अहिंसात्मक आन्दोलनको अभियान



  • राेहिणी घिमिरे

दश वर्ष लामो सशस्त्र आन्दोलनको उपलब्धिस्वरुप प्राप्त लोकतान्त्रिक पद्धतिको यतिखेर उपहास भएको छ । १७ हजार ज्यानको आहुतिबाट प्राप्त लोकतान्त्रिक पद्धति शुरु भएको १३ वर्ष भइसक्दा पनि यहाँका नागरिकले शान्तिको श्वास फेर्न सकेका छैनन् । उल्टै हत्या, हिंसा, बलात्कारका घटना बढेका छ्न् । भ्रष्टाचारले सीमा नाघेको छ । न्याय पाउनुपर्नेले न्याय पाउन सकेका छैनन् भने अन्याय गर्नेलाई सजाय हुन सकेको छैन । उदाहरणका लागि निर्मला हत्या काण्ड, ३३ किलो सुन काण्ड, ७० करोड कमिसन काण्ड, रञ्जन कोइरालाको उन्मुक्ति काण्ड आदि ।

यहाँ सलहको प्रकोप बढ्यो, त्यसलाई भगाउनका लागि अङ्ग्रेजी गीत संकलन गर्नतिर लागियो । कोरोनाले उग्ररुप लियो । त्यसको विरुद्ध लड्न बेसारलाई अघि सारियो । न त गीतले काम ग¥यो, न बेसारले । यता कोरोनाको संक्रमण झन् बढ्दो छ, उता नेताहरु सत्ताका लागि एक–आपसमा ङारङार ङुरङुर गरिरहेका छन् । राज्यको काम–कारबाहीबाट मुलृुकका अधिकांश नागरिक सन्तुष्ट हुनुपर्नेमा राज्य सञ्चालक र उनीहरुका सहयोगीहरु मात्र सन्तुष्ट हुने कार्य गरेको आभास भएको छ । यसले गर्दा यतिखेर धरैको मनमा प्रश्न खडा भएको छ– हिंसात्मक आन्दोलनबाट प्राप्त उपलब्धि दिगो नहुने पो हो कि !

त्यसैले अबको आन्दोलन भनेको सत्य, अहिंसात्मक र शान्तिपूर्ण आन्दोलन हो । अब सशस्त्र आन्दोलन गरी क्षणिक उपलब्धि हासिल गरेका देश–विदेशका व्यक्तित्वको जीवनी भन्दा पनि महात्मा गान्धीको जीवनीबाट पाठ सिक्नुपर्ने बेला आएको छ । महात्मा गान्धीले शुरु गरेको शान्ति र अहिंसाको मार्गमा अघि बढेमा धेरैको साथ र सहयोग पनि प्राप्त हुनेछ । सबैको साथ र सहयोगबाट प्राप्त हुने उपलब्धि मात्र दिगो र भरपर्दो हुनेछ । सबैको साथ र सहयोग पाउनका लागि नेताहरु सच्चिएर अधिकांश जनता सन्तुष्ट हुने किसिमका कार्य गर्नुपर्छ । जनता सन्तुष्ट भएमा मात्र विरोधका स्वरहरु सरकारले सुन्नुपर्दैन ।

यतिखेर सरकारका उच्च होहदामा रहनेदेखि स्थानीय निकायका जनप्रतिनिधिहरुसमेत भ्रष्टाचारमा मुछिएको अवस्था छ । विकासमा लगानी घट्दै गएको छ भने प्रशासनिक खर्च बढोत्तरी हुँदै गएको छ । यता स्वदेशी उत्पादनमा आकर्षण नहुँदा परनिर्भरता बढेर गएको छ । निर्यातभन्दा आयात अत्यन्त धेरै हुँदा व्यापार घाटा चरम चुलीमा पुगेको छ । त्यसैले स्वदेशी उत्पादनलाई महत्व दिनु र अहिंसात्मक आन्दोलन रोज्नु अहिलेको आवश्यकता भएको छ, जुन महात्मा गान्धीले अवलम्बन गरेका थिए ।

अहिंसात्मक आन्दोलनको कुरा गर्दा, यहाँ इनफ इज इनफ अभियानको प्रसंग जोड्न चाहन्छु । कोभिड–१९ को सवल व्यवस्थापन र जनताको जीवनरक्षा गर्न माग गर्दै इनफ इज इनफ अभियानले सत्याग्रह शुरु गरेको र यसमा नेपाली कांग्रेसले समेत ऐक्यबद्धता जनाएको छ । ‘इनफ इज इनफका अभियन्ताहरूको पहिलो सत्याग्रह अन्त्य गराउँदा स्वास्थ्य मन्त्रालयको तर्फबाट भएको १२ बुँदे सहमतिको पालना नहुँदा सरकारलाई दबाब दिन अभियन्ताहरूले पुनः सत्याग्रहको सुरुवात गरे । सरकारका प्रतिबद्धता पूरा गराउन र आफूहरुको जीवनरक्षा गर्न सत्याग्रह गरी अहिंसात्मक आन्दोलनको बाटो रोज्नु अभियन्ताहरुको उपयुक्त मार्ग हो ।

शायद साझा विवेकशील पार्टीले पनि पछिल्लो समय महात्मा गान्धीको सत्य र अहिंसात्मक आन्दोलनको बाटो अवलम्बन गरेको देखिन्छ । गत शनिबार र आइतबार साझा विवेकशील पार्टीले राजधानी काठमाडौंमा न्यायका लागि साझा यात्रा नाम दिएर तराजु यात्रा निकालेको थियो । रञ्जन कोइरालालाई कैद सजाय घटाएर उन्मुक्ति दिएकोसहित विभिन्न घटनामा पीडित भएकाहरुलाई न्याय दिलाउनुपर्ने माग राखी यसरी तराजु यात्रा निकालेको सो पार्टीले जनाएको छ ।

साझा विवेकशील पार्टीले मात्र होइन, मुलुकमा शान्ति, स्थायित्व तथा लोकतन्त्रको विकासका लागि अन्य दलले पनि गान्धीको अहिंसावादी सिद्धान्त आत्मसात् गर्नुपर्ने देखिन्छ ।
नेपालको इतिहासलाई पल्टाउने हो भने तुलसीमेहरमा गान्धीको अगाध प्रभाव परेको थियो । ललितपुर शहरमा जन्मेका तुलसीमेहर किशोरावस्थामा नै हिंसादेखि अलग रहे । उनी भित्रभित्रै राणाविरोधी आन्दोलनमा लागे । राणाले सुइँको पाएकाले उनलाई भारततिर पठाइयो । संयोगवश गान्धीलाई भेटेर उनी त्यतै बसे । तुलसीमेहर गान्धीकै सिद्धान्तको लुगा लगाउँथे, त्यस्तै खान्थे र त्यत्तिकै परिश्रम गर्थे ।

तुलसीमेहर गान्धीसँग चार वर्ष बसे । त्यस बेला उनी कपासको धागो कात्ने, त्यसबाट कपडा बुन्ने इलममा पारङ्गत भए । घरेलु कपडाबारे उनले धेरै कुरा जाने । पछि गान्धीले दिएको दुई बन्डल कपाससहित केही चर्खा र केही पैसा लिएर उनी काठमाडौं फर्के । राणाकै सल्लाहमा चन्द्र–कामधेनु चर्खा प्रचारक महागुठीको स्थापना गरे । तुलसीमेहरले त्यहाँ चर्खा सिकाउन विधवा र दलितलाई प्रश्रय दिएका थिए ।

उनले २००८ सालमा नेपाल गान्धी स्मारक निधि नामको संस्था स्थापना गरे । काठमाडौंको गोठाटारमा नेपाल चर्खा प्रचारक गान्धी तुलसी स्मारकका लागि उनले जग्गा पाए । त्यहाँ गान्धी आदर्श हाइस्कुल पनि स्थापना गरियो । चर्खा प्रचारक महागुठीचाहिँ उनले मुलुकका अन्य ठाउँमा पनि खोलेका थिए । उनले नेपाली खाँडीको कपडालाई प्रोत्साहन गरेका थिए । परनिर्भरता हटाउन उनले गरेको यो प्रयास सराहनीय छ । राणाविरुद्ध लागे पनि उनले हिंसात्मक बाटो अँगालेनन्, बरु उनीहरुसँग मिलेरै अगाडि बढ्ने कोशिश गरे । यसले गर्दा राणाहरुलाई कुनै–कुनै कुरामा सच्चिने मौकासमेत मिल्यो ।

यता काठमाडौंका योगवीरसिंह कंसाकार कलकत्ताबाट फर्किएपछि कपडाको व्यापारसँगै साहित्यतर्फ लागे । बंगालको साहित्यिक विकासबाट प्रभावित भएका उनले कविता रच्न थाले । यसै क्रममा उनको कपडा पसल कविहरुको जमघट र कविता वाचन गर्ने थलो बन्यो । कविता वाचन र भेटघाटबाट तत्कालीन शासकलाई खतरा पर्ने देखेर उनको पसलमा रहेका सबै कविताका कपीहरु जफत गरियो । यो उनको शान्तिपूर्ण आन्दोलनको स्वरुप थियो ।

तुलसी मेहरकै चर्खा आन्दोलनबाट प्रभावित भई योगवीरसिंह कंसाकारले वस्त्रकला भवन नामक कपडा उद्योग पनि स्थापना गरे । छोरीलाई पढाउनुपर्दैन भन्ने त्यतिखेरको समाजमा उनले महिला शिक्षा जागरणसमेत चलाएका थिए । आफ्नै छोरीलाई नर्स तालिमका लागि भारत पठाएका थिए । उनले समाज सुधारका कार्य गर्दा जेल पनि बस्नुपरेको थियो । उनी सत्यपथका एक उदाहरणीय व्यक्तित्व हुन् ।

उता बीपी कोइराला शुरुमा माक्र्सवादबाट प्रभावित थिए तर पछि गान्धी दर्शनबाट प्रभावित भई प्रजातान्त्रिक समाजवादका प्रणेता भएका थिए । उनको जीवनबाट पनि धेरै सिक्न सकिन्छ । रिस, राग, ईष्र्या, द्वेषजस्ता तमोगुणहरु उनले त्यागेका थिए । शत्रुसँग पनि मेलमिलाप गर्नुपर्दछ भनी उनले राष्ट्रिय मेलमिलापको नीति लिएका थिए, जुन आज र भविष्यमा पनि सान्दर्भिक रहेको छ ।

सशस्त्र आन्दोलन व्यहोरिसकेको नेपालजस्तो मुलकमा महात्मा गान्धी, तुलसीमेहर, योगवीरसिंह कंसाकारजस्ता व्यक्तित्वको आदर्शलाई आत्मसात् गर्नुको विकल्प छैन । मुठभेड छोडेर सत्य र अहिंसात्मक आन्दोलनमार्फत पनि बाटो बिराउन लागेका नेताहरुलाई सही मार्गमा ल्याउन सकिन्छ । हिटलरजस्तो नबनौं

जर्मनीको नाजी पार्टीका तत्कालीन नेता अडोल्फ हिटलर नामी राजनीतिज्ञ थिए । लाखौँ यहुदीको सम्हार गरेका हिटलरकै कारण दोस्रो विश्वयुद्ध भएको थियो । सो युद्धमा ६ करोड मानिसले ज्यान गुमाएको इतिहास छ । पहिलो विश्वयुद्धमा भने हिटलर भाग्यले बाँचेका थिए । त्यस विश्वयुद्धमा ब्रिटिस सैनिकहरूले एक घाइते जर्मन सैनिकको ज्यान बक्सिस दिएका थिए, ती घाइते सैनिक उनै हिटलर थिए । आफू शासक भएपछि उनले छानी–छानी यहुदीहरू सिध्याउन थालेका थिए । किनकि उनी यहुदीहरुलाई सखाप पार्न चाहन्थे । यसै क्रममा हिटलरले हजारौं हजारलाई कैद गरी यातना दिए । कतिपय कैदीलाई खान नदिएर भोकै मारियो भने कतिपयलाई बन्दीगृहमै पानीको पाइपमा विष पठाएर त्यसमा नुहाउन लगाई मारियो ।

भनिन्छ, एकपटक हिटलरले संसद्मा एउटा कुखुरा लिएर आए । त्यसका पखेटा एक–एक गरेर उखेली नाङ्गै बनाइदिए । उड्न नसक्ने भएपछि चारो छर्दै आफू अघि–अघि हिँडे भने कुखुरा चारोका लागि पछि–पछि हिँड्यो । उनले सो कुखुरालाई देखाउँदै विरोधी जनतालाई पनि त्यस्तै गर्नुपर्ने इंगित गरेका थिए रे ! यसरी १२ वर्ष शासन चलाएपछि आखिर बंकरमा लुकेको अवस्थामा आफैंले विष प्रयोग गरेर जीवनलीला समाप्त गर्नुप¥यो । यसले पनि हिंसात्मक बाटो दिगो नहुने औंल्याउँछ । जो–कोही पनि हिटलरजस्तो बन्न खोज्यो भने त्यसको परिणाम प्रतिकूल हुनेछ ।

त्यसैले अब नेपालका दल र तिनका नेता–कार्यकर्ताले हिंसात्मक आन्दोलनको बाटो त्याग्नै पर्छ । सरकारलाई व्यावहारिकरुपमै लोकतान्त्रिक पद्धतिमा ल्याउन गान्धीको झैँ अहिंसात्मक आन्दोलनको बाटो रोज्नुपर्छ, जसले नेताहरुलाई सच्चिन बाध्य बनाओस् ।

प्रतिक्रिया दिनुहोस्