काँग्रेसद्वारा १३ औं सागका स्वर्णधारी सम्मानित



न्युज अफ नेपाल, काठमाडौं ।

नेपाली काँग्रेसले १३ औं दक्षिण एशियाली खेलकुद सागमा स्वर्ण पदक जित्ने नेपाली खेलाडीहरुलाई शुक्रबार नगदसहित सम्मान गरेको छ ।

काँग्रेसको खेलकुद विभागले सानेपास्थित पार्टी कार्यालयमा आयोजना गरेको एक विशेष कार्यक्रममा सभापति शेरबहादुर देउवाले स्वर्ण जित्ने खेलाडीहरुलाई नगदसहित सम्मान गरेका हुन् । गत डिसेम्बर १ देखि १० तारिखसम्म नेपालमै भएको १३ औं सागमा नेपालले ऐतिहासिक ५१ स्वर्ण, ६० रजत र ९५ कांस्य सहित कुल २ सय ६ पदक जितेको थियो ।

शुक्रबार काँग्रेसले पहिलो चरणमा स्वर्ण पदक जित्ने खेलाडीलाई मात्रै सम्मान गरेको हो । काँग्रेस सभापति देउवाले नेपाली काँग्रेस सधैं खेलाडीको पक्षमा रहेको बताउँदै केही अप्ठेराहरु भए खेलाडीको पक्षमा लाग्न सरकारलाई दवाब दिने बताए ।

काँग्रेस खेलकुद विकास विभाग प्रमुख मोहन बस्नेतले आगामी दिनमा रजत र कांस्य पदक विजेता खेलाडीका साथै प्रशिक्षकहरुलाई पनि सम्मान गर्ने योजना रहेको बताए । कार्यक्रममा राखेपका सदस्य सचिव रमेशकुमार सिलवालले देशको पुरानो पार्टी नेपाली काँग्रेसले खेलाडीको सम्मान गरेर राम्रो सुरुआत गरेको बताएका थिए ।

नेपालले १३ औं सागमा ५१ स्वर्ण पदक जितेपनि व्यक्तिगत र समूहगत गरी ८१ जनाले स्वर्ण पदक हात पारेका थिए । उनीहरुलाई काँग्रेसले जनही १० हजारका दरले सम्मान गरेको छ । तर, एक भन्दा बढी स्वर्ण जित्नेको पुरस्कार रकम भने बढी रहेको छ । काँग्रेसले एक मात्र स्वर्ण जित्नेलाई १० हजार, दोहोरो स्वर्ण जित्नेलाई १५ हजार, तीन स्वर्ण जित्नेलाई २० हजार र चार वटा स्वर्ण जित्नेलाई २५ हजार नगद पुरस्कार प्रदान गरेको छ ।

जसअनुसार सागको एउटै संस्करणमा ४ वटा स्वर्ण जित्ने पौडीकी गौरिका सिंहले २५ हजार प्राप्त गरेकी छन् । त्यस्तै, सागमा दोहोरो स्वर्ण विजेता तेक्वान्दोका आयशा शाक्य, करातेका मन्डेकाजी श्रेष्ठ र गल्फका सुवास तामाङले समान १५ हजार नगद प्राप्त गरे ।

प्रतिक्रिया दिनुहोस्