बेपत्ता चालकका परिवारलाई अन्तिम संस्कार खर्च



नेपाल समाचारपत्र, काठमाडौं

परीक्षणका क्रममा सुरुङको गेट फुटेर त्यसबाट उत्पन्न बाढीले बगाई बेपत्ता हुनुभएका सवारी चालक राधाकृष्ण थापाका परिवारलाई तत्काल अन्तिम संस्कारका लागि राहत रकम उपलब्ध गराएको छ ।

मेलम्ची खानेपानी आयोजनाको मुख्य ठेकेदार कम्पनी सिनोहाइड्रोले बेपत्ता चालक थापाका परिवारलाई १ लाख रुपियाँ रकम हस्तान्तरण गरेको हो । कम्पनीले उक्त रकम तत्काल अन्तिम संस्कारका लागि उपलब्ध गराइएको जनाएको छ ।

कम्पनीले असार २१ गते सुरुङ परीक्षण थालेको थियो । उक्त सुरुङ परीक्षण गर्ने क्रममा असार ३० गते सुरुङको गेट एक्कासि फुटेर त्यसबाट आएको बाढीले चालक थापाको टोलीलाई बगाएको थियो ।

टोलीमा आयोजनाका साइट इन्जिनियर शेखर खनाल र सर्भेक्षण सहयोगी पेम्बा दोर्जे तामाङको सकुशल उद्धार गरिएको थियो भने चालक थापा र इन्जिनियर सतीस गोइत भने बेपत्ता हुनुहुन्थ्यो । उद्धार हुनुभएका दुवैलाई काठमाडौं ल्याई उपचार गराइरहेको छ भने बेपत्ता थापा र गोइतको भने तत्कालै प्रहरी, सशस्त्र प्रहरी र सेनाको टोलीले खोजीकार्य थाले ।

खोजी तथा उद्धारकै क्रममा इन्जिनियर गोइतको शव बाहुने पाटी नजिकै फेला परेको थियो । गोइतको शव प्रक्रिया पु¥याएर परिवारको जिम्मा लगाइसकेको छ । तर बेपत्ता चालक थापा भने अझै बेपत्तै हुनुहुन्छ । दुई दिनदेखि उहाँको उद्धार कार्य पनि लगभग रोकिसकेको अवस्था छ ।

प्रहरी कार्यालय मेलम्चीले उहाँको उद्धार कार्य रोकेको जनाएको छ । यता आयोजनाले भने अविरल वर्षा र मेलम्चीको बढ्दो प्रवाहमा दिनहरू बित्दै जाँदा उहाँको खोजी प्रभावित भएको जनाएको छ । आयोजनाले स्थानीय प्रहरी प्रशासनले खोजी जारी राख्ने भनेको छ । बेपत्तापछि मृत्यु हुनुभएका इन्जिनियर गोइत र बेपत्ता सवारी चालक थापाको बीमा रकम भुक्तानीका लागि प्रक्रिया अघि बढाउने उहाँहरु कार्यरत कम्पनी सिनोहाइड्रोले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्