बुहारी हत्या प्रकरण: आरोपी चारै जना कारागार चलान



हेटौंडा, (नेस)

कपिलवस्तु माइती भएकी हेटौंडा–४ की सुस्मिता थापाको बीभत्स हत्या अभियोगमा पक्राउ परेका चार आरोपी पुर्पक्षका लागि कारागार चलान भएका छन् ।

जिल्ला अदालत मकवानपुरले बुधबार उक्त आदेश दिएको हो । जिल्ला न्यायाधीश सीता शर्मा अधिकारीको एकल इजालासले थापाकी ५८ वर्षीय सुसरा प्रकाश थापा, ५० वर्षीया सासू तुलसाकुमारी थापा, २३ वर्षीया कान्छी नन्द सीता थापा र २७ वर्षीया जेठी नन्द दुर्गा थापा (कार्की) लाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको हो ।

मंगलबार थुनछेक बहस सकिए पनि समय अभावका कारण आदेश भएको थिएन । उक्त प्रकरण पछिल्लो समय देशमै चर्चित बनेको थियो । अदालतको आदेशले पीडित पक्षले शान्तिको सास फेरेका छन् । अभियुक्तहरूलाई आजीवन कारावास माग्दै हेटौंडामा महिलाले बजार र अदालत परिसरमा दिनहुँ प्रदर्शन गर्दै आएका थिए ।

हत्यामा संलग्न रहेको भन्दै पाँच जनाविरुद्ध आइतबार सरकारी वकिलको कार्यालयले अभियोगपत्र दायर गरेको थियो । अभियोगपत्रमा ससुरा प्रकाश र नन्द सीतालाई आजीवन कैद, ज्वाइँं अरुण र छोरी दुर्गालाई २५ वर्ष कैद तथा सासू तुलसालाई घटनाको मतियार भएको आरोप लगाउँदै साढे १२ वर्ष कैद माग गरिएको छ ।

आदेशपछि ससुरा प्रकाशलाई मकवानपुरको भीमफेदी कारागार पठाइएको छ भने सासू तुलसाकुमारी, जेठी नन्द दुर्गा र कान्छी नन्द सीतालाई चितवन कारागार पठाइएको छ । प्रहरीका अनुसार अरुण फरार छन् । उनीविरुद्ध पक्राउ पूर्जी जारी गरिएको छ ।

बहस चलिरहँदा जिल्ला अदालत परिसरबाहिर ठूलो संख्यामा महिलाले हत्या अभियुक्तलाई अधिकतम् कारबाही माग गर्दै नाराबाजी गरेका थिए भने अवस्थालाई मध्यनजर गर्दै ठूलो संख्यामा प्रहरी परिचालन गरिएको थियो । अभियुक्तहरुलाई कडाभन्दा कडा सजाय माग गर्दै उनीहरूले यदि त्यसो नभए कडा आन्दोलन गर्न पछि नहट्ने चेतावनी दिएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्