लक्ष्यको ५७ प्रतिशतमात्रै भन्सार राजस्व



सरोज यादव, विराटनगर

कोभिड–१९ महामारी र लकडाउनबाट विराटनगर भन्सार कार्यालयको राजस्व असुली प्रभावित भएको छ । आर्थिक वर्ष २०७६/७७मा निर्धारित लक्ष्यको ५७ दशमलव १३ प्रतिशतमात्रै राजस्व संकलन भएको विराटनगर भन्सार कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी सुनिता पौडेलका अनुसार आर्थिक वर्ष २०७६/७७ मा २८ अर्ब ३६ करोड ३४ लाख २९ हजार रुपियाँमात्रै राजस्व संकलन भएको छ । आर्थिक वर्ष २०७६/७७मा कार्यालयले ४९ अर्ब ६४ करोड ६० लाख रुपियाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको थियो । कोरोनाका कारण आयात निर्यात प्रभावित बनेपछि भन्सारको राजस्व संकलन पनि असर परेको हो ।

विराटनगर भन्सारले भन्सार महशुलबाट २१ अर्ब २० करोड १० लाख रुपियाँ संकलन गर्ने लक्ष्य राखेकोमा १२ अर्ब ४ करोड २९ लाख रुपियाँमात्रै संकलन गर्न सफल भएको छ ।

त्यसैगरी मूल्य अभिवृद्धिकर तर्फ २५ अर्ब ९३ करोड ५६ लाख २२ हजार रुपियाँ संकलन गर्ने लक्ष्य राखेकोमा १४ अर्ब ६७ करोड ७४ लाख रुपियाँमात्रै संकलन गर्न सफल भएको छ ।

अन्तःशुल्कतर्फ २ अर्ब ५० करोड ९४ लाख २४ हजारको लक्ष्य राखिएकोमा कार्यालयले १ अर्ब ५५ करोड ३० लाख ६७ हजार रुपियाँ असुल गरेको सूचना अधिकृत पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार लकडाउनका कारण राजस्व संकलन प्रभावित भएको हो ।

विराटनगर भन्सारले २०७७ साल वैशाखमा १ अर्ब ६ करोड ३२ लाख रुपियाँमात्र राजस्व संकलन गरेको छ । भन्सारले वैशाखमा लक्ष्यको २६ दशमलव ७० प्रतिशतमात्रै भन्सार राजस्व संकलन गरेको छ । जुन अन्य महिनाको तुलनामा सर्वाधिक कम हो । वैशाखमा राजस्व संकलन लक्ष्य ३ अर्ब ९८ करोड १६ लाख रहेको थियो ।

त्यस्तै फागुनमा सर्वाधिक ७६ दशमलव ८४ प्रतिशत भन्सार राजस्व संकलन भएको कार्यालयले जनाएको छ । चैतमा ३७ दशमलव ७२, जेठमा ५० दशमलव ६३ प्रतिशतर असार महिनामा ५६ दशमलव ५६ प्रतिशत राजश्व संकलनभएको थियो ।

गत आर्थिक वर्षको शुरूआतदेखि नै विराटनगर भन्सार कार्यालयको राजस्व संकलनमा असर परेको थियो । लकडाउन नहुँदाको अवस्थामा पनि भन्सार कार्यालयले फागुनबाहेक अन्य महिनामा लक्ष्यको ६० प्रतिशत हाराहारीमा मात्रै राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको शुरूवातदेखि नै आयात घटेका कारण राजस्व संकलनमा दबाब परे पनि कोरोना महामारीले थप असर पारेपछि विराटनगरको भन्सार राजस्व लक्ष्यको तुलनामा निक्कै न्यून संकलन भएको छ ।

प्रतिक्रिया दिनुहोस्