चेल्सी नेपालद्वारा प्रशिक्षक खड्गी सम्मानित



न्युज अफ नेपाल,काठमाडौं ।

प्रिमियर लिग क्लब चेल्सी फुटबल क्लबको नेपाली अधिकारिक् समूह चेल्सी नेपाल अफिसियल सपोर्टर्स क्लबले प्रशिक्षक सल्यान खड्गीलाई सम्मान गरेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा एक कार्यक्रमकाबीच प्रशिक्षक खड्गीलाई सम्मान गरिएको हो । चेल्सी नेपालले खड्गीलाई चेल्सी क्लबका सम्पूर्ण खेलाडी तथा प्रशिक्षकले हस्ताक्षर गरेर पठाएको जर्सी हस्तान्तरण गरेको हो । अखिल नेपाल फुटबल संघका अध्यक्ष कर्मा छिरिंग शेर्पाले उनलाई उक्त जर्सी हस्तान्तरण गरेका हुन् ।

सम्मानित भएपछि बोल्दै प्रशिक्षक खड्गीले यस प्रकारको सम्मानले युवा प्रशिक्षकहरुलाई थप उर्जा मिल्ने बताए । उनले भने,’हामी जस्तो पिछडिएको मुलुकका प्रशिक्षकहरुलाई यस प्रकारको सम्मान पाउँदा उत्कृष्ट गर्न उर्जा मिलेको छ ।’

त्यसैगरी अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्मा छिरिंग शेर्पाले पनि विदेशी क्लब र समर्थकले नेपाली फुटबललाई देखाएको समर्थन देखेर उत्साहित भएको बताए । उनले नेपाली फुटबललाई मैदानमै आएर समर्थन गर्न समेत आह्वान समेत गरे । उहाँले समर्थक समूहसँग सहकार्य गरेर फ्यान संस्कारको विकासमा अगाडी बढ्ने प्रतिबद्धता समेत ब्यक्त गरे ।

प्रशिक्षक खड्गीले गत साता मात्र एएफसी ए लाइसेन्स कोचिङ कोर्स पूरा गरेका थिए । उनी प्रशिक्षकको रुपमा संकटा क्लबमा रहँदा क्लब २०७५ शहीद स्मारक ए डिभिजन लिगमा दोस्रो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्