तुरुन्तै लकडाउन गर नत्र केही हप्ताभित्र मै भयावह हुनसक्छः डा. सुन्दरमणि दीक्षित



 न्युज अफ नेपाल, काठमाडाैँ ।
शनिबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा चिकित्सकहरुले कोरोना रोकथामका लागि सरकारले प्रभावकारी काम गर्न नसके संक्रमण ‘रोग’को रुपमा फैलनसक्ने चेतावनी दिएका छन् । उनीहरुले कोरोना रोकथामका लागि भइरहेको प्रकृति हेर्दा केही हप्ताभित्र नै संक्रमण ‘रोग’को रुपमा फैलनसक्ने संकेत देखिएको बताएका हुन् ।
वरिष्ठ चिकित्सक डा. सुन्दरमणि दीक्षितले अहिलेसम्म कोभिड–१९ को संक्रमण रोगको रुपमा नदेखिएको तर समुदायस्तरमा फैलिँदै गए रोगको रुपमा देखापर्न सक्ने बताउनुभयो । कोरोना रोकथामका लागि सरकारले गरेको कामलाई हेर्दा अबको केही दिनभित्रै संक्रमण रोगको रुपमा देखापर्ने निश्चित भएको उहाँको भनाइ थियो ।

इपिमिडियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वप्रमुख एवं सरुवारोग विशेषज्ञ डा. बाबुराम मरासिनीले संक्रमण देखिएको क्षेत्रबाट नदेखिएको क्षेत्रमा आवतजावतमा कडाइ गर्नुपर्ने र काठमाडौं उपत्यकासहित सीमा क्षेत्रमा रहेका बस्तीमा परीक्षणको दायरा बढाउनुपर्ने बताउनुभयो ।

शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा. अनुप बास्तोलाले मानिसहरुको आवागमनलाई व्यवस्थित बनाउन नसके काठमाडौं उपत्यकाको अवस्था केही हप्ताभित्रै भयावह हुनसक्ने बताउनुभयो ।

त्यस्तै, डा. प्रकाशराज रेग्मीले सामाजिक सन्जाल ट्वीटरमा पोष्ट गर्दै भन्नुभएको छ, ‘कोरोना आक्रामक भएको छ। धेरै लक्षणात्मक घटनाहरू बढसरहेका छन, मृत्युदर वृद्धि भइरहेको छ, त्यसैले कम्तिमा १४ दिनको लागि तुरुन्त लक लकडाउन आवश्यक छ ।’

प्रतिक्रिया दिनुहोस्