शान्तिपूर्ण पहलबाट बनाउन सकिन्छ नयाँ नेपाल



  • ज्ञानमणि नेपाल कालोटोपी

मानवता एवम् शान्तिका विषयमा चर्चा गर्ने अन्तर्राष्ट्रिय वक्ता हुन् प्रेम रावत । वर्तमान कठिन परिस्थितिलाई मध्यनजर गर्दै अन्तर्राष्ट्रिय शान्ति वक्ता रावतले आफ्ना सन्देशहरु निरन्तर प्रवाह गरिरहेका छन् । मानिसहरूमा सचेतना र हिम्मतलाई अघि ल्याउने प्रयास गरिरहेका छन् । उनको भनाइबाट जो–कोही पनि प्रभावित हुन्छन् र अघि बढ्ने प्रेरणा पाउँछन् ।

उनकै शब्द सापटी लिने हो भने, यो कठिन समयलाई पार गर्नका लागि हामीले आफ्नो साहसलाई प्रयोग गर्नु आवश्यक छ । हामीलाई त्यो प्रकाशको आवश्यकता छ, जुन हाम्रो हृदयभित्र चम्किरहेको छ । फलतः अँध्यारो जंगलमा उज्यालो होओस् । बाहिरको परिस्थिति बदलियोस् या नबदलियोस् तर हामी स्वयंलाई त बदल्न सक्छौँ । यो कोरोना भाइरसको विषम परिस्थितिमा तपाईं के कुरा बुझ्नुहोस् भने यस परिस्थितिका कारणले तपाईंको खुशीलाई ठेस नलागोस् । यस्तो अवस्थामा रहिरहँदा पनि तपाईंले आफूभित्रको सुख र आनन्दलाई अनुभव गर्न सक्नुहुन्छ । यदि यस्तो भयो भने तपाईंको जीवनमा आनन्द नै आनन्द हुनेछ । त्यसपछि दुःखसँग डराउनु आवश्यक हुँदैन । मात्र सावधान हुनु आवश्यक हुन्छ ।

हामीले आफ्नो जीवनमा अघि बढ्नका लागि हिम्मत गर्नुपर्दछ । हामीसमक्ष आउने समस्या यति ठूला हुँदैनन् जसले गर्दा हामी यो कुरालाई पनि बिर्सन्छौँ– हरेक समस्याको समाधान साहसका साथ निकाल्न सकिन्छ र हामी अघि बढ्न सक्छौँ । हामीभित्र यो श्वास आइरहँदा अनि गइरहँदासम्म हामीमा त्यो शक्ति पनि यथावत् नै रहन्छ ! अनि, सबैभन्दा ठूलो कुरा हामीले डराउनु आवश्यक छैन ।

आशाका साथ आफ्नो जीवनलाई बिताउनुहोस् । यो परिस्थितिका कारण जे–जति पनि आज तपाईं सिकिरहनुभएको छ, त्यसलाई नबिर्सनुहोस् । यस परिस्थितिमा धेरै मानिस यसबाट डराइरहेका पनि छन् । अनि, डराउन त डराएका छन् तर केही असर परेको पनि छैन । यो कुरालाई याद गर्नुहोस्, सतर्क रहने कुरा फरक हो अनि डराउने कुरा पनि फरक हो । यदि तपाईं बाटो काटिरहनुभएको छ, बाटोको अर्कोतर्फ गइरहनुभएको छ भने सतर्क रहनुपर्छ । तर डर लागेपछि तपाईं रोकिनुहुनेछ । रोकिनुभयो भने त दुर्घटना पनि हुन सक्छ ।

त्यसकारण जबसम्म तपाईंभित्र यो श्वास आइरहेको छ अनि गइरहको छ– यसलाई बुझ्नुहोस्, यसको कदर गर्नुहोस् । यसले तपाईंका लागि जीवन लिएर आएको छ । हो, परिस्थिति तपाईं अनुकूलको छैन । तर यसको अर्थ यो पनि होइन, तपाईं यस्तो अवस्थामा पनि कुनै राम्रो कुरा जान्नै सक्नुहुन्न । तपाईंसँग कस्तो धन छ, कस्तो चीज छ, तपाईंले चिन्नुभएको छैन ! तर जब त्यस चीजलाई चिन्नुहुनेछ, त्यस चीजलाई स्वीकार गर्नुहुनेछ तब मात्र यी सारा कुराहरू समाप्त हुनेछन् । अनि, तपाईंको जीवनमा आनन्द आउनेछ । आफूले आफूलाई चिन्नुहोस्, पहिचान गर्नुहोस् अनि यो जीवनलाई सफल पार्नुहोस् ।

उल्लिखित शब्दहरुमा जे भनिएको छ साँच्चै मानवजीवनका लागि अमूल्य छन् । आज मानिस जे गरिरहेको छ, सीमित स्वार्थका लागि गरिरहेको छ । हामीले पौराणिक कुराहरु सुनेका छौं । पाण्डव र कौरव दाजुभाइ नै हुन् तर अहं र घमण्डले कौरवहरु सकिए । पाण्डवहरु एउटा गन्तव्यमा पुगे । पछिल्लो इतिहास हेर्ने हो भने जर्मन सम्राट हिटलर र फ्रान्सका नेपोलियनलगायतले जुन स्वार्थले विश्व विजयको अभियान चलाए त्यो भन्दा सयौं गुणा राम्रो थियो महात्मा गान्धीको अहिंसाको अभियान ।

यति बेला कोरोना भाइरसले विश्व ध्वस्त बनाएको छ । के धनी, के गरिब, कोही अछूतो रहेनन् । अब यसबाट मुक्ति पाउन मानवजगत्ले ठूलै युद्ध लड्नुपर्ने निश्चित भएको छ । यस्तो बेलामा आफूलाई विश्वकै सबैभन्दा शक्तिशाली देश भनेर चिनाइरहेको अमेरिकाले कोरोना नियन्त्रणमा विश्वका अधिकांश देशले अपनाएको लकडाउनलाई बेवास्ता ग¥यो । फलतः आज सबैभन्दा बढी मानवीय क्षति अमेरिकामै भएको छ । यो सबैको एउटै कारण घमण्ड हो । हो मानिस जो–कसैले पनि यति बेला अमेरिकाको यो हठी स्वभावबाट पाठ सिक्न सक्नुपर्छ कि अबको सकारात्मक अवतरण भनेको शान्ति र अहिंसा नै हो ।

नेपालकै सन्दर्भमा कुरा गर्ने हो भने यति बेला कोरोनाले आर्थिक क्षति इतिहासमै सबैभन्दा धेरै भएको छ । मानवीय क्षतिको रेसियो पनि बढेको छ । यही बेला देशमा इतिहासकै शक्तिशाली सरकार छ । तर नागरिकले सोचेजस्तो कुनै काम हुन सकेको छैन । सीमित स्वार्थमा नेताहरु रुमल्लिएका छन् । नेताहरुका शक्तिसंघर्षले यति बेला देश धराशायी बनेको छ । यही अवस्था रहिरहने हो भने के होला ? यसै भन्न सकिँदैन ।

तर यो भन्न सकिन्छ कि सत्तामा पुगेपछि कुर्सीमा बसेकाहरुले बाहिर केही पनि नदेख्ने रहेछन् । कोरोनाले नागरिक समस्यामा छन् । अर्थतन्त्र डामाडोल छ । महँगी र भोकमरी उस्तै बढेको छ । मौकामा चौका दाउ भनेजस्तो नेताहरु यति बेला कुर्सी चढाउने र लडाउने खेलमा छन् । अनि उनीहरु नै भन्दै छन्– हामी जनताका लागि लडिरहेका छौं । नागरिक प्रश्न गरिरहेका छन्, के हामीले यही देख्न तिमीहरुलाई बहुमतको पगरी गुताएका हौं ?

यो राजनीतिक खिचातानीको समय हुँदै होइन । यति बेला के सत्तापक्ष, के प्रतिपक्ष, के व्यापारी, स्वास्थ्यकर्मी, सञ्चारकर्मी वा सुरक्षाकर्मी । सबै एकजुट भएर समस्याको समाधान गर्नुपर्नेमा फेरि उही कुर्सीको झगडा, उही विखण्डनवादी सोच । देश र नागरिकको कुनै चिन्ता छैन नेपालका राजनीतिक खेलाडीहरुलाई । यही बेला कोरोना नियन्त्रणका लागि भन्दै खरिद गरिएका औषधिमा समेत भ्रष्टाचार छ । यति मात्र होइन, नागरिक लकडाउनले भोकै मर्ने अवस्था आउँदा पनि सरकार बन्दी बनेको छ । आज पनि बालुवाटारमा मिटिङ, निष्कर्षविहीन । नागरिक वाक्क भइसकेको अवस्था छ ।

देशमा अब हिंसाको राजनीति काम छैन भन्ने त हामीले माओवादी १० बर्से जनयुद्धबाट भोगिसक्यौं । हिजो त्यही छोटे राजनीति गरेकाहरु आज पनि उही फोहोरी खेल निम्त्याउने प्रयासमा छन् । उनीहरुलाई कुनै चिन्ता छैन । नागरिक अब सचेत हुनै पर्छ । नेतृत्व छान्दा पुराना अनुहार सबैलाई पाखा लगाएर केही गर्नुपर्छ भन्ने सोच भएका युवाहरुलाई छान्न सक्ने हो भने विश्वका कुनै देशभन्दा नेपाल कम छैन । सबै कुरालाई प्रेम रावतले भनेजस्तो सकारात्मक सन्देश प्रवाह गर्दै देशको सेवा गर्नुपर्ने बेला हो यो । के हाम्रो देशका नेता र सत्ता साझेदारहरुमा यो चेतना घुस्ला ? सोचनीय विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्