पौराणिक कथाको स्वर्गीय भूमि नेपाल



धनपति सापकोटा

हिन्दू धर्मशास्त्र अनुसार त्रेतायुगका युगपुरुष भगवान् श्रीरामको जन्मभूमिको सन्दर्भमा हालसालै भानु जयन्तीको उपलक्ष्यमा सम्मानीय प्रधानमन्त्री के.पी. शर्मा ओलीले जुन खुलासा गर्नुभएको छ, त्यसबाट नेपाल र भारत सरकार मात्रै होइन जनस्तरबाटै भारतभरिका हिन्दू, बौद्ध तथा मुस्लिम धर्मावलम्बीहरुबीच तरङ्ग पैदा गरेको छ ।

खास गरी नेपालकै चितवन जिल्लाको सप्तगण्डकी किनारमा रहेको वाल्मीकि पीठ लव र कुसको जन्मस्थान रहेको तथ्य भारतीय सञ्चारमाध्यमबाट नै पुष्टि गर्ने कोशिश गरिएको पाइन्छ । वाल्मीकि पीठ नेपालमा भएपछि अथवा लव–कुसको जन्मस्थान नेपाल भएपछि त्यससँग सम्बन्धित अन्य कुराहरुको खोजी हुनु स्वाभाविक नै हो ।

त्रेतायुगको यो राम जीवनी पूरापूर पौराणिक कथा हो । तसर्थ यसको ऐतिहासिक पुष्टि हुन सक्ने कुरै भएन । इतिहास सम्मत हुनलाई ऐतिहासिक पुष्टि हुने प्रमाण तथा पुरातात्विक वस्तुबाट प्रमाणित हुन जरुरी हुन्छ । त्यस्तो प्रमाण श्रीरामकै सन्दर्भमा पनि भारतले प्रमाणित गर्न सक्ने अवस्था छैन । भारतमा ब्रिटिसले शासन गर्दाका बखत बल्ल भारतको पौराणिक इतिहासको खोजी थालिएको हो । त्यसअघिका भारतीय इतिहास भनेको श्रुतिस्मृति परम्परामा आधारित किंवदन्तीमा नै सीमित रहेको थियो ।

ब्रिटिस पुरातत्वविद् कनिङ्घम नै भारतको इतिहासको दर्पण देखाउन सफल पहिला व्यक्ति हुन् । जब–जब भारत वर्षमा पुरातात्विक इतिहासको खोजी शुरु गरियो तब सम्पूर्ण भारतको प्राचीनकाल बुद्धमय थियो भन्ने तथ्य पत्ता लाग्यो । इसापूर्व छैटौं शताब्दीका बुद्ध भगवान् जो हालको नेपालको लुम्बिनीमा जन्मेका थिए । उनैको नामबाट भारतको आफ्नो इतिहास सृजनाको शुरुवात गरेको हो ।

बुद्ध भगवान् स्वयं लौकिक पात्र भएको हुनाले उनी ऐतिहासिक पात्र पनि हुन् । उनले गरेका सम्पूर्ण कार्य ऐतिहासिक सिद्ध भैसकेका छन् । कपिलवस्तुका राजपरिवारका सदस्यका रुपमा उनले जन्म लिएका हुन् । उनी कुनै काल्पनिक÷पौराणिक पात्र होइनन् । त्यसै तथ्यमा आधारित भएर इसाको १२ औं शताब्दीसम्म भारत वर्षमा यति धेरै बौद्ध स्मारक बने, बौद्ध विश्वविद्यालय निर्माण भए तर ती सबै सम्पदामाथि मुस्लिम आक्रमण तथा वैदिकहरुको आक्रामक प्रचारका कारण करिब ६०० वर्ष भारतमा बौद्ध धर्मको नामोनिशान नै रहेन ।

यसो हुनुको पछाडि भारत वर्षमा त्यस बेला व्याप्त अशिक्षा र अन्धविश्वास नै जिम्मेवार थियो तर हिन्दू धर्ममा व्याख्या गरिएका सबै देवदेवी भगवान्हरु काल्पनिक कथाका पात्र मात्र हुन् । जसलाई कुनै पुरातात्विक अध्ययनबाट काल प्रमाणित गर्नै सकिँदैन । तथापि भारत खण्डमा अयोध्या राम जन्मभूमि हो भनेर प्रमाणित गर्न भारतीय तथा भारत सरकार, न्यायालय आदि सबै जुटिरहेको भए तापनि हाल राममन्दिर निर्माण स्थलको भूभाग सम्याउने क्रममा भेटिएका ऐतिहासिक पुरातात्विक वस्तु सबै बौद्ध स्मारकहरु हुन् । त्यसबाट के सिद्ध हुन्छ भने, राम जन्मभूमि भनिएको अयोध्या पनि कालान्तरमा बौद्ध भूमि थियो भन्ने प्रमाणित हुन आउँछ ।

बौद्ध साहित्यमा वर्णित चार युग सत्य, त्रेता, द्वापर र कलि यी सबै काल्पनिक युग हुन् र यी युगले भोग गरेको समय पनि सबै काल्पनिक हुन् । भारतीय उपमहाद्वीपको मानव विकासको सबैभन्दा पुरानो सम्यता भनेको सिन्धुघाँटीमा रहेको अवशेष हो । जुन तथ्य सर्वप्रथम भारतमा ब्रिटिसले विस्तार गरेको रेल–वे लाइन निर्माण गर्ने क्रममा फेला परेको हो । यो तथ्य उजागर भएको लगभग २ सय वर्ष मात्र हुँदै छ ।

त्यस खोजबाट के पत्ता लाग्यो भने, सिन्धुघाँटी सभ्यताको समय भनेको आजभन्दा करिब ४२०० देखि ४५०० वर्ष पुरानो हो । यस सम्यता विकासपछि मात्र भारत वर्षमा आर्यहरुको आगमन भएको हो । आर्यहरुको आगमनले सिन्धु सभ्यता क्रमशः ध्वस्त भएको र आर्य सभ्यता क्रमशः विकास भएको ऐतिहासिक पुष्टिसमेत हुन आउँछ । साथै आर्यहरु भारत वर्षमा आउँदा घुमन्ते सिकारी युगमा थिए भन्ने पुष्टि हुन्छ । इसापूर्व १५०० देखि १००० का बीचमा आर्य विद्वान्हरुले ऋग्वेदको निर्माण गरेको पुष्टि युनेस्कोले समेत प्रमाणित गरेको छ । त्यसै गरी पछि निर्माण भएका यजुर्वेद, सामवेद र अथर्ववेदको निर्माण काल इसापूर्व १००० देखि ६०० मानिन्छ ।

वैदिकहरुको मूल आधारग्रन्थ वेदको निर्माणकालभन्दा अघिको काल्पनिक युगलाई परिभाषित गरेर रामायण, महाभारतलगायतका ग्रन्थ निर्माण गरेकोले नै यिनीहरुको ऐतिहासिक पुष्टि गर्न नसकिएको हो । भारत खण्डमा विकास भएका विभिन्न चर्चित व्यक्तित्व तथा स्थानहरुका आधारमा काल्पनिक युग (जुन वेला मानवको विकास क्रम प्रमाणित छैन) खडा गरी त्यसको आधारभूमिमा सनातनी वैदिक धर्मको जग बसालियो । लौकिक पात्रबाट धर्मभित्रको अन्धविश्वास वा भ्रमलाई कायम राख्न कठिन हुने भएकोले नै अलौकिक पात्र र काल्पनिक युगको कथा सृजना गरिएको हुनुपर्दछ । तर पौराणिक, काल्पनिक कथाहरुलाई हालको परिप्रेक्षमा ऐतिहासिक पुष्टिसहित प्रमाणित गर्न कठिन मात्र होइन, असम्भव छ ।

तसर्थ भारतको सम्पूर्ण शक्ति लगाए पनि राम जन्मभूमि अयोध्या र रावणको लंका युद्ध प्रमाणित गर्न सकिँदैन । रामायणमा वर्णित युग र लंकाको रावण शासनको युग नै मिल्दैन । त्यस कारण फरक–फरक स्थान र पात्रलाई कथामा समावेश गरिए पनि काल्पनिक युगको परिकल्पना गरेर कथाको सारलाई अलौकिक बनाएकोले हालको सन्दर्भमा ऐतिहासिक पुष्टि गर्न सकिन्न नै ।

अब रह्यो हाल हामीले मानिल्याएको धार्मिक स्थलहरुको अवस्था के हो त ? पौराणिक विषय वस्तुलाई सार्थक तथा परिभाषित गर्ने कार्य उक्त दर्शनका अनुयायीहरुमा निर्भर रहने विषय हुन् । अब रह्यो अयोध्या भारत गंगाकिनारमा हो ? कि नेपालको ठोरीछेउमा हो भन्ने कुरा हामी नेपालीले अयोध्याको पौराणिक कथालाई कुन स्तरमा लागू गर्ने वा सार्थक बनाउने भन्नेमा निर्भर गर्दछ ।

जसरी जनक र जानकीको पौराणिक कथालाई सार्थक बनाउन जनकपुरको विकास गरिएको छ त्यसै गरी विष्णुको वराह अवतारको कथालाई सार्थक बनाउन वराह क्षेत्रको धार्मिक थलो विकास गरिएको हो । अझ भनौं सतीदेवीको दाँत पतन भएको धरान बुढासुब्बाको दन्तकाली, गृह्य पतन यसको काठमाडौंको गृह्यश्वरीजस्तै पौराणिक कथाहरुलाई आजका धर्मावम्बीहरुले भौगोलिक स्थितिसमेत मिल्ने गरी तयार गरिने आध्यात्मिक थलोमा नै निर्भर रहने भएको हुनाले हालका सम्माननीय प्रधानमन्त्रीको भनाइ सान्दर्भिक नै मान्नुपर्ने हुन्छ । चितवनको ठोरी अयोध्यापुरीलाई यसअघि नै समुन्नत तथा समृद्ध बनाइसकिएको भए अहिले यो प्रसंगै आउँदैन थियो होला ।

भगवान् बुद्धको जन्मथलो लुम्बिनीमा मगध सम्राट अशोकले शिलास्तम्भ लेखन नगरिदिएको भए हामीलाई आज बुद्ध नेपालमा जन्मेका हुन् भन्न दिने नै थिएनन् । कपिलवस्तुको तिलौराकोटको सुद्धोदनको दरबारको ऐतिहासिक पुरातात्विक वस्तुले प्रमाणित गर्दागर्दै पनि भारतले नेपालको सिमानाको करिब १ कि.मि. दक्षिणमा सुद्धोदनको दरबार निर्माण गरेका छन् र त्यसैको प्रचार गरिरहेका छन् । त्यसैले रामायणमा वर्णित राम पात्रको थलोको रुपमा रहेको अयोध्या नेपालको भूमिमा पर्दछ भन्दा भारतीय मिडियाहरुमा नेपाल र नेपालीको नेतृत्वको अशिष्ट आलोचना गरिँदै छ । आधारहीन विषयलाई तीलको पहाड बनाउने भारतीयहरुको विगतलाई हेर्दा स्वाभाविक पनि लाग्दछ ।

भारत खण्डमा लिखित पौराणिक ग्रन्थहरुले व्याख्या गरेका सुन्दर तपोवन, ध्यानस्थल, ज्ञानभूमि, पुण्यभूमि, शीतल भूमि, अमरावती, ललित भूमि आदि सबै हाम्रै नेपालका हितवत् खण्डभित्र पर्दछन् । विभिन्न देवदेवीको विचरण क्षेत्र रहेको यस भूमिलाई हामी नेपालीले मौलिक ढंगबाट परिभाषित गरी सम्पदा निर्माण गर्न सके हाम्रो सम्पूर्ण भूभाग हिन्दू तीर्थक्षेत्र हुन सक्छ ।

संस्कृत भाषामा त्रिविष्टप शब्दलाई कैलाश (स्वर्ग) भन्ने अर्थमा लिइन्छ । त्यसै कारण संस्कृत भाषाको ज्ञान प्राप्त भएपछि भोटवासीहरुले आफ्नो देशको नाम नै त्रिविष्टप राखेका र कालान्तरमा भोट जिब्रोको उच्चारणबाट हालको तिब्बत भएको तथ्य उजागर हुन्छ । यस हिमवत् खण्डबाटै अधिकतम वैदिक धर्मग्रन्थ निर्माण, जपतप, ध्यान–समाधि स्थल, मोक्ष प्राप्ति स्थल, महाभारत कथाका युद्धिष्ठिर जीवित स्वर्ग गएको मार्ग, इन्द्र भगवान्ले जल वर्षा गराऊलान् कि भनी प्रार्थना गरिने क्षेत्र, धनप्राप्तिको लागि कुवेरको आराधना गरिने दिशा पनि उत्तर भएकोबाट नेपालको हिमवत् खण्डमा धार्मिक महिमा विस्तार गर्न तथा धार्मिक सम्पदा निर्माण गर्न जरुरी भइसकेको छ ।

भारत वर्षमा विकास भएका जति पनि वैदिक साहित्यहरु छन् ती सबैमा भारतीय भूभागलाई मत्र्यलोक (मानवलोक), सांसारिक दुःख भएको लोक आदि भनी दुःखको सागरको रुपमा बयान गरिएको छ । यसै गरी हालको नेपालको भूभागको प्राकृतिक छटाहरुको मौसमी सुन्दरताको बयान गर्दा स्वर्गका पात्रहरु विचरण गर्ने, नाच्ने, सुखमय जीवन बिताउने स्थानको रुपमा (स्वर्गलोक) बयान गरेको पाइन्छ ।

यस अर्थमा हामीले सम्पूर्ण नेपालको पावन भूमिलाई ग्रन्थीय बयानअनुसारको वास्तविक स्वर्गीय भूमि बनाउन जरुरी रहेको छ । तसर्थ हाम्रा सम्माननीय प्रधानमन्त्रीले उजागर गरेको राष्ट्रवादी तथ्यले हामी नेपालीले त स्वाभाविकरुपमा गौरव गर्नुपर्दछ नै, भारतमा रहेका सर्वसाधारण जनताले समेत भारत सरकारले भनेको राम जन्मभूमिको जमिन सम्याउँदा फेला परेका बौद्ध पुरातात्विक अवशेषबाट हाम्रा प्रधानमन्त्रीले उजागर गरेको तथ्यमाथि विश्वास गर्न बाध्य हुनुपर्ने छ ।

भारत खण्डका अधिकांश प्राचीन बौद्ध सम्पदाहरुलाई हिन्दू देवस्थलका रुपमा परिणत गर्दै सोहीअनुसारको अलौकिक कथा सृजना गर्न सक्ने भारतीय मित्रहरुलाई दिने सही जवाफ भनेको पौराणिक कथामा वर्णन गरिएको स्वर्गीय थलोको रुपमा नेपालको सम्पूर्ण भूमिलाई पावन तीर्थस्थलको रुपमा निर्माण गर्न सक्नुमा नै हाम्रो सफलता निहित छ ।
(लेखक सापकोटा महानगरपालिका प्रहरी प्रमुख हुनुहुन्छ ।)

प्रतिक्रिया दिनुहोस्