युवाको आवाज सुन्न कलाकर्मीको जोड



  • रश्मी थापा

रोना भाइरस संक्रमणबाट हुने कोभिड–१९ को सबल व्यवस्थापनको माग राखेर युवाहरुले अभियान शुरू गरेको महिनौं भइसकेकोे छ। टायर बाल्ने, रेलिङ तोड्नेजस्ता अवाञ्छित बाधा अवरोध र ध्वंसबिना शान्तिपूर्ण लोकतान्त्रिक विधि र आचरणबाट सत्य र सुशासनको मागसहित शुरू भएको यो इनफ इज इनफ अभियानविरुद्ध सरकारले भने शुरूमा दमनको नीति अपनायो।

निष्ठा, नैतिकता, जवाफदेहीतामा ह्रास आएको, भ्रष्टाचार जीवनपद्धतिसरह बनेको समाजमा युवाहरूको स्वतःस्फूर्त अभियान आशाको किरणका रूपमा देखा परे पनि नागरिकस्तरबाट जारी अभियानप्रति सरकारले आ“खा चिम्लूदै आएको छ। इनफ इज इनफ भन्दै प्रधानमन्त्री निवास अगाडि शान्पिूर्ण प्रदर्शन गर्न पुगेको अभियानलाई दबाउने प्रयास भए पनि केही समयअघि पाटन दरबार स्क्वायरमा युवाहरुले जारी राखेको इनफ इज इनफ अभियान १२ दिन अनशन बसेपछि सरकार र अभियन्ताबीच १२ बुँदे सम्झौता भयो।

तर सरकारले आफैले गरेको सम्झौता पूरा गरेन। सरकारले सम्झौता कार्यान्वयन नगरेपछि युवाहरू पुनः दोस्रो चरणको सत्याग्रहमा छन्। १३ दिनयता ईः वसन्तपुरमा निराहार अनशनमा छन्। सरकार आपैmले सचेत भएर कोभिड १९ विरुद्ध जुट्नपर्नेमा झकझक्याँउदा समेत बेवास्ता गरेपछि अभियानअन्तर्गत विभिन्न कार्यक्रमहरु भइरहेका छन्। यस क्रममा कतिपय कलाकर्मीले पनि यसमा ऐक्यबद्धता जनाएका छन्। यो अभियान र सत्याग्रहबारे के भन्छन् त कलाकर्मी?

 

ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता मदनकृष्ण श्रेष्ठ सत्तामा रहेका मानिसलाई बेलाबेला झकझक्याइरहनुपर्नेमा जोड दिन्छन्। ‘सत्तामा रहेका व्यक्तिलाई बेला बेलामा मिडिया युवा तथा नागरिकले झकझक्याइरहनुपर्छ। अहिलेको आन्दोलन वा अभियान भनेको त्यही झकझक्याउने हिसाबले चलिरहेको छ। तर यसरी खानपिन बन्द गरेरै अनशन बस्नु स्वास्थ्यको हिसाबले एकमद गाह्रो र जोखिमको कुरा हो। अहिलेको आन्दोलनमा अलि धेरै मानिसको फोर्सफुल्ली सहभागिता रहेको देख्छुु, मदनकृष्णको भनाइ छ– ‘तर पनि सरकारले उनीहरुको आवाजलाई सुनेको जस्तो मलाई लाग्दैन। उनीहरुको आवाज सुनिनुपर्छ।’

अर्का ख्यातिप्राप्त हास्यव्यंग्य अभिनेता हरिवंश आचार्य पनि अभियन्ताहरुको मागको सुनुवाइ हुनेपर्नेमा जोड दिन्छन्। ‘जसरी संसद्मा अपोजिसन पार्टी हुन्छ, त्यसै गरी बाहिर पनि सचेतना जगाइरहने खालका मानिसहरु हुनुपर्छ। सरकारले उनीहरुको मागलाई सम्बोधन गर्नुपर्छ। हुन त प्रधानमन्त्री केपी शर्मा ओली आफै गएर उहाँहरुलाई भेट्नुभएको थियो’, हरिवंश भन्छन्– ‘आफै गएर भेट्नु भनेको उहाँहरुको कुरालाई समर्थन गर्नु हो। तर १२ बुँदे सहमति गरेर पनि त्यसको कार्यान्वयन किन भएन? उहाँहरुको कुरालाई चाँडै सम्बोधन हुनुपर्छ।’

 

हास्यव्यंग्यकार मनोज गजुरेल हजुरबा पुस्ता र नाति पुस्ताको सोचाइको तालमेल नमिलेको कारण यस्तो आन्दोलन भइरहने बताउँछन्। ‘हजुरबा पुस्ताको नेतृत्वले अहिलेका नाति पुस्ताको चाहना, अपेक्षा र आशालाई सम्बोधन गर्न सक्दैन र सकिरहेको छैन। ५० वर्ष पहिलेका मान्छेको सोच अहिलेका मान्छेको बुभ्mन नसक्दा यो आन्दोलन भएको हो र यस्तै प्रकारका आन्दोलन भइरहन्छन्’, मनोजको भनाइ छ– ‘युवाको आवाजलाई सुन्न र बुझ्न युवा नेतृत्वले मात्र सक्छ। यस कारण सरकारमा रहेका वृद्ध नेताहरुले स्वस्फुर्त रुपमा अवकाश लिनुपर्छ। यस्तो अवकाश हिंसात्मक होइन शान्तिपूर्ण हुनुपर्छ।’

नायिका प्रियंका कार्की सरकारप्रतिको अविश्वासका कारण युवाहरु अभियानमा उत्रिएको बताउँछिन्। ‘कुनै पनि राज्यमा कुनै पनि समस्यालाई लिएर यो स्थानसम्म पुग्नु भनेकै नराम्रो कुरा हो। युथले आवाज उठाएर यहाँसम्म पुग्दा पनि सुनुवाइ नहुनु भनेको एकदमै नराम्रो कुरा हो। आफ्ना नागरिकप्रति गर्भमेन्टको जिम्मेवारीहरु हुन्छन्। तर अहिलेको युथलाई आफ्नो राज्यले केही गर्ला भन्नेमा कन्फिडेन्स नै छैन।

त्यस कारण नै सत्याग्रहमा बसिरहनुभएको छु, प्रियंकाको बुझाइ छ– ‘उहाँहरुको सत्याग्रह भनेको हामी सम्पूर्ण नेपाली र देशका लागि हो। तर दोस्रो पटकको सत्याग्रहमा पनि सरकारले सम्बोधन गर्न नचाहेको हो कि या प्रक्रियामा ढिला भएको हो? जे भए पनि सरकारको कदम फितलो देखिएको छ। हामी सबै नेपालीको जीवन रक्षाका लागि आफ्नो ज्यान नै जोखिममा राखेर सत्याग्रहमा बसिरहनुभएका व्यक्तिकोे सत्याग्रह खेर नजाओस्। जति बुँदाहरु छन्, यथाशीघ्र ती पूरा हुनुपर्छ।’

चित्रकार अस्मिना रञ्जित यसरी युवाहरु जागेर स्वस्फुर्तरूपमा सडकमा आउनु नै खुसीको कुरा भएको बताउँछिन्। ‘युवाहरुस्वतःस्फूर्त आएको भनिएको छ। तर हो कि होइन, मलाई थाहा छैन। यदि स्वतःस्फूर्त आएर आन्दोलन गरेका हुन् भने यो हामी सबैका लागि खुसीको कुरा हो’, अभियानप्रति ऐक्यबद्धता जनाएकी चित्रकार रञ्जित भन्छिन्– ‘एक हिसाबले सोलिडारिटी छ। पहिला पहिला युवाहरुले पोलिटिक्स इज अ डर्टी गेम भन्ने सुन्दै आएका कारण युवाहरुले राजनीतिमा चासो लिएनन्। युवाहरु राजनीतिमा नगएपछि नराम्रो मन्छेहरुले हामीलाई रुल गरिरहे। अब यो आन्दोलन भने सरकारलाई झुकाउने हिसाबले अघि बढ्नुपर्छ।’कोभिड १९ लाई मात्र मुद्दाका रूपमा लिएर बढिरहेको आन्दोलनमा अहिलेका जल्दोबल्दो मुद्दाहरु पनि समेट्नु्पर्ने रञ्जित बताउँछिन्।

‘कोभिड १९ सम्बन्धी १२ बुँदेसहमति कार्यान्वयन नभएको कुरालाई मात्र ल्याएर अन्य इस्युलाई पाखा लगाएर गरिएको आन्दोलन सीमित दायराभित्र बसेर एउटा वर्गले मात्र गरेको आन्दोलन जस्तो देखिएको छ। तर यसमा समेट्नुपर्ने अहिलेका धेरै जल्दोबल्दो इस्यु पनि छन्। नागरिकताका मुद्दादेखि महिलाका विषयजस्ता धेरै मुद्दा छन्, तिनीहरुलाई सँगै लिएर जानुपर्ने देखिन्छ। युवाहरुले स्वस्फूर्तरूपमा गरेको यो अभियानमा मैले पनि ऐक्यबद्धता जनाएको छु।’

हास्य अभिनेता, फिल्म निर्माता तथा निर्देशक निर्मल शर्मा युवाहरुको आवाज सुन्नुपर्नेमा जोड दिन्छन्। भन्छन्– ‘अहिले नेताहरुको दादागिरीविरुद्ध बोल्नका लागि माइतीघर मण्डलाबाहेक अन्त ठाउँ नै छैन। सबै ठाउँमा बन्देज लगाइएको छ। उनीहरुको क्रियाकलापको बारेमा सुन्ने निकाय नै भएन। यस कारण निरीह जनताले गरेको यो शान्तिपूर्ण आन्दोलन र आवाज सुनिनुपर्छ र पूर्णरूपमा सम्बोधन गरीनुपर्छ।’

यो अभियानको समर्थन गर्र्दै यसमा ऐक्यबद्वता जनाएका गायक नवीन के भट्टराई भन्छन्– ‘उहाँहरुको यो अभियान राम्रो हो। सरकारले योङ जेनरेसनको कुरा पनि सुन्नुपर्छ।’ रंगकर्मी तथा अभिनेत्री सरिता गिरी सरकारले गर्नेपर्ने काम पनि नगरेका कारण आन्दोलन गर्नुपर्दा आश्चार्य लागेको बताउँछिन्। ‘हामीलाई जहिले पनि राज्यले हरेक कुरामा पनि खेलवाड गरिरहेको छ जस्तो लाग्छ।

नागरिकको स्वास्थ्यदेखि लिएर शिक्षा कानुनलगायतका कुरामा लापरबाही गरीरहेको छ। यसका विरुद्ध लड्नका लागि चाहिँ हामी युवाहरुले नै दबाब दिनुपर्ने? खाई नखाई विभिन्न तरिकाले दबाब दिनुपर्ने? सरकारले आफै बुझ्नुपर्ने, गर्नुपर्ने कुरामा पनि युवाहरु नै सडकमा कति आउनुपर्ने? यसमा मलाई अचम्म लाग्छु, सरिता भन्छिन्– ‘यसरी विरोध गर्दा पनि राज्य भने चुप लागेर यिनीहरु कराउँदै गर्छन्, हामी आफ्नो काम गर्छौं भनेर बसिरहेको छ। जति अनशन बसे पनि, विरोध गरे पनि त्यसको रिजल्ट भने अहिलेसम्म केही आएको छैन। म पनि कति दिन सडकमा गएर आवाज उठाएँ।

त्यसरी हिँड्दा लाठी खाइने हो कि पानीको फोहोराले हान्ने हो कि, ग्यासले हान्ने हो कि भन्ने डर हुन्थ्यो। दिनभरि त्यसरी सडकमा उफ्र्यो, करायो, बेलुका रिजल्ट शून्य हुन्थ्यो। त्यसो भए पनि बेला कतिन्जेल यसो गर्ने भनेर सोच्छु। तर राज्य पक्षले त्यो सोच्दैन। लकडाउन खुलेको यतिका दिन भयो, संक्रमितको संख्या घट्नुपर्नेमा झन् काठमाडौं उपत्यकामै धेरै बढिरहेको छ। यसरी जथाभावी भइरहेको देख्दा एक हिसाबले यो आन्दोनल ठिकै हो जस्तो पनि लाग्छ एक हिसाबले केका लागि भन्ने प्रश्न पनि आउँछ।’

प्रतिक्रिया दिनुहोस्