पाल्पामा कोरोना निको हुनेको दर निकै बढ्यो



न्युज अफ नेपाल,पाल्पा ।

पाल्पा जिल्लामा पछिल्ला केही दिन यता कोरोना संक्रमितहरुको निको हुने दर निकै वढेको छ । पछिल्लो समय जिल्लामा संक्रमितको संख्या नदेखिए पनि निको भएर घर फर्कर्नेको संख्या भने बढ्दै गएको पाइएको छ ।

जिल्लामा रहेका ५ सय ५३ संक्रमितमध्ये विहिबारसम्म ५ सय ९ जना निको भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अव बाकी ४४ जना विभिन्न आइसोलेशन सेन्टरमा रहेका छन् ।

पछिल्लो २४ घन्टामा थप ८९ जना कोरोना संक्रमित घर फर्किएसँगै निको हुनेको संख्या ५ सय ९ पुगेको हो । विहिबार रामपुर नगरपालिकाका ५ जना, पूर्वखोला गाउँपालिकाका ७० जना, रम्भा गाउँपालिकाका १४ जना गरी ८९ जना संक्रमित घर फर्किएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

उनीहरुलाई १४ दिनसम्म आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो । उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ आएपछि स्थानीय तहका विभिन्न आइसोलेशन सेन्टरमा राखेर उपचार गराईदै आइएको थियो ।

स्वास्थ्य कार्यालयका अनुसार हालसम्म माथागढी गाउँपालिकाका २८ जना, रामपुर नगरपालिकाका १ सय ११, पूर्वखोलाका १ सय ५८, रैनादेवी छहराका ३३, रम्भाका ३९, बगनासकालीका २८, तिनाउका ४, रिब्दीकोटका ४, निस्दीका ९५, तानसेनका ६, गुल्मीका २ र अर्घाखाँचीका एक जना कोरोना संक्रमित निको भएर घर फर्किसकेका छन् ।

जिल्लामा सोमबारदेखि एक जनामा पनि संक्रमण नदेखिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । अहिलेसम्म बगनासकाली गाउँपालिकामा ४२, रम्भा गाउँपालिकामा ४०, माथागढी गाउँपालिकाका ३०, तिनाउ गाउँपालिकाका ८, रैनादेवी छहरा गाउँपालिकामा ३८, तानसेन नगरपालिकामा १३, रामपुर नगारपालिकामा १ सय १६, निस्दी गाउँपालिकमा ९९, पूर्वखोला गाउँपालिकामा १ सय ५९, रिब्दीकोट गाउँपालिकामा ५,उपचारको क्रममा लुम्विनी मेडिकल कलेजमा गुल्मीका २ जना र अर्घाखाँचीका एक जनामा कोरोना संक्रमण देखिएको थियो भने पूर्वखोलाका एक जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्