरिकी सेलिब्रेटी तथा हाइ प्रोफइल व्यक्तिको ट्विटर अकाउन्ट ह्याकमा संलग्न एक १७ वर्षका किशोर पक्राउ परेका छन् ।

ग्राह्म इभान क्लार्क नाम गरेका किशोरलाई फ्लोरिडाका अधिकारीहरूले शुक्रबार टाम्पा अपार्टमेन्टबाट पक्राउ गरेका हुन् । उनीसँगै अन्य दुई युवा ओर्लान्डोका २२ वर्षीय निमा फजेली र बेलायतका १९ वर्षीय मेसन जोन शेपार्ड पनि ह्याकिङमा संलग्न भएको जनाइएको छ ।

भर्खर माध्यमिक विद्यालयको पढाइ सकेका क्लार्कविरूद्ध ह्याकसम्बन्धी ३० वटा जघन्य अपराधमा अभियोग लगाइएको छ । विभिन्न ठगीमा समेत संलग्न भएका कारण किशोर भए पनि उनीविरुद्ध वयस्कलाई जसरी नै मुद्दा चलाइने जनाइएको छ । कलार्कमाथि शंका लागेसँगै अधिकारीहरूले उनको अनलाइन गतिविधिहरू निगरानी गरिरहेका थिए।

गत अप्रिलमा सेक्रेट सर्भिसका अधिकारीहरूले उनीबाट सात लाख डलर बराबरको बिटक्वाइन बरामद गरेको थियो । गत जुलाई १५ मा सेलिब्रेटी तथा हाइ प्रोफइल व्यक्तिको ट्वीटर अकाउन्ट ह्याकमा पनि ‘तपाईंहरू बिटक्वाइन पठाउनुस् र बदलामा डबल पाउनुस्’ भनेर ट्विट गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्