ढुंगा खसेर एकै परिवारका ४ को मृत्यु



गुल्मी, (नेस)

गुल्मीमा अविरल वर्षासँगै घरमाथिबाट ढुंगा खस्दा एकै परिवारका ४ जनाको मृत्यु भएको छ । जिल्लाको रुरुक्षेत्र गाउँपालिका–५ टाहाटिम आटीपाटामा घरमाथिबाट ढुंगा खसेर च्याप्दा ३० वर्षकी विना बोटेमाझी, उनका छोरा ९ वर्षका सागर बोटेमाझी, ७ वर्षका हेमन्त बोटेमाझी र १० महिनाकी छोरी विनिता बोटेमाझीको मृत्यु भएको वडाध्यक्ष हरिप्रसाद ज्ञवालीले जानकारी दिनुभयो ।

शुक्रबार राति अविरल वर्षासँगै घरमाथिबाट ढुंगा खस्दा च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । स्थानीय तथा प्रहरीको सहयोगमा शव निकालिएको थियो ।

५ जनाको परिवार रहेकोमा १ जना भने रोजगारीको सिलसिलामा रहेको बताइएको छ । रातको समय र ठाउँठाउँका मोटरबाटोसमेत पहिरोले बगाएपछि त्यस स्थानसम्म पुग्न कठिन रहेको वडाध्यक्ष ज्ञवालीले बताउनुभयो । उद्धारका लागि इलाका प्रहरी चौकी रिडी र इलाका प्रहरी चौकी जोहाङको टोली घटनास्थल पठाइएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक राजेन्द्रसिंह खड्काले जानकारी दिनुभयो ।

सबै शव निकालेर पोस्टमार्टमका लागि स्कुलमा राखिएको प्रहरीले जनाएको छ । सोही स्थानमै अन्य घरपरिवारलाई तत्काल बस्न जोखिम रहेकाले सुरक्षित स्थानमा बस्नका लागि आग्रह गरिएको वडाध्यक्ष ज्ञवालीले बताउनुभयो । घटनास्थल जिल्ला सदरमुकाम तम्घासबाट पूर्वतर्फ करिव ४० किलोमिटर टाढा पर्दछ ।

 

प्रतिक्रिया दिनुहोस्