सन्दर्भ: विश्व हेपाटाइटिस दिवस

हेपाटाइटिसको संक्रमण, उपचार र रोकथाम



  • डा. उज्वल न्यौपाने

हरेक वर्ष जुलाई २८ लाई संयुक्त राष्ट्रसंघको आह्वानमा विश्वभर हेपाटाइटिस दिवसको रुपमा मनाउने गरिन्छ । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को मूल्यांकनअनुसार विश्वभर ३२ करोडभन्दा बढी मानिस हेपाटाइटिस बी र सी संक्रमित छन् । हेपाटाइटिस बीका कारण उत्पन्न हुने जटिल स्वास्थ्य समस्याले गर्दा विश्वमा वार्षिक ९ लाख मानिसको मृत्यु हुने गरेको छ । ९० प्रतिशत संक्रमितलाई आफू संक्रमित भएको ज्ञान हुने गरेको छैन । विश्वका अधिकांश मुलुकका सरकारले सन् २०३० सम्म आफ्नो देशलाई हेपाटाइटिस मुक्त गराइसक्ने लक्ष्य लिएका छन् ।

४ वर्षअघि थालिएको यो अभियान सफल पार्न हामी सबैले आ–आफ्नो क्षेत्रबाट योगदान दिन सक्छौं । यसका निम्ति हेपाटाइटिस र यसको रोकथामका बारेमा जानकारी राख्ने, अरुलाई पनि सिकाउने गर्नुपर्दछ । कलेजो सुन्निनुलाई हेपाटाइटिस भनिन्छ । यो अवस्था आफैं सीमित भएर जान पनि सक्छ । कतिपय अवस्थामा बढ्दै गएर कलेजोमा दाग लाग्ने, सिरोसिस हुने वा कलेजोको क्यान्सरमा समेत परिणत हुन सक्छ ।

हेपाटाइटिस गराउने मुख्य कारण हेपाटाइटिस भाइरसहरु हुन् । अन्य तत्वहरुमा अल्कोहल, केही औषधि (बाथमा प्रयोग गरिने एल्लोप्युरिनेल, मुटुको अस्थिर चाल सच्याउन प्रयोग गरिने एमियोडारोन एवं एमोक्सिसिलिन–क्ल्याभुलानेट, छारेरोगको औषधि बार्माजेपाइन जस्ता एन्टिबायोटिक औषधि आदि) तथा विभिन्न अटोइम्युन पर्दछन् । यहाँ हेपाटाइटिस भाइरसद्वारा उत्पन्न हुने रोगको बारेमा कुरा गरिन्छ ।

के हो हेपाटाइटिस भाइरस ?
हेपाटाइटिस गराउने हेपाटोट्रोफिक भाइरसहरु पाँच प्रकारका छन्, जसलाई क्रमशः ए, बी, सी, डी र ई नाम दिइएको छ । यी मध्ये ए, बी र डी खोपमार्फत रोकथाम हुन सक्छन् । ए र ईले दूषित खाना वा पानीको मार्फत संक्रमण गर्दछन् । बी, सी र डी भने मानव शरीरका तरल पदार्थहरुमार्फत सर्दछन् । संक्रमित रगतबाट, चिकित्सा उपचारमा प्रयोग हुने औजारबाट, संक्रमित सुईहरुको असुरक्षित प्रयोगबाट, गर्भवती आमाबाट बच्चामा तथा यौनसम्पर्कको माध्यमबाट यो सर्न सक्छ । डी भाइरसले भने बी भाइरसको संक्रमितमा मात्र संक्रमण गर्ने गर्छ ।
बी र डीको दुईतर्फी संक्रमण भएका बिरामीमा भने जटिल रोग लाग्ने र खराब परिणाम आउने गर्दछ । हेपाटाइटिस ए र ईले समान किसिमको व्यवहार गर्छन् । विकासशील देशहरुमा मुख्यतया देखिने यी भाइरसले स्वयं सीमित परिणाम दिन्छन् र पुरानो रोग पनि गराउँदैनन् ।

६ महिनाभन्दा बढी लाग्ने रोगलाई पुरानो अथवा क्रोनिक हेपाटाइटिस भनिन्छ भने त्यो भन्दा कम लाग्ने रोगलाई तीव्र अथवा एक्युट हेपाटाइटिस भनिन्छ । तीव्र रोग पछि गएर पुरोनो रोगमा परिणत हुन सक्छ, जसमा जटिलता देखिने सम्भावना हुन्छ । त्यसैले ए र ईको संक्रमणका कारण जटिल समस्या देखिँदैन । हेपाटाइटिस बी र सी तीव्र वा पुरानो रोगको रुपमा देखा पर्न सक्छ । प्रायः स्वयं सीमित रहने हेपाटाइटिस बी वयष्कमा ५ प्रतिशतमध्ये २०–३० प्रतिशतमा सिरोसिस वा क्यान्सर देखिन सक्छ ।

सीले गराउने रोग भने अधिकांश पुरानोमा परिणत भइसकेको हुन्छ । बालबच्चामा भने पुरानो रोग देखा पर्ने खतरा धेरै हुन्छ । हेपाटाइटिस बी, सी र डी चुम्बन गर्दा, अंकमाल गर्दा तथा स्तनपान गर्दा नसर्ने भए पनि शरीरबाट निस्कने तरल पदार्थ, खुल्ला घाउ तथा काटेको घाउको माध्यमबाट भने सर्न सक्छ अनि संक्रमित हुने सम्भावना बढी हुन्छ ।

संक्रमण र लक्षण
भाइरसले कलेजोको कोषहरुमा संक्रमण गरेपछि शरीरको इम्युनिटी क्षमता सक्रिय गराएर कोषको क्षति गर्ने गर्दछ । संक्रमणपश्चात् भइरस सकिएर निको हुन पनि हुन सक्छ, जसलाई तीव्र रोग भनिन्छ अथवा रहिरह्यो भने कोषहरु सुन्निने, घाइते हुने र ठीक हुने प्रक्रियाहरु दोहोरिरहन्छ अनि कलेजोमा दागहरु बसेर अन्त्यमा क्यान्सरमा परिणत हुने गर्दछ ।

तीव्र रोगको शुरुवाती क्षणमा प्रायः लक्षण देखिँदैन । पहिले देखिने लक्षणमा शारीरिक थकान, वाकवाक लाग्ने, खानाको रुचि कम हुने, हल्का ज्वरो आउने, पेट दुख्ने आदि हुन्छ । पछि कलेजोमा क्षति हुँदै गएपछि छाला र आँखा पहेलो हुने (जन्डिस), पिसाब गाढा रंगको हुनेजस्ता लक्षण देखिन्छन् । तीव्र रोगको अन्त्यतिर रोग निको हुँदै जान्छ र यो अवधिमा कलेजोको इन्जाइमहरु बढी भइरहने, कलेजो सुन्निने आदि साधारणतया हुने गर्दछ । ए र ईको संक्रमणमा १–२ महिनामा रोग ठीक भएर जान्छ भने बीको संक्रमणमा पूर्णरुपमा ठीक हुन ३–४ महिनासम्म लाग्न सक्छ ।

पुरानो रोगको शुरुवाती क्षणहरुमा लक्षणहरु देखिँदैन । जाँजमार्फत मात्र रोग फेला पर्न सक्छ । कलेजो सुन्निदै जाँदा तीव्र रोगमा देखिने लक्षणहरु देखिन थाल्छ । पछि जन्डिस देखिने हुन सक्छ । क्रोनिक रोगले हर्मोन असन्तुलित गर्न सक्छ, जसले गर्दा डण्डिफोर आउने, शरीरका विभिन्न भागमा रौं पलाउने र महिलामा महिनावारी रोकिने वा नहुने पनि हुन सक्छ । कलेजोमा धेरै क्षति भएपछि सिरोसिस हुन्छ, जसले गर्दा जन्डिस हुने, तौल घट्ने, पेटमा पानी जम्मा हुने र खुट्टा सुन्निने हुन्छ । सिरोसिस भएपछि यसले कलेजोमा थप जटिल रोगहरु उत्पन्न गराउन सक्छ ।

हेपाटाइटिस बी, सी र डीको तीव्र रोग अवधिमा हुन सक्ने एउटा घातक जटिलता हो फल्मिनान्ट हेपाटाइटिस । यो जटिलता बी र डी लागेका बिरामीमा २–२० प्रतिशतमा देखिन सक्छ र हेपाटाइटिस ई लागेका गर्भवती महिलामा १५–२० प्रतिशतमा दाखिन सक्छ । यसमा देखिने अन्य लक्षणमा सजिलै नीलडाम बस्ने, चोट लाग्दा रगत बग्न नरोकिने, मानसिक भ्रम उत्पन्न हुने, अन्योलपूर्ण अवस्थाबाट गुज्रिने, निद्रा लागिरहने आदि हुन सक्छ । यो अवस्थामा शरीरको अन्य भागमा समस्या आएर मृत्यु हुने समेत गर्दछ ।

जाँच र उपचार विधि
हेपाटाइटिस एकिन गर्न कलेजोको विभिन्न इन्जाइम मापन गरिन्छ । त्यस्तै रगतको जाँच गरेर भाइरसविरुद्ध शरीरले उत्पादन गर्ने एन्टिबडीहरुको मापनबाट पनि रोग पत्ता लाग्छ । भिन्न एन्टिबडीको मापनबाट रोगको अवस्था पनि आँकलन गर्न सकिन्छ । त्यस्तै विभिन्न इन्जाइमको मापनबाट पनि रोगको अवस्था र कारणसमेत पत्ता लगाउन सहयोग हुन्छ । सिरोसिस भएको अवस्थामा भिडियो एक्सरे, सीटी स्क्यान, एमआरआईबाट जाँच गर्न सकिन्छ ।

हेपाटाइटिस ए लागेको बिरामीलाई प्रशस्त आराम गराउने, पोषण मिलाएर प्रशस्त तरल पदार्थ खुवाउने गर्नुपर्दछ । अस्पताल भर्ना हुनुपर्ने नै त हुँदैन तर नसामार्फत तरल पदार्थ पूर्ति भने गर्नुपर्ने हुन सक्छ । हेपाटाइटिस बी लागेको बिरामी पनि ९५–९९ प्रतिशत सम्म पूरै निको हुन्छ र एन्टिभाइरल प्रयोग गर्नुपर्ने हँुदैन । पुरानो रोग तथा सिरोसिसको लक्षण देखिएमा भने अस्पतालमा भर्ना भई उपचार गर्नुपर्ने हुन्छ । यस्तो अवस्थामा भाइरसको प्रजनन रोक्न औषधिहरु प्रयोग गर्न सकिन्छ, जस्तै– एन्टरिफ रोन अल्फा, पेग इन्टरफिरोन, लामिभुडिन, इन्टेकाभिर, टेनोफोभिर आदि । तर यी औषधि चिकित्सकको सल्लाहबेगर आफूखुशी प्रयोग गर्नुहुन्न ।

सिरोसिस भएर कलेजो धेरै क्षति भएको छ भने प्रत्यारोपणको उपाय पनि अपनाउनुपर्ने हुन्छ । हेपाटाइटिस सीको उपचार गर्न प्रायः एन्टिभाइरल जस्तै– पेग इन्टरफिरोन, राइबाभाइरिनको प्रयोग गरिन्छ । क्रोनिक हेपाटाइटिस सीको उपचारमा कलेजोको क्यान्सरको रोकथाम गर्नसमेत जरुरी देखिन्छ । हेपाटाइटिस डीको उपचार कठिन हुन्छ र इन्टरफिरोन अल्फाले उपचार सम्भावना देखाएको छ । ईलाई पनि सीजस्तै लक्षणअनुसार उपचार गरिन्छ । जटिलता देखिएमा अथवा गर्भवती महिलालाई भने अस्पताल भर्ना गरी उपचार गर्नुपर्ने हुन्छ ।

रोकथामका उपाय
हेपाटाइटिस ए र बीको रोकथामका लागि खोप उपलब्ध छ । मांसपेशीमा लगाइने यी खोपको अवधि र मात्रा मिलाएर सानै उमेरमा लगाउनुपर्छ । एको लागि २ पटक खोप लगाउनुपर्ने हुन सक्छ । ए र ई दूषित पानी र खानाबाट सर्ने हुनाले सरसफाइमा ध्यान दिने, सफा पानी पिउने तथा फोहोरको उचित व्यवस्थापन गर्नु अत्यावश्यक छ । बी र सीको निमित्त रगत चलाउनुअघि राम्ररी परीक्षण गर्नुपर्दछ । त्यस्तै सुई तथा धारिलो सामानहरु प्रयोग नगर्ने तथा असुरक्षित यौनसम्पर्क नराख्ने आदि महत्वपूर्ण छन् । भाइरसपछि अल्कोहल सेवन हेपाटाइटिसको प्रमुख कारण भएकोले मदिरा त्याग्न सके कलेजोमा धेरै सुधार आउन सक्छ ।

सचेत रहेमा यो एउटा मामुली रोग हो । सानो उमेरमा अनिवार्य खोप लगाउने र सधैँ सफासुग्घर गर्ने बानी बसाल्न सके यो रोग नियन्त्रण गर्न सकिन्छ । रोग लागिहालेमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गरी उचित परामर्श तथा उपचारको बाटो अपनाउनुपर्छ । यस वर्षको विश्व स्वास्थ्य संगठनको विषयवस्तु ‘हेपाटाइटिक–मुक्त भविष्य’ भन्ने नारालाई सफल पार्न हामी आजैदेखि आफूभित्रैबाट शुरुवात गरौं ।
(लेखक डा. न्यौपाने केएमसीमा इन्टर्न गर्दै हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्