फर्किएका खेलमा सामाजिक दूरी भएन



लन्डन, (एजेन्सी)

विश्वमा कोरोना भाइरसका कारण स्थगित भएका खेल तीन महिनापछि पुरानै अवस्थामा फर्केका छन्। रग्बी, बेसबल, फुटबल, क्रिकेट, मिक्स मार्शल आर्टस्का साथै फर्मुला वान पनि शुरू भएका हुन् । तर, यसै दौरानमा नियम भने कडाइका साथ लागू भइरहेको छैन। खेलाडीले सामाजिक दूरी पालना गरिरहेका छैनन् ।

इंग्ल्यान्डमा १७ जुनबाट शुरू भएको इंग्लिस प्रिमियर लिग यसको ज्वलन्त उदाहरण हो । गोल हुँदा खेलाडी एकापसमा अंगालो मारेर खुशियाली मनाएका छन्। उनीहरूले कोरोना भाइरसको महामारीलाई कम गर्न सावधानी अपनाउनु पर्ने सामाजिक दूरीको नियम पालना गरेनन् । यो देखेपछि बेलायती सरकारले सबै २० क्लबहरूलाई चेतावनी दिएको छ ।

बेलायती सरकारले खेलाडी, कोच तथा वाटर ब्रेक र गोलको खुशियाली मनाउने समयमा नियम अपनाइरहेको भन्दै चेतावनी दिएको हो । कोच पनि ब्रेक समयमा खेलाडीसँगै आएर उनीहरूलाई सम्झाइरहेका हुन्छन् । उनले पनि आफ्नो बानी सुधार्नुपर्ने बेलायती सरकारको चेतावनी रहेको छ । उनले दर्शकको सामुन्ने गलत उदाहरण पेस गरिरहेका छन्। यदि, ब्रेकको समयमा कोचले खेलाडीसँग कुरा गर्नु छ भने अलग तरिकाबाट प्रयास गर्न बेलायती सरकारले भनेको छ।

फुटबलमा मात्रै होइन क्रिकेटमा पनि सामाजिक दूरीको नियम पालना भएको थिएन । इंग्ल्यान्ड र वेस्ट इन्डिजबीचको पहिलो टेस्टमा खेलाडी एकापसमा सँगै उभिएका थिए । डिआएसको प्रयोग भइरहँदा वेस्ट इन्डिजका खेलाडी सँगै उभिएका थिए र एक अर्कालाई धाप मारिरहेका पनि थिए । जबकि, आइसिसीको गाइड लाइनमा भनिएको छ कि, खेलाडी र अम्पायरले हरेक समयमा सामाजिक दूरीको पालना गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्