युभेन्ट्स पराजित, उपाधिका लागि कुर्नुपर्ने



एजेन्सी ।

उडिनेससँग अप्रत्यासित रूपमा पराजित भएपछि लिग लिडर युभेन्ट्सले जारी सिजनको इटालियन सिरी ए उपाधिका लागि अर्को खेल कुर्नुपर्ने भएका छन् ।

लिगको १६औं स्थानको उडिनेसले उपाधिको खुसीयाली मनाउन ठीक्क परेको लिग लिडर युभेन्ट्सलाई बिहिबार राति भएको लिगको ३५औं चरणको खेलमा आफ्नो घरेलु मैदानमा २–१ ले स्तब्ध बनायो । यो हारपछि युभेन्ट्सले तीन म्याच बाँकी छँदै उपाधिको जितेर खुसीयाली मनाउन पाएन ।

निकै प्रतिस्पर्धात्मक खेलमा युभेन्ट्सले सुरुवाती अग्रता लिए पनि हार व्यहोर्नु पर्‍यो । युभेन्ट्स इन्जुरी समयमा सम्हालिन नसक्दा हार भोग्न बाध्य भएको हो । घरेलु टोलीले ९२औं मिनेटमा विजयी गोल गरेको थियो ।

युभेन्ट्सका लागि खेलको ४२औं मिनेटमा युवा डिफेन्डर माथिस डि लिग्टले सुन्दर गोल गरेका थिए । डीबक्स बाहिर लामो दूरीबाट उनले हानेको शक्तिशाली लो सटले सोझै जाली चुमेको थियो । उनकै गोलको मद्दतमा युभेन्ट्स पहिलो हाफसम्म एक गोलले अघि रहेको थियो ।

तर, खेलको ५२औं मिनेटमा उडिनेस खेलमा फर्कियो । इलिजा नेस्टोरोभ्स्कीले हेडिङमार्फत् सुन्दर गोल गरेपछि खेल १–१ गोलको बराबरीको स्थितिमा पुगेका थियो। त्यसपछि युभेन्ट्स विजयी गोलको खोजीमा रहँदा इन्ज्युरी समयमा घरेलु टोलीले बाजी मार्न सफल भयो ।

युभेन्ट्सका डिफेन्डरले बल क्लियर गर्न नसक्दा ९० मिनेटपछि थपिएको दोस्रो मिनेटमा सेको फोफानाले विजयी गोल गरे। उनले डिफेन्डर र गोलकिपरलाई बिट गर्दै सहजै गोल गरेपछि खेल उडिनेसले खेल जित्यो । उक्त खेलमा गोलविहीन बनेपछि युभेन्ट्सका क्रिस्टियानो रोनाल्डोलाई गोल्डेन बुट दौडमा पनि झट्का लागेको छ ।

यो हारपछि पनि युभेन्ट्स ३५ खेल सकिँदा ८० अंकसहित शीर्ष स्थानमा छ । ७४ अंक भएको एट्लान्टा ६ अंकले पछि परेर दोस्रो स्थानमा छ । विजयी उडिनेस ३९ अंक जोडेर १५औं स्थानमा उक्लेको छ ।

प्रतिक्रिया दिनुहोस्