नर्स र डाक्टरलाई हेर्ने दृष्टिकोण फरक छ



हाल नेपाल रेडक्रस सोसाइटीमा कार्यक्रम अधिकृतका रुपमा कार्यरत विराटनगरकी सुरक्षा पौडेलले भारतको बेङ्लोरस्थित राजीव गान्धी विश्वविद्यालयबाट बीएस्सी नर्सिङ र पब्लिक हेल्थमा स्नातकोत्तर गर्नुभएको छ । पौडेलले विभिन्न क्षेत्रबाट थुप्रै तालिमहरुसमेत लिएर आफूलाई दक्ष बनाउनुभएको छ । उहाँसँग साधना प्रतिनिधि भगवती तिमल्सिनाले गरेको कुराकानीको सार :

नर्सिङ पेसाप्रति कसरी आकर्षित हुनुभयो ?

म सानो हुँदादेखि नै बायोलोजी विषय धेरै मन पथ्र्यो । हुम्यान बडी, एनोटोमी मन पर्ने भएकै कारण यससम्बन्धी केही गर्न सक्छु जस्तो लाग्थ्यो । नर्सिङ पेसाले मानवीय सेवामा पनि योगदान पु¥याउने देखेँ । त्यही भएर नर्सिङतिर आकर्षित भएँ ।

कहिलेबाट सेवामा प्रवेश गर्नुभयो ?

सन् २०१३ मा भारतको बेङ्लोरबाट नर्सिङ पढाइ सकेपछि त्यहीँ अस्पतालमा साथीहरुसँग बसेर क्लिनिकल प्राक्टिस गरेँ । त्यसपछि नेपाल आएपछि विराटनगरस्थित कोशी हेल्थ इन्स्टिच्युट र शैलजा आचार्य पोलिटेक नर्सिङ इन्स्टिच्युटमा आबद्ध भएर शिक्षण पेसामा संलग्न भएँ । एक वर्ष काम गरेपछि जनस्वास्थ्यमा मास्टर्स (एमपीएच) गरेँ ।

नेपाल रेडक्रस सोसाइटीमा कहिलेदेखि आबद्ध हुनुभयो ?

२०७२ को भूकम्पपछि अन्तर्राष्ट्रिय स्तरको युनिट नेपाल आउँदै थियो । ठूलो विपद्का बेला अस्पतालको जस्तै ठूलो समूह आउँछ । त्यसको लागि नेपाल रेडक्रसले फिल्डमा काम गर्ने नर्स माग गर्‍र्‍यो र म छनोटमा परेँ । मैले सन् २०१५ मा स्वयंसेवीरुपमै काम गर्ने प्रतिबद्धतासहित निवेदन दिएको थिएँ । मलाई नेपाल रेडक्रसमा आबद्ध भएर दोलखाको सिँगटीमा जर्मन रेडक्रसको नेतृत्वमा आकस्मिक रेस्पन्स युनिटअन्तर्गत काम गर्न खटाइयो । फिल्ड अफिसरको रुपमा ४ महिना अन्तर्राष्ट्रिय टिमसँग काम गर्ने राम्रो अवसर पाएँ ।
यो मेरो जीवनको नयाँ र परिवर्तित अनुभव थियो ।

समुदाय तहमा गएर काम गर्दा कस्तो अनुभव प्राप्त गर्नुभयो ?

सिँगटीमा मैले नर्सको भूमिका निर्वाह गर्दै रेडक्रस के हो भन्ने बारेमा बुझ्ने अवसर पाएँ । साथै समुदायको स्वास्थ्यमा योगदान गर्न सक्छु भन्ने लाग्यो । समुदायमा गएर काम गर्दा आफूले सिकेको प्राविधिक ज्ञानको सही सदुपयोग गर्न र त्यसमा विकास गर्न सहज भएको महसुस भयो । रेडक्रसमा काम गर्दा फिल्डमै रहेर मेडिकल र जनस्वास्थ्यका क्षेत्रमा समुदायस्तरमा आवश्यक पर्ने स्वास्थ्य सेवा उपलब्ध गराउन सकिन्छ भन्ने भयो । त्यसकारणले पनि म रेडक्रसमा रहेर काम गर्न बढी लालायित भएर लागिरहेकी छु ।

तपाईं रेडक्रसमा प्रवेश गर्दा भूकम्पको प्रकोप थियो भने अहिले कोरोनाको महामारी छ । मानवीय सेंवेदनाका यी समयलाई तपाईंले कसरी लिनुभएको छ ?

सन् २०१५ मा भूकम्पको प्रकोप थियो भने २०२० मा कोरोना । यी दुवै अवस्थामा मैले फरक–फरक समस्याका बारेमा सिक्दै काम गर्दै छु । हरेक समस्यामा फरक आवश्यकता हुन्छन् । भूकम्पको बेला निश्चित समुदायमा फरक खालको आवश्यकता थियो भने अहिले कोभिड–१९ को प्रकोपमा यो समुदाय, त्यो समुदाय भन्नै नमिल्ने छ । प्रायः सबैलाई एकै खालको समस्या छ र त्यस्तै समाधान चाहिएको छ । कोभिड–१९ मा सबैको भूमिका महत्वपूर्ण हुन्छ । किनभने व्यवहार परिवर्तनका कुराहरु प्रमुख छन् । नेपाल रेडक्रस सोसाइटीबाट परिचालित भएको प्री–हस्पिटल सेवामा आधारित एम्बुलेन्स सर्भिसहरु छन् । त्यसमा २ सय ४२ वटा एम्बुलेन्सहरु नेपालभरिमा परिचालित छन् । एम्बुलेन्स चालकहरुका लागि कोरोना संक्रमण र रोकथामका लागि के–के गर्नुपर्छ भन्ने विषयमा जानकारी गराउने कामको नेतृत्वमा छु । चालक दललाई आवश्यक पर्ने तालिम, परामर्शलगायतका ज्ञान दिने गतिविधि गर्दै आएको छु ।

अरु देशमा हेर्ने हो भने एम्बुलेन्स प्यारामेडिक्सयुक्त बनाइएको हुन्छ । नेपालमा पनि केही त्यस्ता छन्, तर धेरैजसो एम्बुलेन्समा चालक एक्लैले बिरामी ओसारपसार गर्नुपर्ने हुन्छ । नेपालका चालक अत्यन्तै जोखिममा छन् । त्यसैले उहाँहरुको लागि तालिम, परामर्श, व्यावहारिक ज्ञानका साथै ओसारपसारमा संलग्न हुँदा फुल पीपीईको आवश्यकता परेको छ ।

भूकम्पको बेला आफू सुरक्षित रहेर सेवा दिन सकिन्थ्यो भने कोरोनामा त त्यस्तो छैन नि, हैन ?

कोभिड–१९ मा काम गर्दा, तालिम दिँदा माक्स लगाएको छ कि छैन र अन्य सावधानी अपनाएको छ कि छैन भनेर सोच्नुपर्ने हुन्छ । म आफैंले तालिम दिँदा सुरक्षा अपनाएर देखाइन भने सिक्नेले कसरी आवश्यकता बुझ्ने ? यो कोभिड–१९ मा आफूले सिकाउने भन्दा पनि आफूले सिकेर मात्र सिकाउन पाइन्छ । आफू पूर्णरुपमा सुरक्षित भए मात्र अरुलाई सुरक्षा विधि सिकाउने आँट आउँछ । कोभिड–१९ मा आफू सुरक्षित भएर मात्र अरुलाई सुरक्षा विधि सिकाउने हो । भूकम्पको प्रकोपमा चाहिँ स्थिति योभन्दा फरक हो ।

तपाईंको अनुभवमा कोरोनाबाट बच्नका लागि के गर्नुचाहिँ उचित हो ?

विज्ञहरुले दिएको सुझावअनुसार आफैंले आफ्नो बानी सुधार गरे मात्र कोरोनाबाट बच्न सकिन्छ । कोराना आज आयो भोलि आउँदैन भन्ने छैन, पटक–पटक दोहोरिन सक्छ । त्यसैले हरेक व्यक्तिले अरुका लागि हैन आफ्नै लागि जीवनशैली परिवर्तन गर्नुपर्छ । मेडिकल क्षेत्रमा पीपीईलगायतका कोरोना परीक्षण सामग्रीको अभाव बढिरहेको छ । कोरोना महामारी धेरै बढ्यो भने जोखिममा नपर्ने कोही पनि हुँदैनौं । विश्वलाई हेरेर हामीले सिक्नुपर्छ ।

एम्बुलेन्स चालक कत्तिको जोखिममा छन् ? अहिले एम्बुलेन्स चालकलाई कस्तो तालिम दिइँदै छ ?

एम्बुलेन्स चालक निश्चय नै बढी जोखिममा हुन्छन् । रोगबाट बच्नका लागि हामीले निर्देशिका बनाएरै फोनको माध्यमबाट उनीहरुलाई तालिम दियौँ । के गर्न हुन्छ र के गर्न हुन्न भन्ने बारेमा कम्तीमा १५ मिनेटका दरले अभिमुखीकरण ग¥यौँ । शुरुका दिनमा चिकित्सक र अस्पतालका लागि त पीपीई थिएन भने चालकसम्म पुग्ने अवस्थै थिएन । त्यति मात्र नभई समुदायले पनि बुझेको अवस्था थिएन । समुदायले यो चालक त कोरोना संक्रमितलाई ओसारपसार गर्छ भनेर संकुचित धारणा राख्थे । अघिल्लो हप्ता फेरि पनि नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखासँग समन्वय गरी २ दिने, संक्रमण रोकथाम र र नियन्त्रणबारेमा भर्चुअल तालिम दियौँ । तालिमकै क्रममा चालकहरुलाई यस विषयसँग सम्बन्धित आवश्यक परामर्श दिइयो र अहिले उहाँहरुसँग सुरक्षा सामग्रीहरु पनि उपलब्ध छन् । यसले चालकहरुमा भएको त्रास र आत्मबलको कमजोरी घट्यो ।

लकडाउन खुकुलो भएसँगै धेरैले व्यक्तिगत दूरी कायम नगर्ने, मास्क नलगाउने गर्न थालेको देखिन्छ, के भन्नुहुन्छ ?

हो, लकडाउनको अवधिमा डोरी लगाएर पसलहरुमा आउने ग्राहकलाई लाइनमा राखिन्थ्यो भने अहिले धेरै ठाउँमा डोरी हटाएको, मानिसहरु भीडभाड गरेको देखिन्छ । यो गलत हो । सबैले आ–आफ्नो ठाउँबाट सुरक्षा अपनाउनुपर्छ । हामी आफैं सचेत भएनौं भने समस्या भयावह भएर आउँछ । यो चुनौतीको घडीमा लकडाउन खुकुलो भए पनि सबैले सचेतता अपनाउन जरुरी छ ।

पहिला कोरोना कम थियो, डर धेरै थियो । अहिले डर कम भयो, कोरोना बढी भयो । आममानिस विनापर्वाह कोरोना संक्रमणबाट बच्नुपर्ने नियमको पालना नै नगरी हिँड्न थाल्नु थप चुनौतीको विषय हो । अहिले कोरोना व्यापकरुपमा बढेकाले झन् कडाइका साथ सुरक्षा नियमहरु पालना गर्नुपर्छ, हेलचेक्र्याइँले भोलिको दिनमा भयावह स्थिति नहोला भन्न सकिन्न ।

नेपालमा हाल संक्रमितको संख्या बढेको भए पनि मृत्युसंख्या कम (करिब शून्य दशमलव २ प्रतिशत) छ । त्यसमा पनि मृत्युपछि कोरोना संक्रमण प्रमाणित धेरै भएका कारण मानिस नडराएको हुन सक्छ । नेपालमा ज्येष्ठ नागरिक अति जोखिम समूह भए पनि कम उमेरका व्यक्तिको मृत्यु बढी छ । अब अति जोखिम समूह– गर्भवती, ६० वर्षमाथिका व्यक्ति, अन्य दीर्घरोग भएका व्यक्तिमा समस्या बढ्न सक्छ । लकडाउन खुकुलोमा उच्च जोखिम समूहलाई विशेष ध्यान दिनुपर्छ । घरका ज्येष्ठ सदस्य, वृद्धाश्रमलगायतका क्षेत्रमा विशेष ध्यान दिनु र अनुगमन गर्नु जरुरी छ ।

कोरोनाबाट जोगिन सरकारले के गर्नुपथ्र्यो जस्तो लाग्छ ?

सरकारले धेरै काम स्थानीय तहसम्म पुर्‍याएको छ । साथै यससम्बन्धी गतिविधिलाई अनुगमन गर्ने र नियमको पालना गराउन कडाइ गर्नुपर्छ । यसका लागि व्यक्तिगतरुपमा व्यवहार परिवर्तन नगरेसम्म सुरक्षित हुन गाह्रो छ । सरकारले नियमको पालना भए/नभएको विषयमा कडाइका साथ अनुगमन गर्नुपर्छ ।

नर्सिङ पेसा अपनाउन चाहने नयाँ भाइबहिनीलाई के भन्न चाहनुहुन्छ ?

नर्सिङ पेसा हृदयदेखि नै अपनाउन सके अत्यन्तै राम्रो मानवीय सेवाको पेसा हो । अरुको दबाबमा नभई आफैंले बुझेर पेसा अपनाउन सके राम्रो हो । व्यक्तित्व विकासका साथै नयाँ–नयाँ कुरा सिक्नका लागि पनि नर्सिङ पेसाले ठूलो मद्दत गर्छ, यो समाजमा सम्मान पाइने पेसा हो । बिरामी निको भएर घर फर्किंदा जुन सन्तुष्टि मिल्छ र स्वास्थ्य क्षेत्रका विकासमूलक कामको संलग्नताबाट जुन परिवर्तन नियाल्न पाइन्छ, अन्य काम गरेर पाउन सकिन्न ।

नर्स र डाक्टरमा हुने भिन्नता कस्तो छ ?

नर्स मात्र नभई अन्य पेसामा पनि लैंगिक विभेद हुन्छ । नेपालमा मात्र नभएर अन्य मुलुकमा पनि नर्स र डाक्टरलाई हेर्ने दृष्टिकोण फरक छ तर सबैतिर हुन्छ भन्ने पनि होइन । यसलाई कम गर्न आफूले सिकेका र जानेका सीपलाई व्यवहारमा प्रयोग गरेर देखाउन सक्नुपर्छ । बिस्तारै परिवर्तन आउँछ भन्ने विश्वास लिएको छु ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ ।

रेडक्रसमा रहेर काम गर्न पाउँदा मलाई अत्यन्तै खुशी लागेको छ । समाजको सेवाका साथै आफूले अध्ययन गरेको विषयको सही रुपमा सदुपयोग गर्न पाएकोमा रेडक्रसप्रति आभार पनि प्रकट गर्न चाहन्छु । काम कुनै पनि सानो र ठूलो हुन्न, हरेक क्षेत्रमा काम गर्दा व्यावहारिक शिक्षा र ज्ञानको खाँचो हुन्छ । त्यसैले रेडक्रसजस्तो सामाजिक संस्थाले विपद्मा घर–घरमा पुगेर दिने सेवाजस्तै अन्य निकायले पनि नीति निर्देशन नै बनाएर काम गरौं र संकटमा परेकालाई साथ दिऔं ।

(साधना मासिकबाट साभार)

प्रतिक्रिया दिनुहोस्