पहिला आत्मनिर्भर अनि राष्ट्रवाद



पहिला आत्मनिर्भर हुन सिकौं । त्यसपछि राष्ट्रवादको कुरा गरौं । भारतीय च्यानल बन्द गर्दैमा राष्ट्रवादी हुने हो र ? भारतबाट आउने चामल, दाल, चिनी, नून, तेल, सियो, धागो, कच्चा पदार्थ, मेसिनरी सामान, पार्टपुर्जा, मोटरसाइकल, गाडी, ग्यास, पेट्रोलियम पदर्थ आदि वस्तु प्रतिबन्ध लगाउन सकिन्छ ? अब भारतीय च्यानल कतिन्जेललाई बन्द गर्न सक्छन्, खोक्रो राष्ट्रवादको नाटक हेर्न बाँकी छ ?
यहाँ कतिपयका कुरा के आइरहेका छन् भने, हामीले भारतीय सामान फ्रीमा प्रयोग गरेका छौं र ? पैसा तिरेर भारतीय सामान किनेका छौं । स्वाभिमानीहरुले पैसा तिरेर भारतीय सामान प्रयोग गर्ने किन ? भारतीय सामान प्रयोग नगरे हुन्न ? भारतीय सामानहरु प्रयोग पनि गर्न खोज्ने अनि राष्ट्रवादका ठूला कुरा गर्ने ?
जान्नेबुझ्नेहरु कसैले पनि खोक्रो राष्ट्रवाद देखाउनु बेकार छ । खोक्रो राष्ट्रवाद देखाउनाले मुलुकको स्वाधीनता धरापमा पर्न सक्छ । यसकारण पहिला आत्मनिर्भर बन्न सिकौं । राष्ट्रियता राजाको पालामा मरिचमान सिंहले देखाएका थिए । आज मरिचमान सिंहलाई कसैले सम्झन्छ ? मरिचमान सिंहको स्वर्गारोहणमा राज्यले एक दिन बिदा दिएन तर जनताले विरोध गरेनन् ।
मुलुकको स्वाधीनतामा आँच आउने काम कसैले गर्नुहुँदैन । मुलुक द्वन्द्व र दुर्घटनामा परेको खण्डमा जिम्मेवार को ? नेपालमा नाकाबन्दी भएको समयमा कतिपयको चाहना के थियो– नाकाबन्दी सधैँलाई भयो भने लुकिछुपी सामान ल्याई महँगोमा बेचेर कमाउन पाइन्छ । कोरोनाको महामारी होस् वा लकडाउनको अवस्थामा, मौका छोपी कमाउनेहरुले कमाउनु कमाए । मैले वास्तविक कुरा गरेको हुँ ।
भारतीय केही मिडियाले नेपालको सम्बन्धमा गलत कुरा गरे । हाम्रो परराष्ट्र मन्त्रालय केका लागि ? दिल्लीमा रहेको नेपाली राजदूतावास केको लागि हो ? फोन गरेर कुराहरू भन्न सक्दैनन् ? भारतको परराष्ट्र मन्त्रालय र प्र.म. मोदीको निजी सचिवालयलाई भारतका केही मिडियाले दुई देशको सम्बन्धलाई बिगार्न खोजिरहेका छन् भनेर रिपोर्ट गर्न सकिन्छ नि ? मैले वास्तविक कुरा गरेको हुँ ।
भारतीय सामान सित्तैमा किनेका छौं र ? पैसा तिरेर किनेका छौं भन्नेहरुले भारतीय सामान प्रयोग नगरे हुन्न ? भारतीय सामान प्रयोग गर्न पनि खोज्ने अनि स्वाभिमान र राष्ट्रवादको ठूला कुरा गर्ने ? अनि साँचो र ध्रुवसत्य कुरा गर्नेहरूलाई भारतीय विस्तारवाद र दलाल भन्ने प्रचलन नेपालमा छ । मलाई झुटो र खोक्रो राष्ट्रवाद देखाउनु छैन ।
– राकेशकुमार शर्मा
हेटौंडा उमनपा–२, मकवानपुर ।

 

प्रतिक्रिया दिनुहोस्