दिपक, संगीना र उपेन्द्रको राजिनामा



काठमाडौं, (नेस)

तेक्वान्दोका दीपक विष्ट र संगीना वैद्य तथा राष्ट्रिय फुटबल टोलीका पूर्व कप्तान उपेन्द्रमान सिंहले बुधबार राजिनामा दिएका छन् । दीपकले नेपाल तेक्वान्दो संघको सचिव र प्रवक्ता तथा संगीनाले तेक्वान्दो संघकै सदस्य पदबाट राजिनामा दिएको विष्टले जनाएका हुन् । दुवै राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा तेक्वान्दो प्रशिक्षकका रुपमा कार्यरत छन् ।

राखेपअन्तर्गत नै फुटबल सहायक प्रशिक्षक सिंहले भने सहायक प्रशिक्षकबाट राजिनामा दिएका हुन् । तीनैले सम्बन्धित संघमा राजिनामा बुझाएको र त्यसको बोधार्थ राखेपलाई दिएका छन् । हालै लागू भएको राष्ट्रिय खेलकुद विकास ऐन– २०७७ मा राखेपका कर्मचारी कुनैपनि संघमा बस्न नपाउने प्रावधान भएकाले अधिकांशले संघबाट राजिनामा दिइ रहेका छन् ।

अघिल्लो दिन पनि राखेपअन्तर्गतका प्रशिक्षक र सहायक प्रशिक्षकहरुले राजीनामा दिएका थिए । जसमा टेबलटेनिसतर्फका प्रशिक्षकहरु शंकर गौतम, संध्या शाक्य, करातेतर्फका प्रशिक्षक सन्तोष श्रेष्ठ, विष्णुकान्त अर्याल, राजेन्द्ररत्न तुलाधर, विमल पोखरेल, विनोदकुमार राउत, प्रवीण राना, दोर्जे लामा तथा बक्सिङतर्फका प्रशिक्षक किशोर खत्री, अम्बरबहादुर थिङले राजीनामा दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्