टेलिभिजनबाट नाटक महोत्सव



बाग्मती प्रदेश सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नेपालभाषा एकेडेमीद्वारा नेपालमै पहिलोपटक टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत एकाङ्की नाटक महोत्सव सम्पन्न गरिएको छ। एकाङ्की महोत्सवमा विभिन्न आठ नाटक सहभागी भएका थिए।

कोरोना महामारीको संक्रमणको जोखिमलाई दृष्टिगत गरी दर्शकको सहभागीबिना टेलिभिजनमा प्रत्यक्ष प्रसारणमार्फत नाटक महोत्सव सम्पन्न गरिएको एकेडेमीका सदस्य–सचिव मल्ल के सुन्दरले जानकारी गराए। नेपालभाषाका विभिन्न एकाङ्कीमध्ये नाटककार मीना बज्राचार्यको लिथुका निर्देशक पवन जोशी, रामकृष्ण धिनाको थ्वपू कर्मका राजेश शाक्य, शशिकला मानन्धरको चन्द्रहारका निर्देशक आर्यम नकःमि, राजेन्द्रकुमार पुताको थौंकन्हेका रवि महर्जन, नेपालभाषाका लोककवि राजभाइ जकःमिको कीर्तिलक्ष्मी रामकृष्ण खड्गीले निर्देशन गरेका थिए भने महोत्सवमा लेखक, निर्देशक सुरेन्द्र तुलाधरको डा. कान्छाभाइ, लेखक, निर्देशक कृष्ण प्रजापतिको बुंख्याचा तथा लेखक, निर्देशक राजु श्रेष्ठको तरकारी बन्जा पनि मञ्चन गरिएको थियो।

महोत्सवमा सहभागी नाटकका कलाकार, लेखक, निर्देशक र सहयोगीको सम्मानमा गत शनिबार कीर्तिपुरस्थित नेपालभाषा एकेडेमी हलमा आयोजित कार्यक्रममा आयोजक तर्फबाट धन्यवाद ज्ञापन गर्दै सम्मान गरिएको थियो। आयोजक नेपालभाषा एकेडेमीका प्राज्ञ एवं नाटक प्रदर्शन आयोजन समितिका संयोजक वीरप्रसाद भन्सारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा विशेष अतिथि प्राडा चन्द्रमान बज्राचार्य र पत्रकार एवं एकेडेमीका प्राज्ञ विजयरत्न असम्बरेले प्रदर्शित नाटकको समीक्षा गरेका थिए।

नाटक प्रदर्शन समितिका सदस्य एवं फिल्म निर्देशक पवन जोशीले धन्यवाद ज्ञापन गरेको कार्यक्रम पवित्र कसाःले सञ्चालन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्