मेगा बैंक ११औं वर्षमा प्रवेश



काठमाडौं, (नेस)

मेगा बैंक नेपाल सञ्चालनको १० वर्ष पूरा गरी ११ वर्षमा प्रवेश गरेको छ । १०औं वार्षिकोत्सवको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा मेगा बैंक नेपालका अध्यक्ष भोजबहादुर शाहले स्थापनाको १० वर्षमा बैंकले उल्लेख्य प्रगति गर्न सफल भएकोमा गौरवान्वित भएको बताउनुभयो ।

ग्राहकहरु, संस्थापक, शेयरधनी, सञ्चालक समिति, नियामक निकाय, कर्मचारीवर्ग र अन्य सरोकारवालाको निरन्तर सहयोग र अटुट विश्वासका कारण मेगा बैंकले सफलता हासिल गरेको उहाँले बताउनुभयो ।

उक्त अवधिमा पश्चिमाञ्चल विकास बैंक र टुरिजम डेभलपमेन्ट बैंकसँगको मर्जर सम्पन्न गर्दै गत महिनामात्रै गण्डकी विकास बैंकलाई प्राप्ति गर्नु पनि मेगा बैंकको महत्वपूर्ण उपलब्धि भएको अध्यक्ष शाहले बताउनुभयो ।
मर्जर र प्राप्तिका लागि ढोका खुल्ला नै रहेको जानकारी दिँदै उहाँले मेगा बैंकलाई समृद्ध र विशाल बनाउने यात्रा जारी रहेको बताउनुभयो ।

कार्यक्रममा मेगा बैंक नेपालका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेलीले १० वर्षको वित्तीय सूचकांकलाई केलाएर हेर्दा एक दशकको छोटो समयमै विभिन्न रणनीतिक निर्णय र व्यावसायिक योजनाको प्रभावकारी कार्यान्वयनका कारण मेगा बैंक देशकै अग्रणी बैंक बन्न सफल भएको बताउनुभयो ।

१०औं वर्षको अवधिमा आइपुग्दा बैंकले सञ्चालन खर्च तथा कोषको लागतलाई न्यूनतम राखी आधारदरलाई ८ दशमलव ३२ प्रतिशतमा कायम राख्न सफल भएको छ । जसले गर्दा कोभिड १९ को महामारी र बन्दाबन्दीको मारमा परेका कर्जा ग्राहकवर्ग र नयाँ व्यवसाय बिस्तार गर्ने तयारीमा रहेका ग्राहकलाई मेगा बैंकले सस्तो ब्याजदरमै बिभिन्न किसिमका कर्जा उपलब्ध गराउने भएको छ ।

बैंकले मेगा टिक बैंकिङ तथा मेगा बजार जस्ता अन्यन्तै नवीनतम् र आकर्षक डिजिटल बैंकिङ सेवा आरम्भ गर्ने भएको छ । हाल बैंक चुक्ता पुँजीका हिसाबले छैटौं स्थानमा, व्यवसाय (निक्षेप तथा कर्जा) का आधारमा १२औं स्थानमा रहेको छ । असार मसान्तसम्ममा मेगा बैंकको कुल निक्षेप करिब १ खर्ब ३२ अर्ब र कुल कर्जा करिब १ खर्ब १४ अर्ब रहेको छ ।

प्रतिक्रिया दिनुहोस्