शहरमा पनि बाढी !



अव्यवस्थित ढल तथा वर्षे भल निकासको कारण शहरबजार क्षेत्रका ढलका पाइपहरु, कल्भर्ट, भल तर्काउने नालाहरु थुनिएर वा पानीको भार थेग्न नसकेर सडकमा पानी जमी जलमग्न हुनाले शहरमा पनि बाढी आउने गर्दछ । विषेशतः शहरका खोलानाला एवं ढल निकासको व्यवस्थापनका क्रममा बाढीको पूर्वानुमान नगरेको देखिन्छ । त्यसैले जुन सुकै मौसममा अलि कति वर्षा हुनेबित्तिकै ठूला शहरका सडकहरु खोलामा परिवर्तन हुन्छन् ।
काठमाडौँ उपत्यकाका शहरहरु हुन् या देशका अन्य शहर, हालत उस्तै छ । अझ मनसुनको शुरुवातसँगै शहरिया बाढीले हरेक वर्ष ठूलो जनधनको क्षति हुँदै आएको छ । शहर क्षेत्रमा जमिनको प्राकृतिक सतह पूरै ढाक्ने गरी हामीले भौतिक संरचनाहरु (सडक, घर, फुटपाथ आदि) बनायौँ, आकाशबाट परेको पानी जमिनले सोस्न नपाई बगेर ढल तथा भल निकासमा जान्छ ।
पानीको भार थेग्नै नसक्ने गरी बनाइएका ढल तथा भल निकासका संरचना थुनिन्छ र झरीसँगै शहर जलमग्न बनाउँछ । प्राकृतिकरुपमा सामान्यतया आकाशबाट परेको पानीको दश–पन्ध्र प्रतिशत मात्र जमिनको सतहमा बग्ने, बाँकी जमिनले सोस्ने र वायुमण्डलमा वाष्पीकरण भएर जानुपर्नेमा काठमाडौँजस्तो शहरमा आकाशबाट परेको पानी पचास–साठी प्रतिशतभन्दा बढी जमिनको सतहमा बग्छ । काठमाडौँ र अन्य सबै शहरमा बाढीको मूल कारण भनेको नै जमिनको सतह ढलान र पिच गरिएकोले हो ।
समस्या समाधान तथा न्यूनीकरणको लागि सडक तथा भवनहरु हरित मैत्री बनाउनुपर्छ । हरित मैत्री भन्नाले साधारण भाषामा, सडक तथा घरवरपर हरियाली (प्राकृतिक) जमिन छाड्नु हो । मुख्यतः सडक तथा घरबाट जाने पानीलाई ढल तथा भल निकासमा कम मात्रामा पठाउने हो । यसको लागि शहरका भित्री स–साना सडक तथा गल्लीहरु जमिनले पानी सोस्न सक्ने बनाउने, आकाशे पानी संकलन गर्ने, मुख्य सडकहरुको दाँया–बाँया खुला जमिन छाड्ने, दुबो, रुखबिरुवा लगाउने गर्न सकियो भने जमिनको सतहमा बग्ने पानी कम गर्न सकिन्छ । दीर्घकालीन समस्या समधानको लागि शहरिया बाढी प्रभावित हुन सक्ने क्षेत्रको नक्सांकन गरिनुपर्दछ ।
वर्षे भल व्यवस्थापनका लागि हरेक नगरपालिकाले गुरुयोजना बनाई अध्ययन शुरु गर्नुपर्दछ, बाढी नक्सांकनको लागि । नक्सांकन भइसकेपछि कहाँ–कहाँको ढल तथा भल निकासको स्तरोन्नति गर्नुपर्ने हो, कहाँ–कहाँको नयाँ परिवर्तन गर्नुपर्ने हो, थाहा हुन्छ अनि बाढी नियन्त्रणका लागि बनाइएका संरचनाले काम गर्दछन् ।
नेपालमा बाढीबाट ठूलो जनधनको क्षति भइरहेको छ । बाढी नियन्त्रण, समाधानका कुराहरु बाढी आएपछि जनतालाई समवेदना प्रकटका हिसाबले आउँछन् । दशकौंपछि देशले राजनीतिक स्थिरता पाएको छ । स्मार्ट सिटी अझ भनौं स्थिर सरकार र समृद्ध नेपालको परिकल्पना गरिएको छ । स्मार्ट सिटीभित्र शहरिया बाढी पस्नुहुँदैन । समृद्ध नेपालमा जुनसुकै बाढीले आक्रान्त पार्नुहुँदैन । तसर्थ, सरकारले भविष्यको समृद्ध नेपालमा बर्सेनि आउने बाढीले गर्ने जनधनको क्षति न्यूनीकरणको लागि बाढी सम्भावित क्षेत्रको नक्सांकन विलम्ब नगरी शुरु गर्नुपर्दछ ।
– पोषण थापा, स्याङ्जा ।

प्रतिक्रिया दिनुहोस्