नेपाल टेलिकमकाे संरचनामा परिवर्तन



काठमाडौं, (नेस)

नेपाल टेलिकमले कम्पनीको संरचना परिवर्तन शुरु गरेको छ । कम्पनीले मुलुकको संघीय संरचना बमोजिम कामकाज गर्न सहज हुने गरी प्रादेशिक निर्देशनालय स्थापना गरेको हो ।

कम्पनीको सञ्चालक समितिले मुलुकको संघीय संरचना अनुसारले विराटनगर प्रदेश नं. १ प्रादेशिक निर्देशनालय, वीरगन्ज प्रदेश नं. २ प्रादेशिक निर्देशनालय, काठमाडौ बागमती प्रदेश प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेश प्रादेशिक निर्देशनालय, भैरहवा प्रदेश नं. ५ प्रादेशिक निर्देशनालय, सुर्खेत कर्णाली प्रदेश प्रादेशिक निर्देशनालय र अत्तरिया, सुदूरपश्चिम प्रदेशको स्थापना गर्ने निर्णय गरिसकेको छ ।

उक्त निर्णय बमोजिम कम्पनीले साविक पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालयअन्तर्गत रहेको नेपाल टेलिकमको पोखरास्थित कार्यालयलाई संघीय संरचनाअनुसार नेपाल टेलिकम प्रादेशिक निर्देशनालय गण्डकी प्रदेशमा रुपान्तरण गरेको हो । सो अवसरमा साविक नेपाल टेलिकम पश्चिमाञ्चल क्षेत्रीय निर्देशनालय र हाल नेपाल टेलिकम प्रादेशिक निर्देशनालय भैरहवा, प्रदेश नम्बर ५ का निर्देशक सूर्यनारायण मालाकारले नयाँ प्रादेशिक निर्देशनालयका रुपमा प्रादेशिक निर्देशनालय, पोखरा गण्डकी प्रदेशको शुभारम्भ गर्नुभयो ।

 

प्रतिक्रिया दिनुहोस्