ज्ञानको गर्विलो व्यक्तित्व: भिक्षु ज्ञाणपूर्णिक



  • सुनील महर्जन

प्रत्येक व्यक्तिको आ–आफ्नै विशेषता हुने गर्दछ । हालै दिवंगत संघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थवीरको अलग्गै व्यक्तित्व र पहिचान छ । उहाँको विकास र योगदानलाई उहाँ बाँच्नुभएको र हुर्किएको परिवेशको समग्रतामा हेर्नुपर्दछ । भिक्षु ज्ञाणपूर्णिक महास्थवीरलाई उहाँवरपरको परिस्थितिको अन्तरसम्बन्धबाट हेरेमा मात्र उहाँमा निहित विशेषता र व्यक्तित्व रेखांकित गर्न सकिन्छ ।

गुरु–शिष्य परम्पराबाटै शिक्षा आर्जन गर्ने नेपालको स्थवीरवाद बुद्धधर्मका शुरु–शुरुका पुस्ताका भिक्षुहरुमध्ये भिक्षु ज्ञाणपूर्णिक बुद्धधर्म र अन्य शिक्षामा औपचारिक शिक्षा पाउने सम्भवतः पहिलो भिक्षु हुनुहुन्थ्यो । हुन त भिक्षु जीवनको मर्म, दायित्व र औपचारिक शिक्षा फरक–फरक विषय हुन् । तर पनि भिक्षु जीवनको अभ्यास र साधनासँगै व्यावहारिक कुशलता, ज्ञानको दायरा बढाउन औपचारिक शिक्षाले पनि भूमिका निर्वाह गर्दछ । औपचारिक शिक्षाले भिक्षु ज्ञाणपूर्णिकको व्यक्तित्वलाई थप परिष्कार गरेको थियो ।

बर्मामा करिब ११ वर्षको मेहनतपछि उहाँले सन् १९६३ मा शासनधज धम्माचरीय उपाधि परीक्षा उत्तीर्ण गर्नुभयो । धम्माचरीय उपाधि परीक्षा उत्तीर्ण गर्नुहुने उहाँ पहिलो विदेशी भिक्षु हुनुहुन्थ्यो । बर्मामा अध्ययनपश्चात् उहाँले भारतको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृतिमा स्नातक उत्तीर्ण गर्नुभयो । पछि नेपाल फर्किनुभएपछि पाटनस्थित सुमंगल विहारमा बस्ने क्रममा उहाँले स्नातकोत्तर अध्ययन पुरा गर्नुभयो । यसको प्रतिध्वनि उहाँको शब्द–शब्दको गहिरो विवेचना गरी धर्म व्याख्या गर्ने र बर्माका दुर्बोध्य मानिएको प्रतित्यसमुत्पाद, अभिधम्मसम्बन्धी ग्रन्थको अनुवादमा सुनिन्थ्यो । उहाँको धार्मिक व्याख्यानको कला र ग्रन्थ अनुवाद गर्ने कार्यले औपचारिक शिक्षामा थप निखारता ल्याएको थियो ।

अर्कोतर्फ नेपाल र म्यानमारबीचको सम्बन्धलाई सुमधुर र सुदृढ बनाउन दुई देशका जनताबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण स्थान रहेको छ । दुवै देशका जनताबीचको सम्बन्धको मुख्य आधार थियो, बुद्धधर्म । भिक्षु ज्ञाणपूर्णिक यसै आधारमा उठेको एक शिखर पुरुष हुनुहुन्छ । धर्ममार्फत अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन उहाँको योगदान सरकारका निम्ति विशेष कदरयोग्य रहेको छ । संयोगवश उहाँको व्यक्तित्वबारे भलिभाँती परिचित प्रदीप ज्ञवाली अहिले परराष्ट्रमन्त्री हुनुहुन्छ ।

परराष्ट्र मन्त्रालयले पनि उहाँको योगदानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन विशेष भूमिका निर्वाह गर्न सक्छ । लामो समयको बर्मा बसाइ, अध्ययन, पाली बर्मिज विश्व कोषको सम्पादनमा उहाँको संलग्नता र देश–विदेशमा धर्मप्रवचनले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र म्यानमारसँगको विशेष धार्मिक सम्बन्धलाई सुमधुर बनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अतः धार्मिक कूटनीतिका दृष्टिले उहाँको उच्च योगदान रहेको पाउँछौं ।

नेपाल स्थवीरवाद बुद्धधर्म पुनर्जागरणको लामो समयसम्म स्वयम्भुस्थित आनन्दकुटी विहार केन्द्रविन्दुमा रह्यो । स्थवीरवाद बुद्धधर्मका अग्रज व्यक्तित्वको बसाइ, आनन्दकुटी विहार गुठी, राष्ट्रिय र अन्तर्राष्ट्रिय चिनारी त्यसको समष्टिगत रुप थियो । त्यो केन्द्र समयक्रमसँगै सर्दै–सर्दै विश्व शान्ति विहारसम्म आइपुग्यो । अर्थात् समकालीन नेपालमा बुद्धधर्मसम्बन्धी कार्यको केन्द्रविन्दु विश्व शान्ति विहार बन्यो । यसमा भिक्षु ज्ञाणपूर्णिकको नेतृत्वमा शुरु भएको नयाँ भिक्षु उत्पादन र शिक्षण कार्य, नेपाल बौद्ध परियति केन्द्रको गतिविधिपछि आएर थेरवाद बुद्धिस्ट कलेज सञ्चालनले पनि विश्व शान्ति विहारलाई केन्द्रविन्दुको रुपमा स्थापित गरेको थियो ।

बौद्ध परियतिको विस्तार, देशका विभिन्न जिल्लाबाट भिक्षु बन्न आउने क्रममा आएको तीव्रता र राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विश्व शान्ति विहारकै वरपर झाँगिदै गएको पाउँछौं । भिक्षु ज्ञाणपूर्णिकको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि, मान्यता एवं बुद्धधर्म विकासको बृहत् संस्थागत प्रयासले केन्द्रको गुरुत्व बढाएको थियो । यसमा विश्व शान्ति विहारको संस्थागत प्रयास पनि उल्लेखनीय छ । त्यो केन्द्रविन्दुलाई यथावत् राख्न यहाँको गतिविधिलाई अझै चलायमान बनाउनुपर्ने जिम्मेवारी अहिले पनि छ । संस्थागत परिपाटीलाई बलियो बनाइराख्नु नै त्यस जिम्मेवारी पूरा गर्ने मुख्य आधार हुन् ।

नेपाल बुद्धको जन्मभूमि देश भएर पनि यहाँ बुद्धधर्र्मसम्बन्धी गहन पुस्तकहरु सर्वथा अभाव रहेको छ । हिन्दीमा बाहेक श्रीलंका, थाइल्यान्ड र बर्माको पुस्तक पढ्न भाषिक ज्ञानमा सर्वसाधारणको सहज थिएन । अझ बुद्ध वचनको संग्रह त्रिपिटकको सुत्तपिटक, विनयपिटक र अभिधम्म पिटकमध्ये विनय र अभिधम्ममा नेपाल र नेपालीमा सहज पहुँच अझै भएको छैन । वीरपूर्ण संग्रहालयद्वारा प्रकाशित विनयपिटकको प्रति सम्झिँदा मग्ग र अभिधम्म वर्ग पनि जस्ता बुद्धधर्मको महत्वपूर्ण ग्रन्थ तयार गर्न उहाँको विशेष सक्रिय भूमिका रह्यो ।

संग्रहालयले त्रिपिटकका सारा ग्रन्थ नेपाल र नेपाली भाषामा अनुवाद गर्ने कार्यलाई ४० वर्षदेखि निरन्तरता दिँदै आएको छ । संग्रहालयको सक्रियता पछिल्लो दिनमा निकै बढेको छ । यस काममा भिक्षु ज्ञाणपूर्णिकको प्रेरणा, तदारुकता, घचघच्याउने स्वभावले महत्वपूर्ण ऊर्जाको काम गरेको संग्रहालयका अध्यक्ष दुण्डबहादुर वज्राचार्यको भनाइ छ ।

म्यानमारका प्रसिद्ध पुस्तकहरुमध्ये बुद्धवाद बेजोडको विश्लेषणात्मक पुस्तक थियो । त्यसै गरी प्रतित्य समुत्पादलगायत ६० भन्दा बढी ग्रन्थहरु अनुवाद गरी बर्माको बुद्धधर्मको अध्ययन धारालाई परिचित गराउन उहाँको विशेष देन रह्यो । चित्त, कर्मफल, प्रतित्यसमुत्पाद, बुद्धवादजस्ता गहनत्तम ग्रन्थ उहाँको अथक मेहनतको परिणति थियो ।

भिक्षु ज्ञाणपूर्णिक केवल हाड–छाला भएका मानिस मात्र हुनुहुँदैनथ्यो । उहाँकी आमा तानसेन निवासी चन्द्रमाया शाक्यले ११ वर्षका बालक हीरालाललाई समर्पण गर्नुभएको समयदेखि गणना गर्ने हो भने झन्डै ७० वर्षको जीवन बुद्धधर्मको विकास र विस्तारमा समर्पण गर्नुभयो । अमूल्य मनुष्य जीवन एउटै विचार वा क्षेत्रमा समर्पण गर्नु सर्वसाधारणका लागि सरल पक्कै होइन । यस अर्थमा उहाँ निष्ठा र त्यागका प्रतिमूर्ति पनि हुनुहुन्छ । भावी पुस्ताले उहाँको त्याग, निष्ठा र योगदानलाई सम्झिने र परिचित हुने गरी उहाँको स्मृति प्रतिष्ठान बनाउने वा कुनै नै कुनै रुपमा सम्झिने आधार बनाउनु अहिलेको सामयिक कर्तव्य हो । भिक्षु ज्ञाणपूर्णिक पुराना पुस्ता र आधुनिक पुस्तालाई जोड्ने महत्वपूर्ण कडी हुनुहुन्छ । उहाँको निधनले उहाँको स्मृति, जीवनी, त्यागलाई बिर्सिने अवस्था आउने अवस्थाले बुद्धधर्मको विकास र विस्तारको दिशामा ठूलो घाटा लाग्नेछ ।

नेपालको बुद्धधर्मको क्षेत्रमा अर्का ज्ञाणपूर्णिक फेरि जन्मिदैनन् । जसरी भिक्षु ज्ञाणपूर्णिकले विशेषतः भिक्षु प्रज्ञानन्द, भिक्षु बुद्धघोष महास्थवीरको अध्ययन र चिन्तन धारालाई नयाँ उचाइमा पु¥याउनुभयो, त्यसै अनुरुप उहाँको योगदानलाई अर्को उचाइसम्म पु¥याउन उहाँको अन्तरदृष्टि, प्रतिभा, योगदानको उचित समीक्षा र अध्ययन गर्नु जरुरी छ । उहाँको यान्त्रिक नक्कल होइन, उहाँको समग्र जीवनबाट नयाँ अन्तरदृष्टि प्राप्त गरेर अघि बढ्नुपर्ने पनि आधुनिक पुस्ताको दायित्व हो ।

अर्कोतर्फ उहाँको ७० वर्षको जीवन्त इतिहासको आलोकमा स्थवीरवाद बुद्धधर्मको धारा अझ समृद्ध र फराकिलो बन्नेछ । पुराना पुस्ताका भिक्षुहरुको निधनले पारेको क्षति र त्यसलाई न्यूनीकरण गर्ने उपाय पहिल्याउन पनि भिक्षु महाप्रज्ञाबाट शुरुआत भएको स्थवीरवाद बुद्धधर्मको विकासको धारालाई भिक्षु ज्ञाणपूर्णिकको निधनसम्म आउँदाको अवस्थाबारे सूक्ष्म विश्लेषणको आवश्यकता छ । उहाँको निर्वाणको कामना !

 

प्रतिक्रिया दिनुहोस्