राखेप उपाध्यक्ष र सदस्य–सचिवद्वारा पदभार ग्रहण



नेपाल समाचारपत्र, काठमाडौं
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्य–सचिव रमेशकुमार सिलवालले बुधबार पद सम्हालेका छन्।
उपाध्यक्ष र सदस्यसचिव दुवैले त्रिपुरेश्वस्थित राखेपको कार्यालयमा आ–आफ्नो कार्यकक्षमा पद सम्हालेका हुन्। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले दुवै जनालाई राखेप उपाध्यक्ष र सदस्य सचिवको पदमा नियुक्त गरेको थियो।
यसअघि उपाध्यक्ष कोइराला र सदस्य–सचिव सिलवालले सिंंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शपथ ग्रहण गरेका थिए। खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले उनीहरूलाई पद तथा गोपनीयताको शपथ खुवाएका थिए। शपथ ग्रहणअघि खेलकुद सचिव रामप्रसाद थपलियाले दुवैलाई पत्र हस्तान्तरण गरेका थिए।
सो अवसरमा मन्त्री विश्वकर्माले उहाँहरूको कार्यकाल उदाहरणीय बन्ने विश्वास व्यक्त गर्दै खेलकुद क्षेत्रमा देखिएको चुनौतीलाई पार गर्दै अघि बढ्न जरुरी रहेको धारणा व्यक्त गरे।
उपाध्यक्ष कोइरालाले सामूहिकताको आधारमा परिषद्लाई अगाडि बढाउने बताउ“दै हरेक अभिभावकमा आफ्ना बच्चालाई खेलकुदमा लगाउन भावना पैदा गर्नुपर्ने आवश्यकता औंल्याए।
सदस्य–सचिव सिलवालले गएको १ वर्षको अवधिमा पूरा गर्न नसकेका अधुरा कामलाई अबको चार वर्षमा पूरा गर्ने प्रतिबद्धता जनाउँदै खेलकुदलाई सबैको आकर्षणको केन्द्र बनाउन प्रयासरत रहने बताए।
सदस्य–सचिव सिलवाल गत वर्ष असारमा सो पदमा नियुक्ति भएका थिए। तर, यसै वर्ष असारमा खेलकुद विकास ऐन २०७७ लागू भएपछि उनको पद गएको थियो। पहिलोपटक सदस्य–सचिवका लागि आवेदन माग गरिएको थियो, जसमा ३ महिलासहित २७ जनाको आवेदन परेको थियो ।
अन्तिम तीनमा सिलवाल परेपछि उनको सदस्य सचिवमा पुनः फर्कने वातावरण भएको थियो। अनुमानित अनुसार उनी नै सदस्य–सचिवमा नियुक्त भएका हुन्। उनी आगामी चार वर्ष कार्यकाल लागि सो पदमा नियुक्ति भएका हुन्।

प्रतिक्रिया दिनुहोस्