राखेप सदस्यमा ६ जना मनोनित



न्युज अफ नेपाल,काठमाडौं ।

राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिवले पदबहाली गरेको दोस्रो दिन नै युवा तथा खेलकुद मन्त्रालयले ६ जना सदस्य मनोनित गरेको छ ।६ जना मनोनित भएसँगै राखेपको सात सदस्यीय कार्यकारी समितिले पुर्णता पाएको छ । खेलकुद विकास ऐन २०७७ अनुसार युवा तथा खेलकुदमन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर सुनार (विश्वकर्मा) ले पूर्व सदस्य इन्दिरा निरौला सहित ६ जना नियुक्त गरेका हुन् ।

यसअघि सदस्य सचिव छनोट समितिमा सदस्य रहेका रिम रानाभाटलाई पनि राखेपको सदस्यमा मनोनयन गरिएको छ ।खेलकुद विकास ऐन २०७७ को दफा ३ को उपदफा २ (ठ) अनुसार खेलकुद विज्ञ, खेलकुद प्रशिक्षक, खेलकुद प्राविधिक वा एन्टी डोपिङ विज्ञको कोटाबाट रानाभाट र निरौलालाई मनोनित गरिएको हो ।

यसैगरी सम्बन्धित खेल संघको सिफारिसमा अर्जुन केसी, सुवास श्रेष्ठ र सम्पन्न श्रेष्ठ मनोनित भएका छन् ।त्यस्तै सोही उपदफाको (त) बमोजिम परम्परागत, साहसिक तथा पर्यटकिय खेल क्षेत्रबाट गोविन्द प्रसाद भट्टराईलाई सदस्य पदमा मनोनित गरिएको युवा तथा खेलकुद मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । नयाँ खेलकुद ऐन अनुसार ३७ सदस्यीय रहने राखेपका पदाधिकारीमा अरु पदेन सदस्यहरुबाहेक बाँकी सदस्य पनि चाँडै मनोनित गरिने मन्त्री विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्