मेगा बैंकको किसान कार्ड



काठमाडौं, (नेस)
मेगा बैंक नेपालले व्यावसायिक किसानलाई प्राथमिकता दिँदै मेगा किसान कार्डसहितको मेगा स्मार्ट कृषि सेवा बजारमा ल्याएको छ । ‘हलोदेखि हाइड्रोसम्म’लाई मुल मन्त्र बनाएको मेगा बैंकले व्यावसायिक किसानको सम्मान स्वरुप मेगा किसान कार्ड सुविधा ल्याएको हो ।

किसानलाई सहज रुपमा बैंकिङ सुविधा प्रदान गर्दै देशलाई कृषिमा आत्मनिर्भर बनाउने सरकारी नीतिलाई सहयोग गर्ने उद्देश्यले मेगा किसान कार्ड ल्याएको बैंकले जनाएको छ । यो नेपालकै नवीनतम् बैंकिङ अफर हो ।

मेगा किसान कार्डमार्फत किसानले आफूलाई आवश्यक पर्ने मलखाद, बिउ विजनलगायत सम्पूर्ण कृषि उत्पादनसँग सम्बन्धित विभिन्न सामान तोकिएका सेवा केन्द्रबाट खरिद गर्न सक्नेछन् । यस कार्डको माध्यमबाट वास्तविक किसानको पहिचान गर्न पनि मद्दत मिल्ने बैंकले विश्वास लिएको छ ।

व्यावसायिक कृषि तथा पशु पालन र महिला उद्यमीलाई यसअघिदेखि नै प्राथमिकता दिएको मेगा बैंकले कृषि क्षेत्रको वित्तीय आवश्यकतालाई सम्बोधन गर्दै व्यापक कृषि उत्पादनमा जोड दिने उद्देश्य लिएको छ । जसअनुसार, मेगा बैंक र आर एन्ड डी इनोभेटिभ सोलुसनसँग सम्झौतासमेत भइसकेको छ ।

यसैबीच मेगा बैंक नेपालले कञ्चनपुरको महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । घरजग्गासम्बन्धी कारोबार तथा राजस्व संकलन कार्य सहज तथा व्यवस्थित होस् भन्ने उद्देश्यले मेगा बैंकले महेन्द्रनगरस्थित मालपोत कार्यालयमा एक्टेन्सन काउन्टर विस्तार गरेको हो ।

महेन्द्रनगर मालपोत कार्यालयका प्रमुख खेमराज खत्री र मेगा बैंकका सुदूरपश्चिम प्रदेश प्रमुख सागर ओझाले एक समारोहका बीच एक्सटेन्सन काउन्टरको औपचारिक रुपमा उद्घाटन गर्नुभयो । मेगा बैंकको यो ३२औं एक्सटेन्सन काउन्टर हो । मेगा बैंकको देशभर २०६ वटा शाखा र १४२ वटा एटीएम सञ्जाल छन् ।

प्रतिक्रिया दिनुहोस्