राजवैद्य एनओसीका कार्यकारी निर्देशक



काठमाडौं, (नेस)
नेपाल ओलम्पिक कमिटी (एनओसी) का उपाध्यक्ष चतुरानन्द राजवैद्य कार्यकारी निर्देशकमा नियुक्त भएका छन्। अखिल नेपाल टेबलटेनिस संघका अध्यक्षसमेत रहेका राजवैद्यलाई एनओसीले बुधबार कार्यकारी निर्देशकमा नियुक्त गरेको हो। यसरी एनओसीमा कार्यकारी निर्देशक हुने राजवैद्य पहिलो हुन्।
एनओसी अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले राजवैद्यलाई कार्यकारी निर्देशकको आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरे। ओलम्पिक कमिटीको विधानमा उल्लेख भएअनुसार कार्यकारी बोर्डले एनओसीको दैनिक प्रशासकीय कार्य सञ्चालनका लागि राजवैद्यलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको थियो।
राजवैद्य २०४६ सालमा टेबलटेनिस संघमा सदस्यको रूपमा प्रवेश गरेका थिए। उनी कोषाध्यक्ष हुँदै २०६३ सालमा संघका अध्यक्षमा निर्वाचित भएका थिए। त्यसयता उनी निरन्तर अध्यक्ष पदमा रहेका छन्। गत वर्षको एनओसी साधारण सभाबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए।

प्रतिक्रिया दिनुहोस्