नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी पुस्तक प्रकाशित



न्युज अफ नेपाल,काठमाडौँ ।

नेपाल प्रज्ञा–प्रतिष्ठानबाट नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी महत्त्वपूर्ण पुस्तक प्रकाशित भएको छ । मातृभाषा (मातृभाषा, कोश तथा व्याकरण) विभागबाट विभागीय प्रमुख प्राज्ञ प्रा.डा. योगेन्द्रप्रसाद यादव र भाषा आयोगका अध्यक्ष डा. लवदेव अवस्थीको सम्पादनमा ‘नेपालमा मातृभाषामा आधारित बहुभाषिक शिक्षासम्बन्धी अवधारणा’ (Perspectives On Mother Tongue–Based Multilingual Education In Nepal) नामक पुस्तक प्रकाशित भएको हो ।

पुस्तकका सम्पादकद्वय प्रा.डा. यादव र डा. अवस्थीको परिचयात्मक लेखबाट आरम्भ भएको पुस्तकभित्र ‘बहुभाषिक शिक्षा र नेपालः एक अवधारणा’ शीर्षकमा प्रदीप एल बज्राचार्य, प्रेम भट्टराई, तोया भट्टराई, माधव दाहाल, गेहनाथ गौतम, हरिराम पन्त, माया राय, तोभे स्कुत्नाव–कंग्स, रामहरि श्रेष्ठ, फटिक थापा, निर्मलमान तुलाधरका विचार प्रस्तुत छ ।

यसै गरी पुस्तकभित्र समाविष्ट अन्य लेखहरूमा अजित मोहन्ती, शेली के टेलर, डेभिड ए हाफ, पेवी आहोनेन, सुसन मालोन, महेन्द्रकुमार मिश्र, चूडामणि बन्धु, उमा प्रधान, मिरांडा वेनबर्ग, नाओमी फिलमोर आदिका लेखहरू समावेश गरिएका छन् ।

पुस्तकमा कुलपति गङ्गाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङको महत्वपूर्ण मन्तव्य–भूमिका रहेको छ । सन्दर्भसूचीसहित ४ सय १४ पृष्ठको पुस्तकको मूल्य रु. ४१५ रहेको छ । पुस्तक प्रज्ञा–प्रतिष्ठानको विक्री कक्षमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्