सिकाइ र सहयोग : शिक्षकका दृष्टिमा



  • लक्ष्मीकिशोर सुवेदी

पठन मेरो रुचिको विषय हो । कुनै खास विधामा केन्द्रित नभएर फरक फरक विषय, क्षेत्र र विधाका पुस्तक पढ्न म रमाउँछु । यसैक्रममा यो हप्ता शिक्षाविद् श्री खगराज बरालद्वारा लेखिएको नयाँ पुस्तक ‘सिकाइ र सहयोग’ पढ्ने मौका मिल्यो । दैनिक जीवनमा देखिएका र भोगिएका मसिना विषयवस्तुलाई आकर्षक कलेवर र स्वादमा पस्कन सफल लेखक बरालको यो कृति प्रज्ञाप्रचुर, सरस र जीवनोपयोगी रहेको छ ।

आफ्नो जीवनप्रतिको बुझाइमा सबै मानिस बीच मतैक्यता छैन । अलग अलग आँखाबाट हेर्दा एउटै जीवन पनि फरक फरक रुप, रङ र स्वादमा देखिन्छ । सायद मानव जीवनको आकर्षण नै यही हो । जसरी जीवनप्रतिको बुझाइमा मतैक्यता छैन कस्तो जीवनलाई सफल र सुखी भन्नेमा पनि सबै अन्तरमनबाट पक्कै एउटै उत्तर आउँदैन किनभने हरेक मानव जीवनको लक्ष्य र त्यसका लागि चुनिने मार्गमा रहेको फरकपनले प्राप्ति–अप्राप्ति, नाफा–घाटा, सुख–दुःखको गणित फरक पर्दछ ।

वास्तवमा मानव जीवनको सुख र सन्तुष्टि केवल खोजेको–भेटेको, पाएको–गुमाएको, जुटेको–छुटेको हिसाबबाट मात्र निर्धारित हुँदैन । त्यसैले कुनै पनि जीवन आफैंमा सुखी र दुःखी भनेर सजिलै परिभाषित गर्न सकिँदैन । जीवन प्रवाहमा भेटिने र भोगिने विभिन्न घटनालाई हामी कुन पाटोबाट हेर्छौं, कुन लय र भावबाट ग्रहण गर्छौं, हाम्रो सुख र दुःख त्यसैमा आधारित हुन्छन् ।

मेरो जीवनको भोगाइ र अनुभवले पछाडि फर्केर हेर्दा पछुतो रहित जीवन नै सफल र सुखी जीवन हो भन्ने लाग्दछ ।
हाम्रो जीवनमा अक्सर कुनै न कुनै घटना घटिरहेकै हुन्छन् । ती प्रिय अप्रिय घटनाहरूसँगै हामी लक्ष्य उन्मुख हुँदै जीवनलाई एउटा प्रवाहमा लगिरहेका हुन्छौं । वास्तवमा मानिसको जीवन भन्नु नै यसरी घटित हुने घटना, तिनको स्मृति र अनुभूतिको सङ्ग्रहालय हो ।

त्यसैगरी जीवन लक्ष्य प्राप्तितर्फ प्रस्थानको प्रतिक्षालय पनि हो ।हामी बहुसङ्ख्यक मानिस हाम्रा जीवनमा घटेका मसिना घटना र अनुभवलाई महत्वहीन सम्झेर त्यसै विस्मृतितिर धेकेलिदिन्छौं तर कुनै घटनाको महत्व त्यो घटना सानो छ कि ठूलो छ भन्नेमा हुँदैन । बरु त्यो घटनालाई हामी आफूले कसरी हेरेका, बुझेका वा ग्रहण गरेका छौं त्यसमा निर्भर गर्दछ ।

आफ्नो विद्यार्थी कालदेखि लामो र फराकिलो पेसागत जिम्मेवारी तथा सामाजिक जीवनमा घटेका यस्ता र यिनै घटनाहरुलाई समेटेर ‘सिकाइ र सहयोग’ नामक एउटा उत्कृष्ट पुस्तक सिर्जना गरेका छन्, लेखक खगराज बरालले । जीवनमा घटिरहने थुप्रै सामान्य घटनाहरुले कति महत्वपूर्ण र दूरगामी अर्थ राख्दा रहेछन् भन्ने कुरो यो पुस्तकको पठनबाट महशुश गर्न सकिन्छ ।

विभिन्न २५ शीर्षकहरु समेटिएको २४१ पृष्ठको यो पुस्तक पढ्दा मैले मेरो आफ्नै जीवन पनि एउटा सफा ऐना अगाडि उभिएको पाएँ । सामान्यतया हामी सबै आफूलाई असल मानिस भएको महसुस गर्छौं । हुन पनि हो व्यक्ति आफैले आफैंप्रति गलत दृष्टिकोण राखियो भने जीवनले कसरी लक्ष्य र लय समात्न सक्छ र ? यसको अर्थ आफूमा विद्यमान कमजोरीमा नजर नलाउने भन्ने किमार्थ होइन ।

हामी हरेकले आफ्नो जीवनलाई आफूभन्दा अलिक पर उभिएर अन्तर्आत्माको ऐनामा सूक्ष्म मूल्याङकन गर्नुपर्दछ । मलाई बरालको पुस्तक ‘सिकाइ र सहयोग’ले त्यसका लागि अभिपे्ररित ग¥यो । यो पुस्तक पढ्दै जाँदा मेरो व्यक्तित्वभित्र मैले थुप्रै कमजोरी रहेको भेट्टाएँ । यसका लागि म लेखकप्रति आभारी छु । यसरी हेर्दा यो पुस्तक मान्छेको व्यक्तित्वलाई उचित आकार दिने काममा समेत उपयोगी देखिन्छ ।

हामीले थुप्रै कुरा सुनेका, पढेका हुन्छौ । बुझेका र सिकेका पनि हुन्छौं तर आफ्नो. जीवनमा हम्मेसी तिनको अनुशरण गर्दैनौं । यो नै हाम्रो आम आदत र प्रवृत्ति हो । जीवनका सही बाटो जान्दाजान्दै पनि त्यो फ्रेममा हामी आफ्नो जीवनलाई ढाल्न अघि सर्दैनौं । हामीमा दुई चरम (एक्स्ट्रिम) मा रमाउने बानी रहेको छ । एउटा हो म केही होइन भन्ने लघुताभासको चरम र अर्को हो म सबै हो भन्ने अहंकारको चरम ।

यी दुवै चरमहरु व्यक्तिको जीवन लक्ष्यको सुमार्ग छेकेर बसेका भीमकाय चट्टानहरु हुन् । यी दुई धारको बीचबाट अर्को सरल र सुरम्य बाटो छ –‘विनयशिलताले ओतप्रोत स्वाभिमानको सुमार्ग ।’ पुस्तकले विभिन्न व्यवहारिक दृष्टान्तसहित त्यो स्वच्छ र स्वस्थ स्वाभिमानको सुमार्गमा हिँड्न सबैलाई प्रेरित गरेको छ ।

म जस्तो एउटा अकिञ्चन मान्छेको अनुभूतिको केही अर्थ छैन भन्ने पाटोमा म सोच्दथें । त्यस्तै आकर्षक लेखनका लागि गहन र ठूलो विषय वस्तु चाहिन्छ भन्ने भ्रम पनि ममा थियो तर यो पुस्तकका पठनपछि मैले अनुभव गरें कि यदि हाम्रा ससाना अनुभवलाई नै उपयोगी कोणबाट हेर्न र टिप्न सक्यौं भने ती सबै अनुभवहरु विशिष्ट हुन्छन् ।

त्यस्तै फरक आँखा, मिहिन र गहिरो अध्ययन तथा वस्तुपरक विश्लेषण भयो भने मसिना वैयक्तिक प्रसङ्ग र अनुभूति पनि अत्यन्त आकर्षक, गहकिला, उपयोगी र महत्वपुूर्ण विषय हुन सक्दछन् । लेखकले आफ्नो यो पुस्तकमा बाल अधिकार, संस्कार र संस्कृति, लैङ्गिक सवाल, खानपान, जीवन उपयोगी सिप, मानव मूल्य र आनीबानी, परिवार, नाता–सम्बन्ध, मित्रता, निम्ता र निम्तालु, क्षतिपूर्तिका गलत अभ्यास लगायतका विषयमा थुप्रै मर्मस्पर्शी र व्यवहार उपयोगी विचार उदारहणसहित प्रक्षेपण गरेका छन् ।

विदेश भ्रमणमा गरिएका अनुभव, विदेशी दातृ निकायको हामीप्रतिको बुझाइ, विदेशमा गर्नुपर्ने व्यवहार, दैनिक जीवनमा प्रयोग हुने शब्द र तिनको प्रयोगमा अपनाउनुपर्ने सतर्कता जस्ता विषयमा पनि अनुभवजन्य उदाहरणसहित प्रेरक प्रसङ्गहरु जोडेका छन् । आफू विज्ञानको विद्यार्थी नभए पनि कृषि र पशुपालनको यथोचित विकासका सन्दर्भमा आनुवंशिकता सम्बन्धी यथार्थ, वैज्ञानिक तथ्य र उदाहरण लेखकले पस्केका छन् ।

यसै सन्दर्भमा हाम्रो पुराना अभ्यासलाई समेत जाँचको कसीमा उभ्याएर त्यसको समुचित समीक्षा गरेका छन् । अपाङ्गताका पीडा, बहिरोपनमा साङ्केतिक भाषा उपयोगदेखि सिक्ने र सिकाउने काइदा, सभा समारोहको सञ्चालन र व्यवस्थापन, आतिथ्य, दैनिक व्यवहार, खानपानदेखि पहिरनसम्मका आनीबानीहरू सम्बन्धी घटना र विचार यसमा समेटिएका छन् । पुस्तकको अन्त्यमा संस्कृतको महत्वलाई प्राथमिकताका साथ लिपिबद्ध गरिएको छ ।

यस अघि मैले लेखकको ‘सिकाउने शैली’ नामको कृति पनि पढेको थिएँ । त्यस पुस्तकमा शिक्षा, शिक्षण र सिकाइ सम्बन्धी यस्तै मिहिन विषयहरु खोजेर त्यस क्षेत्रका काम गर्ने सबैका लागि शिक्षा र सिकाइबारे सही मार्ग सुझाइएको छ । साथै त्यस पुस्तकले शिक्षा र शिक्षणसँग सम्बन्धित सबैलाई झक्झक्याएको छ, ब्युँझाएको छ ।

अहिलेका ‘सिकाइ र सहयोग’ नामको यो पुस्तकले हरेक पाठकलाई आफ्नो जीवन प्रवाहबारे अवश्य झक्झकाउनेछ, सोच्न बाध्य तुल्याउनेछ । यो पुस्तकका समेटिएका विषयवस्तुले पस्केको अर्को महत्वपूर्ण कुरा जीवनप्रतिको सकारात्मकता हो । वास्तवमा जीवनप्रतिको सकारात्मकता सुख र सफलताको बजोड कडी हो ।

हामी मानिसहरुभन्दा पशु र वनस्पति जीवनप्रति बढी सकारात्मक छन् त्यसैले ती ज्यादै सुखी छन् । एउटा विरुवाले उसका कति फूल नफुल्दै झरे, कति फलहरु नपाक्दै खसे र नष्ट भए त्यसको हिसाब गरेर कहिल्यै आफूलाई चिन्तित राख्दैन । ऊ जहिले पनि नयाँ पूmल र फल दिएर संसारलाई आवाद गराउन सक्रिय रहन्छ । त्यसैले त ऊ सुखी छ चिन्तामुक्त छ । जीवनको स्वस्थता र सुख प्राप्तिको अचूक मार्ग नै सकारात्मक सोच हो भन्ने यही कुरा लेखकले यस पुस्तक मार्फत् प्रक्षेपण गरेका छन् ।

अन्त्यमा यो ज्ञान र माधुर्यले भरिएको प्रेरणाप्रद कृतिका लागि लेखक खगराज बराललाई धेरै धेरै बधाइ । आउँदा दिनमा पनि यस्तै प्रेरणदायी र उपयोगी थप कृतिहरु पढ्ने अवसर पाइयोस् ।

(समीक्षक लक्ष्मीकिशोर सुवेदी नेपाल शिक्षक महासङ्घका महासचिव हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्