कठिन परिस्थितिमा सकारात्मक कसरी रहने ?



  •  प्रेम रावत

वर्तमान परिस्थितिमा कैयौँ मानिस दुःखी र भयभीत भइरहेका छन् । मानिसहरू के बुझ्न सकिरहेका छैनन् भने, यति सूक्ष्म चीज जसलाई आँखाले देख्न सकिँदैन, जसलाई हेर्नका लागि सूक्ष्मदर्शक यन्त्र (माइक्रोस्कोप) को आवश्यकता पर्दछ, तर त्यसले कसरी यति धेरै क्षति पु¥याउन सक्यो ! हवाई सेवा बन्द भए, मानिसको आवागमन स्थगित भयो, एक देशबाट अर्को देशमा आवतजावत गर्न सकिएको छैन, धेरै मानिस त घरबाहिर पनि निस्कन पाएका छैैनन् । हजारौँ, लाखौँ संख्यामा मानिस यो रोगबाट प्रभावित भएका छन् ।

यद्यपि यो एकदमै दुःखको कुरा हो तर तपाईं यसका कारणले विवश भएर बस्नु आवश्यक छैन । तपाईंले के बुझ्नु आवश्यक छ भने तपाईं आफू नै हो आफ्नो बहुमूल्य चीजको स्रोत र तपाईंभित्र एउटा अचम्मको खानी छ । तपाईंभित्र आशा छ । तपाईंभित्र स्पष्टता छ । तपाईंभित्र विवेकको स्रोत छ । यो समयमा तपाईंलाई यिनै कुराहरू आवश्यक छन् । जसले तपाईंलाई यो कठिन परिस्थितिमा पनि साहस र हिम्मत बढाउन सहयोग गर्छ ।

एकजना मानिस रेल्वे स्टेसन, बसपार्कहरूमा जुत्ता पालिस गर्ने काम गर्दथे तर उनी खुशी थिएनन् । धनी बन्न चाहन्थे । अनि,उनले अर्कै काम खोजे । बिस्तारै–बिस्तारै धन कमाउन शुरु गरे । अन्ततः उनी सबैभन्दा धेरै धनी बने । उनी ठाँटले जीवन जिउन थाले । एकदिन उनकी श्रीमती बितिन् । त्यसपछि उनको मनमा ठूलो वज्रपात प¥यो । उनी सोचमग्न भए, ‘अब के गर्ने होला ?’ मानिसहरूले भने– ‘चिन्ता नगर, सबै राम्रो हुन्छ ।’ केही महिनापछि नै उनले अर्को विवाह गरे । त्यसपछि उनको जीवन आरामका साथ बितिरहेको थियो ।

एकदिन उनी निकै अस्वस्थ भए । उनलाई अस्पताल लगियो । त्यहाँ उनी अन्तिम श्वास लिइरहेका थिए । एकजना यस्ता मानिस जो एकदमै धनी थिए । जीवनभर उनले प्रशस्तै पैसा कमाए । तथापि, उनी अस्पतालमा सुतिरहेका थिए, श्वासको मेसिन (भेन्टिलेटर) जडान गरिएको थियो अनि त्यसकै माध्यमबाट श्वास लिइरहेका थिए । उनी निकै कमजोर भएका थिए । उनको खानपिनसमेत बन्द भइसकेको थियो । पैसा, घर, व्यापार, उनका लागि अब कुनै पनि चीजको औचित्य रहेन ।

भनाइको अर्थ ती सबै चीज हामीलाई काम लाग्नेछन् भनेर हामी सोच्छौँ । कुनै पनि चीज अन्तिम अवस्थामा काम लाग्दैनन् । जुन चीजमा तपाईं ध्यान केन्द्रित गर्नुहुन्छ, त्यही चीज नै काम लाग्छ । तपाईंभित्र रहेको चीज, जुन तपाईंको शक्ति हो, कमजोरी होइन । तपाईंका शक्तिहरू नै काम लाग्नेछन् । तिनमा ध्यान दिनुहोस् । तिनीहरू आज पनि काम लाग्नेछन् ।

चाहे जस्तोसुकै परिस्थिति होओस्, जस्तोसुकै दुःख झेल्नुपरोस् । कुनै पनि परिस्थितिबाट अघि बढ्नुपरोस्, ती चीज हामीभित्रै छन् र तिनै चीजले नै हामीलाई अघि बढ्न हिम्मत प्रदान गर्छन् । तपाईंभित्र राम्रोपना छ । तपाईंभित्र प्रकाश छ । चाहे बाहिर जतिसुकै अँध्यारो नै किन नहोस् । त्यो प्रकाशलाई बाहिर आउन दिनुहोस् । त्यो राम्रोपनालाई उजागर हुन दिनुहोस् । त्यो असलपनालाई आफ्नो जीवनमा एउटा यस्तो प्रेरणाको स्रोत बनाउनुहोस्, जसलाई तपाईं विश्वास गर्न सक्नुहोस् ।

तपाईं नै आफ्नो परिस्थितिको निर्माता हुनुहुन्छ । यो तपाईंमाथि नै निर्भर रहन्छ– तपाईं आफ्ना लागि स्वर्ग निर्माण गर्न सक्नुहुन्छ अथवा नर्क पनि बनाउन सक्नुहुन्छ । मेरो सुझाव के छ भने, आफ्ना लागि स्वर्ग बनाउनुहोस् । त्यसको स्थापना गर्नुहोस् अनि आनन्द लिनुहोस् । किनभने, यो श्वास आउँछ अनि जान्छ । यसका लागि हामीले इच्छा व्यक्त गर्नुपर्दैन ।

यसका लागि कुनै बटन थिच्नुपर्दैन । श्वास तपाईंभित्र आइरहेको छ अनि गइरहेको छ । यो सबैभन्दा ठूलो कृपा हो । यसले एउटा नयाँ आशा, नवीन सोचका साथ हरेक दिन एउटा नयाँ बिहानी लिएर आउँछ । संसारमा योभन्दा ठूलो खुशीको खबर अरू केही पनि छैन । एउटा नवीन सोचले हामीलाई जिन्दगीमा सकारात्मक तरिकाबाट जिउनका लागि सहयोग पुग्छ ।

कुरा त यो समयमा ध्यानपूर्वक काम गर्ने बारेमा हो । तपाईं जीवित हुनुहुन्छ । आफ्नो ध्यान त्यस चीजमा लगाउनुहोस् जसबाट तपाईंको हृदयमा आनन्द आओस् । तपाईंको जीवनमा खुशी प्राप्त होस् । तपाईंलाई यो संसारको सुख पनि प्राप्त हुन सक्छ । तर, तपाईंलाई संसारको सुख प्राप्त भइरहँदा शान्ति पनि प्राप्त हुन्छ भन्ने पनि होइन । कुनै बेला त कस्तो हुन्छ भने, तपाईंलाई संसारको सुख प्राप्त भइरहेको छ तर शान्ति प्राप्त हुँदैन । शान्ति अनुभूत भएपछि मानिसलाई एउटा यस्तो सुख प्राप्त हुन्छ, ऊ यस्तो सुखी हुन्छ जसलाई ‘ऊ किन सुखी छ’ भनेर यो संसारले बुझ्नै सक्दैन । तपाईंसँग जागिर छ, तपाईंसँग परिवार छ तर यी सबै कुरा भएर पनि मानिस सुखी नै हुन्छ भन्नेचाहिँ होइन ।

मानिसको जीवनमा यति धेरै समस्या छन् । फलतः उनीहरूको ध्यान तिनै समस्यामा नै जान्छ । अनि समस्यातिर ध्यान जान थालेपछि अभैm धेरै समस्या बढ्छन् । हाम्रो जीवनमा जुन राम्रा–राम्रा चीजहरू छन्, सबै कुरा भएर पनि तिनलाई हामी कुनै महत्त्व नै दिँदैनौँ । ती कुरामा हाम्रो ध्यान कहिल्यै जाँदैन । परिवारमा आमा–बुबा हुनुहुन्छ । यो त खुशीको कुरा हो तर यस कुरामा ध्यान नै जाँदैन । उहाँहरू के भनिरहनुभएको छ भन्नेमा मात्रै ध्यान जान्छ ।

यदि उहाँहरूले तपाईंलाई केही मन नपर्ने कुरा भनिरहनुभएको भए एउटा कानले सुन्नुहोस् र अर्को कानले उडाइदिनुहोस् । यदि तपाईं जीवनमा मानिसहरूभित्र भएको खराबी र अवगुणलाई हेर्नुको साटो राम्रोपनालाई खोज्न थाल्नुहुन्छ या हेर्न कोशिश गर्नुहुन्छ भने तपाईंलाई राम्रोपना नै प्राप्त हुनेछ । यो कुरामा ध्यान दिनुहोस्– जोसँग तपाईं पे्रम गर्नुहुन्छ, ऊसँग कस्तो व्यवहार गर्नुहुन्छ ? प्रेमपूर्वक नै व्यवहार गर्नुहोस् ! आमा–बुबाहरूले छोराछोरीसँग अवश्य प्रेम गर्नुहुन्छ तर उहाँहरूले कहिल्यै यसो भन्नुहुन्न– म तिमीलाई माया गर्छु । जसलाई तपाईं माया गर्नुहुन्छ, तपाईं उसलाई माया गर्नुहुन्छ भनेर पनि भन्नुहोस् ।

तपाईं आफ्नो जीवनमा जे गर्नुहुन्छ, यो तपाईंमाथि निर्भर रहन्छ । तपाईं मुखले के भन्नुहुन्छ, यो तपाईंमाथि निर्भर रहन्छ । तपाईं तीतो पनि बोल्न सक्नुहुन्छ, मीठो पनि बोल्न सक्नुहुन्छ । सबैभन्दा महत्त्वपूर्ण कुरा त के हो भने, तपाईं आफ्नो जीवनमा के चाहनुहुन्छ ? जीवन तपाईंकै हो । श्वास आउनु–जानु, यो तपाईंको नियन्त्रणमा छैन । तपाईं कहिले जन्मिनुभयो, यो तपाईंमा निर्भर थिएन । तपाईं कहिले जानुहुन्छ, यो पनि तपाईंमा निर्भर हुँदैन । तर तपाईंलाई प्राप्त भएको जीवनमा तपाईं के गर्न सक्नुहुन्छ, यो तपाईंमा नै निर्भर रहन्छ । आफूतिर ध्यान दिनुहोस्, आफ्नो जीवनतर्फ ध्यान दिनुहोस्, राम्रो गर्नुहोस् । त्यसबाट तपाईंको जीवनमा अवश्य पनि मिठास नै प्राप्त हुनेछ ।

राम्रो गुण र नराम्रो गुण त हरेक मानिसभित्रै छ । अँध्यारो र प्रकाश, शङ्का र स्पष्टता पनि मानिसभित्रै छ । यदि हामी यो संसारमा हराइरहेका छौँ या आफूले आफूलाई पाइरहेको छौँ भने पनि हराउनु र भेट्टाउनु दुवै कुरा हामीभित्रै छन् । हामी कुनै चीजलाई हेर्दा सौन्दर्यको अनुभूति हुन्छ, त्यो सौन्दर्यको आनन्द पनि भित्रै छ । किनभने, हामी जे–जति कार्य गरिरहेका हुन्छौँ, त्यसको स्रोत हामीभित्रै छ । यदि मैले कुनै कुरालाई बुझिरहेको छु भने त्यसको स्रोत म नै हुँ । बुझिरहेको छैन भने पनि त्यसको स्रोत पनि म नै हुँ ।

म जता गए पनि यी सबै कुरा मसँगै जान्छन्, किनकि सबै कुरा मभित्रै हुन्छन् । खराबीलाई बाहिर देखाउने वा असलपनालाई अगाडि सार्ने दुवै कुरा तपाईंमा निर्भर रहन्छ । यदि हामी आफ्नो जीवनमा राम्रो होस् भन्ने चाहन्छौँ भने असलपनाकै बाटोमा हिँड्नुपर्छ ।

म त मानिससँग के भन्छु भने, हामीसँग एउटा यस्तो पनि चीज छ– जो असल पनि छैन र खराब पनि छैन । यो भनेकै प्रकृति हो । सृष्टिकर्ताले यो नियम बनाएका छन् । यो नियम सबैमा लागू हुन्छ । यसमा धनी–गरिब, शिक्षित–अशिक्षितको विभेद छैन । यो सबैमाथि समान रूपले लागू हुन्छ । मानिसको प्रकृति अर्थात् स्वभाव नै के हो भने, यी चीजहरूकै बीचमा भएर पनि उसलाई ‘के प्राप्त भएको छ’ भन्ने नै थाहा छैन । जे प्राप्त भयो त्यसलाई पनि ऊ सकारात्मक रूपमा सोच्दैन– ‘मैले खराब चीज मात्र पाएँ, असल चीज त पाउनै सकिन’ भन्छ । किनभने, मानिसको स्वभाव नै यही हो । ऊ अरूसँग आफूूलाई तुलना गर्छ । ‘त्योसँग त्यस्तो के चीज छ, जुन मसँग छैन ?’ अर्को व्यक्तिलाई हेरेर भन्छ । ऊ अरूसँगै दाँजिएर आफ्नो बारेमा अनुमान लगाउँछ– ‘त्यो मानिस मभन्दा धनी छ कि गरिब छ ?’ कार हुनेहरू आफ्नो कारमा बसेर अर्काको कारलाई हेर्छन् र तुलना गर्छन्– ‘त्यसको कार मेरोभन्दा राम्रो छ कि नराम्रो छ ?’

कारको कुरा छाडाैँ, भाडा तिरेर बसमा यात्रा गर्नेहरू पनि यही कुरा दोहो¥याउँछन् । अर्को बस आफू चढेकोभन्दा राम्रो छ कि नराम्रो छ ?’ यद्यपि त्यो बस उसको पनि होइन । त्यसमा ऊ त यात्रा मात्र गरिरहेको हुन्छ । निश्चित गन्तव्यसम्मका लागि भाडा तिरेको हुन्छ । तर पनि अर्को बसलाई हेर्दै तुलना गर्छ– ‘अरूहरू चढेको त्यो बस आफू चढेको बसभन्दा राम्रो छ कि नराम्रो ?’ मानिसले एउटा महत्त्वपूर्ण कुरालाई सधैँ बिर्सिन्छन् । मानिसभित्रै एउटा यस्तो चीज छ, जो सबैका लागि समान छ । त्यो आइरहन्छ–गइरहन्छ । यो कुरामा मानिसको कहिल्यै ध्यान जाँदैन ।
(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता प्रेम रावतको सम्बोधन । संकलित एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल ।)

प्रतिक्रिया दिनुहोस्