धर्मको नयाँ अवधारणा – जीवन धर्म-



  • शिव खनाल “जीवम”

१. पृष्ठभूमि – जब म आइएस्सीको अध्ययन गर्दै थिएँ, त्यसबेला आफ्नो परम्परागत धर्ममा डुबेको थिएँ । खासगरी समाजमा प्रचलित व्रत, पूजा आदिको अभ्यासमा रहेँ । बुबाआमाबाट प्राप्त संस्कार एवम् समाजको रीतिरिवाज अनुसार धर्म संस्कृतिको पालना गर्ने गरियो । तर विज्ञानको विद्यार्थी भएकोले समाजमा प्रचलित धर्मका बारेमा प्रशस्त प्रश्न गर्ने ठाउँ थिए । मलाई एउटा विश्वासको भरमा गरिने पुजाआजामा आस्था घट्न थाल्यो ।
र विविध परिस्थितिहरुले मलाई धर्मका विविध पक्षमा लाग्न प्रेरित गर्यो । उमेरगत कारणले पनि म विद्रोही थिएँ । साथै विभिन्न व्यक्तिगत तथा सामाजिक समस्याहरुको समाधान खोजिरहेको थिएँ ।

२०५५ सालमा विभिन्न धर्म बीचको अन्तर्द्वन्द कसरी घटाउन सकिन्छ भन्ने प्रश्नको उत्तर खोज्दै थिएँ । विभिन्न धर्म बीचको द्वन्द्व समाधानको रूपमा एउटा लेख; विश्वव्यापी धर्म अनि संस्कृतिको खोजी शीर्षकमा एउटा लेख लेखियो । त्यसपछि विभिन्न धर्मग्रन्थहरुको अध्ययन, ध्यान योगमा संलग्नता एवम् साधना लागियो । त्यससँगै आफुले अभ्यास गरेका विधीहरु मात्रै धर्मका पक्ष होइनन् भन्ने मलाई अनुभूति भयो । व्यक्ति र समाजका समस्याहरुको समाधान गर्ने उदेश्यले त्यसबेलादेखि जीवन प्रविधिमा अनुसन्धान गरिरहेको छु । यी अध्ययन एवम् साधनाबाट प्राप्त ज्ञान समेतलाई समेटी जीवन धर्मको अवधारणा वि. सं. २०५८मा बनेको थियोे ।

विभिन्न डायरीहरुमा संकलित जीवन धर्मको अवधारणामा समेटिएका केही कुरा प्रस्तुत गर्ने अनुमति चाहन्छु ।

२. धर्म-
धर्म निश्चित व्यावहार, नैतिक मूल्य मान्यता, विश्व दृष्टि, निश्चित ग्रन्थ, पवित्र स्थान समेटिएको सामाजिक- साँस्कृतिक प्रणाली हो । यसले निश्चित मुल्यमान्यता, माइन्ड सेट, आस्था, अतिईन्द्रीय विचार, जीवन पछिको जीवन आदि बारेमा दृष्टिकोण बनाउन मद्धत गर्दछ । संसारभरका झण्डै ८५ प्रतिशत मानिसले कुनै न कुनै धर्म मान्ने गर्दछन् । जीवनमा सबैभन्दा बढी प्रभाव पार्ने तत्व मध्ये धर्म एक हो । विश्वभर हिन्दू,, ईसाई, इस्लाम, बौद्ध, जैन, यहुदी, बहाई, ताओ लगायतका धर्महरुको मुख्य प्रभाव विश्वभरमा रहेको छ ।

धर्मका विभिन्न पक्ष हुन्छन् । ती मध्ये सबै धर्ममा दुई कुरा १ आस्था र २. कर्म सबै धर्ममा हुन्छन् ।

आस्था
धर्म नमान्ने नास्तिक व्यक्तिको पनि केही न केहीप्रति आस्था हुन्छ । भौतिकवादीहरुले समेत कोही न कोही, केही न केहीप्रति आस्था राख्छन् नै ।

कर्म
त्यस्तै हरेक व्यक्तिले कर्म गर्छन् । हरेक सजीवहरुले कर्म गर्दछन् । कर्मको आधारमा तिनीहरूको पहिचान स्थापित हुन्छ । जस्तै गाईले घाँस खान्छ । बाघले जनावर मारी तिनीहरुको मासु खान्छ । तपाईं जे काम गर्नुहुन्छ त्यही तपाईंको धर्म हो ।

३. जीवन धर्म
जीवन धर्म जीवन र धर्म मिलेर बनेको हुन्छ ।
जीवन :- भौतिक वस्तुहरुबाट भिन्न जैविक प्रक्रिया संचालन गर्ने वस्तुहरुलाई जीव भनिन्छ । जीवनको सिमित परिभाषा भनेको सजीवको जन्म र मृत्यु बीचको अवधि भनिन्छ । तर अध्यात्ममा त्यसको परिभाषा वृहत् छ । त्यसको बुझाइ के हो भने जीवनका विभिन्न पक्षहरु हुन्छन् । शरीर जीवनको एक पक्ष हो । त्यस्तै जीवनका भावनात्मक, वैचारिक र ईच्छाशक्तिका विविध पक्ष हुन्छन् । यदि वृहत् रूपमा हेर्ने हो भने सबै वस्तु एवम् जातिलाई छुट्टाछुट्टै जीवनको रूपमा लिन सकिन्छ । समग्र ब्रह्माण्डलाई एउटा जीवनको रूपमा लिन सकिन्छ । यदि यो अस्तित्वको पुर्णरुपमा सकिदा पनि केही न केही चिजको अस्तित्व हुन्छ, त्यो हो शून्य । त्यसलाई पनि एउटा जीवनको रूपमा लिन सकिन्छ ।

यसरी निश्चित व्यावहार एवम् प्रकृया जसले जीवनका विविध पक्षको विकास गरी व्यक्ति र समाजलाई सुखी, समृद्ध बनाउने शिक्षा तथा साधनालाई जीवन धर्म भनिन्छ ।

जीवनका प्रकार
पृथ्वीको इतिहासको वैज्ञानिक अध्ययनको आधारमा जीवनको विभिन्न आयामलाई यसरी व्याख्या गर्न सकिन्छ ।

१. भौतिक:- भौतिक जीवन ।
भौतिकवादको दर्शन यसैमा आधारित छ ।

२. मानसिक(भावनात्मक, वैचारिक, ईच्छाशक्ति) जीवन । उच्च भावनात्मक क्षमता, दार्शनिक विचार एवम् व्यक्तिको चमत्कारिक क्षमताको विकास यही शरीरको आधारमा हुन्छ । चेतनावादको दर्शन यसैमा आधारित छ ।

३. देव शरीर/ वस्तु/जाति/उर्जा जीवन :- एउटा व्यक्तिको शक्ति एवम् क्षमताको उच्च विकास भएको अवस्था वा लोक कल्याणको उच्च अवस्था । जस्तै हिन्दु धर्मका देवी देवताको स्वरुप अध्ययन गर्दा उनीहरूको उच्च शक्ति रहेको देखिन्छ । उनीहरू लोककल्याणमा समर्पित देखिन्छन् ।

साथै अस्तित्वमा भएका हरेक वस्तु पानी, सुर्य, हावा, पृथ्वी, प्रकाश देवतातुल्य हुन्छन् । हरेक व्यक्तिको मृत्युपछि उसको भौतिक तत्व पृथ्वीको भौतिक तत्वमा एकाकार हुँन्छ र आफ्नो अस्तित्व कायम राख्छन् । भौतिक शरीरको मृत्यु पछि हामीमा भएको उर्जा पनि अस्तित्वमा एकाकार भएको हुन्छ । त्यसैले सन्तजनहरुले हाम्रो शरीरको मृत्यु भएता पनि हाम्रो अस्तित्व कायम रहन्छ भन्नुको तात्पर्य यहीं हो । बहु ईश्वरवादको दर्शन यहीँ विचारमा आधारित छ ।

४. एकाई जीवन :- मानिसको जन्म भयो यसको मृत्यु हुन्छ । पृथ्वीको जन्म भयो, यसको पनि मृत्यु हुन्छ । यसको साथै यो सम्पूर्ण ब्रह्माण्डमा रहेका सबै पदार्थको अन्त्य हुन्छ र पनि अस्तित्वको अन्त्य हुँदैन । त्यस बेला एउटा एकाईको रूपमा अस्तित्व विद्यमान रहन्छ । उर्जाको रूपमा अस्तित्व कायम रहन्छ । यस अवस्थाको समग्र अस्तित्वको स्वरुपलाई एउटा शरीर मान्दा यसलाई एकाई शरीरको रूपमा लिन सकिन्छ । एक र सर्वशक्तिमान ईश्वरवादी दर्शनको आधारशिला यहीँ हो ।

५. शुन्य जीवन :- पदार्थको अस्तित्व नभएको अवस्थाको अस्तित्व । पदार्थ र उर्जा नहुँदाको अवस्थामा समेत शुन्यको अस्तित्व कायम रहन्छ । आकाशको अस्तित्व यथावत रहन्छ । शून्यवाद दर्शनको आधारशिला यही अवस्था हो ।

हरेक मानिससँग भौतिक शरीर हुन्छ । तर उसको पहिचान भौतिक शरीर मात्रै होईन । उनीहरूको पहिचान भावनाले निर्धारण गर्दछ, विचारले निश्चित गर्दछ । उनीहरूमा भएको ईच्छाशक्तिले देखाउँछ ।

त्यो मात्रै होइन । व्यक्तिले साधनाद्वारा आफ्नो उच्च क्षमता प्रकट गर्दै, लोक कल्याणको अनुपम उदाहरण पेश गर्दै देवतुल्य बन्छन् । पुज्य बन्दछन् ।
हाम्रो भौतिक शरीरको अन्त्यपछि पनि हामीमा रहेको उर्जा प्रकृतिको उर्जामा लय हुन्छ र, हाम्रो अस्तित्व कायम रहन्छ ।
यसरी जीवनको आयाम धेरै फराकिलो छ । र यो लेखमा विभिन्न जीवनको छोटो परिचय दिइएको भएता पनि ती जीवनको विशेषता भने लेख्न बाँकी छ ।

जीवन धर्मका विशेषताहरु
– जीवन धर्म सुखको विज्ञान हो ।
– यो स्वरुपान्तरणको शास्त्र हो ।
– परोपकार यसको मूल मर्म हो ।
– यो समस्या समाधानमा केन्द्रित छ ।
– यो सफलता विज्ञान हो ।
– यो सकारात्मक सोच, सकारात्मक प्रवृति र सकारात्मक सीप विकास गर्ने साधन हो ।
– जीवन धर्म सकारात्मक विद्रोहको आधारशिलामा बनेको छ । यसले अन्याय अत्याचार, कुरीतिको डटेर सामना गर्दछ ।

. उद्देश्य

– सबै धर्मको मुल पक्षलाई अवलम्बन गरी साझा विन्दु पत्ता लगाउने । विभिन्न धर्म बीच सुसम्बन्ध विस्तार गर्ने । सबै धर्मका राम्रो कुरालाई समेट्ने ।

– व्यक्तिको रुपान्तरण गर्ने ।

– समाजको रुपान्तरण गर्ने ।

– दर्शन, मनोविज्ञान एवम् विज्ञानको समन्वयबाट विकास एवम् शान्तिको मार्ग पहिचान गर्ने ।

– धर्मको प्राविधिक/ प्रायोगिक/वैज्ञानिक पक्षको सम्बर्द्धन गर्ने ।

– सकारात्मक ज्ञान, सकारात्मक प्रवृति र सकारात्मक सीपको प्रचार प्रसार गर्ने ।

– लौकिक र पारलौकिक धर्मको व्याख्या गर्ने ।

– धर्मका मुल पक्ष परोपकार, सत्य, अहिंसा, आत्मशान्ती, विश्व शान्ति, पू्र्खा स्मरण, कार्मिक शुद्धता, प्रायश्चित, मानवता, विश्ववन्धुत्व आदिको ज्ञान, वोध र सिपको विकास गर्ने ।।

न सम्पूर्ण नकार, न पुर्ण स्वीकार !!
भौतिकवादको निम्ति लड्ने व्यक्ति एवम् समुहहरु धर्मलाई इन्कार गर्दछन् । तर व्यावहारमा हेर्दा उनीहरू नै व्यक्तिवादको अभ्यासमा लिप्त छन् । अध्यात्मवाद नै सम्पूर्ण सत्य हो भन्नेहरुले संसार झुठो छ भन्छन् तर उनीहरू पनि भौतिक सम्पत्तिको लागि मरिमेटेको अवस्था देखिन्छ । खासगरी दुवै कुराहरुको अस्तित्व छ । आवश्यक छन् । यी दुई बीच लडाइ होइन बुझाई आवश्यक छ ।
धर्मको पूर्ण इन्कारले यसको राम्रो पक्षबाट समेत हामी वन्चित हुन्छौं भने हाल चलिआएको धर्मलाई जस्ताको त्यस्तै अङ्गिकार गर्दा मानिस झन् झन् अन्धविश्वासको दलदलमा फस्ने अवस्था आएको देखिन्छ ।

यसरी जीवन धर्मले परिष्कृत धर्ममा विश्वास गर्दछ ।
तर त्यसो भन्दैमा धर्मको आफू अनुकुल व्याख्या नगरी सह अस्तित्वमा आधारित धर्ममा विश्वास गर्दछ । धर्म परिवर्तनको राजनीतिमा विश्वास राख्दैन ।

अन्त्यमा :

माथि उल्लेखित अवधारणामा आधारभूत कुराहरु समेटिएका छन् । मुख्य अवधारणा यही भएता पनि उल्लेखित लेखमा विज्ञसँग प्राप्त सल्लाहको अपेक्षा गर्दै यसलाई वृहत् गराँउदै जाने कुरामा प्रस्तुत शब्दहरुमा केही परिमार्जन स्वीकार्य छ ।
अस्तु ।

प्रतिक्रिया दिनुहोस्