प्राकृतिक विपद्बाट जोगिन उच्च सतर्कता



सल्यान, (नेस)
सल्यानमा प्राकृतिक विपद्बाट जोगिन उच्च सर्तकता अपनाइएको छ । प्राकृतिक विपद्बाट हुन सक्ने जोखिमलाई न्यूनीकरण गर्न जिल्लाका सुरक्षानिकायलाई हाई अलटमा राखिएको जिल्ला प्रशासन कार्यालय सल्यानले जनाएको छ ।

विपद्बाट हुन सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै उद्धारका लागि नेपाली सेना, शसस्त्र प्रहरी, नेपाल प्रहरी तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले बताउनुभयो । लक्षित समुदाय स्थानीय तहमा रहेकाले स्थानीय विपद् व्यवस्थापन समितिलाई पनि सतर्कता अपनाउन परिपत्र भइसकेको उहाँको भनाइ छ ।

विपद् प्रतिकार्यका लागि तीन कलस्टरमा विभाजन गरी कार्य अघि बढिरहेको प्रजिअ पोखरेलको भनाइ छ । रेडक्रस, खानेपानी कार्यालयको एउटा कलस्टर जसले जिन्सी सामग्री खाद्यान्न, लत्ता कपडा र स्वच्छ खानेपानीको व्यवस्था गर्नेछ ।

यस्तै दोस्रो कलस्टर हुलाक र दूरसञ्चार कार्यालय रहेका छन् जसले सम्पर्क र समन्वयको कार्य गर्नेछन् भने तेस्रो कलस्टर भनेको उद्धारको रहेको छ जसमा नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी रहेका छन् ।

सबैको जिम्मेवारी निर्धारण गरिएकाले कुनै विपद् आइपरे राहत उद्धारमा कुनै समस्यान हुने उहाँले बताउनुभयो । जिल्लामा बाढी पहिरो आउन सक्ने सम्भावित क्षेत्रको पहिचान गरिएको र उक्त स्थानमा स्थानीयतहसँग समन्वय गरी उच्च सतर्कता अपनाइएको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्