सकियो इंग्लिस प्रिमियर लिग, कसले के पाए



एजेन्सी ।
इंग्लिस प्रिमियर लिग (ईपीइल) मा आइतबार राति १० खेल सम्पन्न भएसँगै २०१९–२० को सिजन सकिएको छ । गएराति ३८औं चरणका सम्पूर्ण खेलहरु पश्चात यस सिजनको ईपीएल सम्पन्न भएको हो ।

कोरोना कारण तीन महिना स्थगित सिजन निर्धारित समयभन्दा ढिलो सकिएसँगै ईपीएलबाट आगामी सिजन च्याम्पियन्स लिग, युरोपा लिगमा सहभागी हुने टोलीका साथै रेलिगेसन हुने टोलीको समेत टुंगो लागेको छ । घरेलु लिग अंकतालिकाको शीर्ष चारमा पर्न सफल रहँदै लिभरपुल, म्यानचेस्टर सिटी, म्यानचेस्टर युनाइटेड र चेल्सी अर्को वर्षको च्याम्पियन्स लिगमा छनोट भएका छन् ।

त्यस्तै, लेस्टर सिटी र टोटेनह्याम हट्सपरले युरोपा लिगमा जाने बाटो खोलेका छन् । ईपीएलबाट तीन टिम रेलिगेसनमा पर्ने नियम अनुसार यसपटक बर्नमाउथ, वाट्फोर्ड र नर्विच सिटी घटुवा भएका छन् । गतसाल ईपीएलमा स्तरोन्नति भएको एस्टन भिल्ला भने रेलिगेसनबाट एक अंकले जोगिएका छन् ।

बर्नमाउथ ३४ अंकका साथ १८औं स्थानमा रहँदा एस्टन भिल्ला ३५ अंक बनाएर १७औं स्थानमा रहँदै रेलिगेसनबाट जोगियो । लिगमा २३ गोल गरेका जेमी भर्डीले ईपीएलमा गोल्डेन बुट जितेका छन् ।

उनले २१ गोल गरेका ड्यानी इन्ग्सलाई एक गोलले पछि पार्दै बुट जितेका हुन् । सबैभन्दा धेरै क्लिन सिट गरेका गोलकिपर एडरसन मोरेसले गोल्डेन ग्लोब्स प्राप्त गरेका छन् ।

त्यस्तै, केभिन डि ब्रुयनले थेरी हेनरीको २० एसिस्टको रेकर्डसँग बराबरी गरेका छन् । उनले अधिकतम पास ग्याब्रियल जेसस, रहिम स्टर्लिङ र रियाद महारेजलाई उपलब्ध गराएका थिए ।

प्रतिक्रिया दिनुहोस्