सन्दर्भ स्तनपान सप्ताहः बिगौती दूध नै नवजात शिशुको पहिलो खोप



काठमाडौं, (नेस)
विश्व स्तनपान सप्ताह नेपालमा पनि विविध कार्यक्रमको आयोजना गरी देशव्यापीरूपमा मनाइँदै छ । विश्व स्तनपान दिवस हरेक वर्ष अगस्ट १ देखि ७ सम्म सप्ताहव्यापीरूपमा मनाइन्छ ।

२८औं विश्व स्तनपान दिवसको पूर्वसन्ध्यामा परिवारकल्याण महाशाखा, पोषण शाखाले आयोजना गरेको पत्रकार भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सरकारद्वारा आयोजित साप्ताहिक कार्यक्रमका बारेमा जानकारी गराइयो ।

कार्यक्रममा पोषण शाखाका प्रमुख केदारराज पराजुलीले आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ र बच्चा जन्मेको १ घण्टाभित्र खुवाइने आमाको बिगौती दूध नै बच्चाका लागि रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता भएको पहिलो खोप हो भन्नुभयो । उहाँले बच्चा जन्मनासाथ स्तनपान गराउनाले बच्चाले दूध चुस्दा पाठेघर खुम्चने र रक्तश्राव कम हुनुका साथै साल झर्नलाई समेत मदत पुग्ने बताउनुभयो ।

यस वर्ष ‘स्वस्थ र सुन्दर संसार, स्तनपान एक मात्र आधार’ भन्ने मूल नाराका साथ स्तनपान सप्ताह मनाइँदै छ । स्तनपान संरक्षण तथा संवद्र्धन गर्ने उद्देश्यले सन् १९९२ देखि यो सप्ताह मनाइँदै आइएको हो ।

नेपालमा स्तनपान गराउने महिलाको संख्या ६६ प्रतिशत र शिशु जन्मेको १ घण्टाभित्र स्तनपान गराउनेको संख्या ५५ प्रतिशत मात्र रहेको सन् २०१६ को नेपाल जनसांख्यिक तथा स्वास्थ्य सर्वेक्षणमा उल्लेख गरिएको छ ।

नेपालमा ५ वर्षमुनिका ३६ प्रतिशत बालबालिकाहरू पुड्कोपना, १० प्रतिशत ख्याउटेपना, २७ प्रतिशत कम तौल, ५३ प्रतिशत रक्त अल्पताबाट ग्रसित छन् ।

नेपालमा हुने बाल मृत्युदरको ५३ प्रतिशत कारक कुपोषण रहेको पाइएको छ । यी सबै प्रकारको कुपोषण न्यूनीकरणमा स्तनपानको महत्वपूर्ण भूमिका हुने परिवार कल्याण महाशाखाका निर्देशक डा. भीमसिंह तिनकरीले बताउनुभयो ।

कार्यक्रममा स्वास्थ्य सेवा विभागमका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहले स्तनपान सप्ताहको ब्यानर पढेर उद्घाटन गर्नुभएको थियो । सोही अवसरमा परिवार कल्याण महाशाखाका हरिहरप्रसाद शर्माले स्तनपान दिवसको महत्वमाथि प्रकाश पार्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्