ओलम्पिक गर्न कोरोनाको औषधि आवश्यक



एजेन्सी ।
टोकियो ओलम्पिक कमिटीका अध्यक्ष योशिरो मोरीले आगामी वर्ष सारिएको ओलम्पिक आयोजनाको लागि कोरोना विरुद्धको औषधि आवश्यक रहेको बताएका छन् ।

उनले टोकियो ओलम्पिकका लागि कोरोनाको खोप अथवा उपचार आवश्यक रहेको बताएका हुन् । उनले अहिलेकै अवस्था आगामी वर्ष पनि जारी रहेमा ओलम्पिक आयोजना गर्न धेरै कठिन हुने बताए । कोरोनाका कारण टोकियो ओलम्पिक एक वर्ष पछाडी सरिसकेको छ । जसअनुसार २०२१ को २३ जुलाई देखि ८ अगस्तलाई ओलम्पिक आयोजनाको नयाँ मिति तोकिएको छ । मोरीले आगामी वर्षसम्म जापानको अवस्थामा सुधार आउने संकेत नदेखेको बताएका छन् ।

एउटा पत्रिकालाई दिएको अन्तरवार्तामा मोरीले भने,–“अहिले कोरोना संक्रमितको संख्या जसरी बढिरहेको छ, त्यसलाई हेर्दा एक वर्षपछि पनि अवस्था सामान्य हुन गा¥हो छ । यदि अहिलेकै अवस्थाले निरन्तरता पायो भने आगामी वर्ष पनि ओलम्पिक हुन कठिन नै छ । ओलम्पिकमा कम दर्शकलाई प्रवेश गराउन समेत धेरै नै मुश्किल हुनेछ ।’’

कोरोनाका कारण जापानमा अहिलेसम्म मर्नेहरुको संख्या १ हजार नजिक पुगिसकेको छ । राजधानी टोकियोमा पनि संक्रमित संख्या बढि नै रहेको छ ।

दर्शकसहित हुनेछ टोकियो ओलम्पिक: आईओसी अध्यक्ष
इन्टरनेशनल ओलम्पिक कमिटी (आईओसी) का अध्यक्ष थोमस बाकले टोकियो ओलम्पिक नयाँ निर्धारित मितिमा नै हुने बताएका छन । उनले भने,–“कोरोनाका कारणले ओलम्पिकलाई कुनै खतरा छैन । ओलम्पिकमा दर्शकहरुले पनि प्रवेश पाउने छन् । खेलाडीदेखि सबैजनाको सुरक्षाका लागि आवश्यक काम भइरहेको छ ।’’ आईओसीका सीईओ तोशिरो मुटोले पनि यस वर्षको डिसेम्बरसम्म कोरोना संक्रमणको अवस्था हेरेर हामी कसरी अगाडि बढ्न सकिन्छ भनेर थाहा हुने बताए ।

एउटा सर्वेक्षण अनुसार अधिकांश टोकियोवासी ओलम्पिकको विपक्षमा देखिएका छन् । जापानी मिडियाले गरेको एक सर्वेक्षण अनुसार अधिकांश टोकियोवासी २०२१ को ओलम्पिक आयोजनाको विपक्षमा रहेको बताएका हुन् । उक्त सर्वेक्षण अनुसार अधिकांश टोकियोवासी ओलम्पिकलाई स्थगित अथवा रद्द गर्ने पक्षमा छन् । टोकियोवासी मध्ये ५१.७ प्रतिशत ओलम्पिक आयोजनाको विपक्षमा देखिएका छन् । त्यस्तै ४६.३ प्रतिश टोकियोवासी भने ओलम्पिक निर्धारित समयमा नै होस् भन्ने पक्षमा छन् ।

ओलम्पिक सरेका कारण जापानलाई झन्डै ९० हजार करोड नेपाली रुपैयाँ बराबर नोक्सान भएको बताइएको छ । जापानी पत्रिका डेली निप्पोन स्पोर्ट्सको रिपोर्ट अनुसार, कोरोनाका कारण एक वर्ष ओलम्पिक सरेका कारण जापानलाई झन्डै ९० हजार करोड नेपाली रुपैयाँ बराबर नोक्सान भएको बताइएको छ । रिपोर्टमा यदि आगामी वर्ष सारिएको ओलम्पिक पनि रद्द भएमा जापान र विश्वको अर्थव्यवस्थामा नै नराम्रो असर पर्ने उल्लेख गरिएको छ ।

कोरोनाका कारण यसपटक तोकिएको समयमा ओलम्पिक हुन सकेन । तर, यस्तो भएको भने पहिलो पटक होईन । यसअघि पनि विश्वयुद्धका कारण तीन पटक ओलम्पिक रद्द भएको थियो । सन् १९१६ को ओलम्पिक बर्लिनमा गर्ने तय भएको थियो । जसका लागि १९१४ को जून २७ र २८ मा बर्लिन स्टेडियममा परिक्षण खेल पनि भएका थिए । तर, अस्ट्रेलियाका आर्कड्यूक फ्रेन्क फर्डिनेन्ड र उनका पत्नीलाई सेराजेभोमा हत्या गरियो । त्यसपश्चात् प्रथम विश्वयुद्ध पनि सुरु भयो । जसका कारण ओलम्पिक नै रद्द गरियो ।

आजभन्दा ८० वर्ष अघि पनि टोकियोले नै ओलम्पिक आयोजना गर्ने जिम्मेवारी पाएको थियो । जिम्मेवारी पाउने क्रममा टोकियोले बार्सिलोना, रोम र हेलसिन्कीलाई पछि पार्दै पहिलो पटक ओलम्पिक आयोजना गर्ने अवसर पाएको थियो । तर, त्यही समयमा चीनसँग युद्ध र दोस्रो विश्वयुद्ध भएपछि जापान आयोजनाबाट पछि हट्यो । त्यसपछि हेलसिन्कीलाई ओलम्पिक आयोजनाको जिम्मा सुम्पियो ।

सन् १९४० मा टोकियो ओलम्पिक रद्द भएपश्चात आईओसीको बैठकमा १९४४ को ओलम्पिक आयोजनाको जिम्मेवारी लन्डनलाई दिईयो । यदि सबै कुरा मिलेको भए लन्डनमा ३६ वर्षपछि दोस्रो पटक ओलम्पिक हुने निश्चित थियो । तर, आयोजना गर्ने जिम्मेवारी पाएको ३ महिनापछि नै ब्रिटेनले जर्मनीविरुद्ध युद्धको घोषणा ग¥यो । त्यसपछि लन्डनमा ओलम्पिक हुने अनिश्चित भयो । त्यसपश्चात् उक्त जिम्मा इटालीलाई दिइएको थियो । तर. त्यहाँ पनि हुन नसकेपछि ओलम्पिक नै रद्द गरियो ।

प्रतिक्रिया दिनुहोस्