भारतीय दूतावासको सहयोगमा निर्माणाधीन दुईवटा विद्यालयको भवन बर्षौंदेखि अलपत्र



न्युज अफ नेपाल,भद्रपुर ।

निर्माण व्यवसायीको चरम लापरवाहीका कारण भारतीय दूतावासको सहयोगमा झापामा निर्माणाधीन दुईवटा विद्यालयको भवन बर्षौंदेखि अलपत्र परेका छन् निर्माण कार्य सात वर्षदेखी अलपत्र परेको हो । भद्रपुर–३ स्थित अरनिको मावि र मेचीनगर–११ स्थित बलभद्र जनता माविको भवन निर्माण कार्य अलपत्र परेको हो ।

अरनिकोकोे भवन निर्माणका लागि वि.सं.२०७१ सालमा ठेक्का सम्झौता भएर चारपटक सम्म म्याद थप हुँदा समेत निर्माण कम्पनी राजधानी कष्ट्रक्सनले काम सम्पन्न गर्न सकेको छैन । बारम्बार ध्यानार्कषण गराउँदा समेत ठेकेदारले हालसम्म काम सुचारु गर्ननसकेको विद्यालय व्यवस्थापन समितीका अध्यक्ष शमशेर तामाङ बताउँनुहुन्छ । त्यस्तै २ करोड ६४ लाख रुपैयाँमा वि.सं.२०६९ सालमा ठेक्का सम्झौता भएको बलभद्र जनताको भवन समेत तीनपटक सम्म म्याद थप हुदा पनि सम्पन्न भएको छैन ।

काठमाण्डौँको तुलसी भक्त निर्माण सेवाले १५ महिनामा निर्माण सम्पन्न गर्नेगरी ठेक्का सम्झौता भएपनि हालसम्म निर्माण सकिएको छैन । काम शुरु गरेको एक बर्ष पछि एकाएक गायव भएपछी अहिले भवनको निर्माण कार्य ठप्प बनेको विद्यालय व्यवस्थापन समितीका पूर्वसदस्य नरेश महरा बताउँनुहुन्छ । निर्माण जिम्मा लिएको कम्पनि बेपत्ता भएको भन्दै अभिभावक सहित स्थानीय धेरै पटक तत्कालिन जिल्ला विकास समिति लगायत सम्बन्धित निकायहरुमा गुनासो गएको भएपनि आश्वासन मात्रै पाएको उहाँको भनाइ छ ।

स्वामित्व लिनै लामो समय लागेको र अब भने भवनको निर्माण कार्य सम्पन्न गराउने प्रक्रियामा आफुहरु लागेको जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेल बताउँनुहुन्छ । निर्माण कार्यमा ढिलासुस्ती भएको उहाँले स्वीकार गर्नुभयो । यो विषयमा विभागमा जानकारी गराइसकिएको उहाँको भनाइ छ । हालसम्म अरनिकोको बाट १ करोड ७७ लाख र बलभद्रबाट १ करोड ३ लाख रकम निर्माण व्यवसायीलाई भुक्तानी भइसकेको छ ।

झापाको गौरादह, भद्रपुर र मेचीनगरका तीन वटा विद्यालयको भवन निर्माणका लागि वि.सं.२०७० साल अघि नै भारतीय दूतावासको आर्थिक सहयोगमा तत्कालिन जिल्ला विकास समितीमार्फत् ठेक्का प्रक्रिया अघि बढेको थियो । गौरादहस्थित महारानीझोडा माविको भवनको निर्माण कार्य भने सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्