ज्ञानको गर्विलो व्यक्तित्व: भिक्षु ज्ञाणपूर्णिक



  • सुनील महर्जन

 प्रत्येक व्यक्तिको आ–आ आफ्नै विशेषता हुने गर्दछ । हालै दिवंगत संघनायक भिक्षु ज्ञाणपूर्णिक महास्थविरको अलग्गै व्यक्तित्व र पहिचान छन् । उहाँको विकास र योगदानलाई उहाँ बाँच्नु भएको, र हुँर्किएको परिवेशको समग्रतामा हेर्नुपर्दछ । भिक्षु ज्ञाणपूर्णिक महास्थविरलाई उहाँ वरपरको परिस्थितिको अन्तरसम्बन्धबाट हेरेमा मात्र उहाँमा निहित विशेषता र व्यक्तित्व रेखांकित गर्न सक्दछ ।

गुरु शिष्य परम्पराबाटै शिक्षा आर्जन गर्ने नेपालको स्थविरवाद बुद्ध धर्मका शुरु शुरुका पुस्ताका भिक्षुहरु मध्ये भिक्षु ज्ञाणपूर्णिक बुद्ध धर्म र अन्य शिक्षामा औपचारिक शिक्षा पाउने सम्भवतः पहिलो भिक्षु हुनुहुन्थ्यो । हुनत भिक्षु जीवनको मर्म, दायित्व र औपचारिक शिक्षा फरक फरक विषय हुन् । तर पनि भिक्षु जीवनको अभ्यास र साधनासंगै व्यावहारिक कुशलता, ज्ञानको दायरा बढाउन औपचारिक शिक्षाले पनि भूमिका निर्वाह गर्दछ । औपचारिक शिक्षाले भिक्षु ज्ञाणपूर्णिकको व्यक्तित्वलाई थप परिष्कार गरेको थियो । बर्मामा करिब करिब ११ वर्षको मिहिनतपछि उहाँले सन् १९६३ मा शासनधज धम्माचरिय उपाधि परीक्षा उर्तीण गर्नुभयो । धम्माचरिय उपाधि परीक्षा उतीर्ण गर्नुहुने उहाँ पहिलो विदेशी भिक्षु हुनुहुन्थ्यो । बर्मामा अध्ययन पश्चात उहाँले भारतको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृतिमा स्नातक उतीर्ण गर्नुभयो । पछि नेपाल फर्किनुभएपछि पाटनस्थित सुमंगल विहारमा बस्ने क्रममा उहाँले स्नात्तकोत्तर अध्ययन पुरा गर्नुभयो । यसको प्रतिध्वनी उहाँको शब्द शब्दको गहिरो विवेचना गरी धर्म व्याख्या गर्ने र बर्माका दुर्बोध्य मानिएको प्रतित्यसमुत्पाद, अभिधम्म सम्बन्धी ग्रन्थको अनुवादमा सुनिन्थ्यो । उहाँको धार्मिक व्याख्यानको कला र ग्रन्थ अनुवाद गर्ने कार्यलाई औपचारिक शिक्षा थप निखारता ल्याएको थियो ।

अर्कोतर्फ नेपाल र म्यानमारबीचको सम्बन्धलाई सुमधुर र सुदृढ बनाउन दुई देशका जनताबीचको सम्बन्ध अत्यन्त महत्वपूर्ण स्थान रहेको छ । दुवै देशका जनताबीचको सम्बन्धको मुख्य आधार थियो, बुद्ध धर्म । भिक्षु ज्ञाणपूर्णिक यसै आधारमा उठेको एक शिखर पुरुष हुनुहुन्छ । धर्म मार्फत अन्तर्राष्ट्रिय सम्बन्ध बलियो बनाउन उहाँको योगदान सरकारका निम्ति विशेष कदरयोग्य रहेको छ । संयोगवश उहाँको व्यक्तित्वबारे भलिभाति परिचित प्रदीप ज्ञवाली अहिले परराष्ट्रमन्त्री हुनुहुन्छ । परराष्ट्र मन्त्रालयले पनि उहाँको योगदानलाई अन्तर्राष्ट्रिय क्षेत्रमा पु¥याउन विशेष भूमिका निर्वाह गर्न सक्दछ । लामो समयको बर्मा बसाँई, अध्ययन, पाली बर्मिज विश्व कोषको सम्पादनमा उहाँको संलग्नता र देश विदेशमा धर्मप्रवचनले नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउन र म्यानमारसंगको विशेष धार्मिक सम्बन्धलाई सुमधुर बनाउन निकै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ । अतः धार्मिक कुटनीतिका दृष्टिले उहाँको उच्च योगदान रहेको पाउँछौं ।

नेपाल स्थविरवाद बुद्धधर्म पुनःजागरणको लामो समयसम्म स्वयम्भुस्थित आनन्दकुटी विहार केन्द्रबिन्दुमा रह्यो । स्थविरवाद बुद्ध धर्मका अग्रज व्यक्तित्वको बसाईँ, आनन्दकुटी विहार गुठी, राष्ट्रिय र अन्तर्राष्ट्रिय चिनारी त्यसको समष्टिगत रुप थियो । त्यो केन्द्र समयक्रमसंगै सर्दै, सर्दै विश्व शान्ति विहारसम्म आइपुग्यो । अर्थात समकालीन नेपालमा बुद्ध धर्म सम्बन्धी कार्यको केन्द्रबिन्दु विश्व शान्ति विहार बन्यो । यसमा भिक्षु ज्ञाणपूर्णिकको नेतृत्वमा शुरु भएको नयाँ भिक्षु उत्पादन र शिक्षण कार्य, नेपाल बौद्ध परियति केन्द्रको गतिविधिपछि आएर थेरवाद बुद्धिस्ट कलेज संञ्चालनले पनि विश्वशान्ति विहारलाई केन्द्रविन्दुको रुपमा स्थापित गरेको थियो । बौद्ध परियतिको विस्तार, देशका विभिन्न जिल्लाबाट भिक्षु बन्न आउने क्रममा आएको तीब्रता र राष्ट्रिय र अन्तर्राष्ट्रिय सम्बन्ध विश्व शान्ति विहारकै वरपर झाँगिदै गएको पाउँछौं । भिक्षु ज्ञाणपूर्णिकको राष्ट्रिय र अन्तर्राष्ट्रिय छवि र मान्यता र बुद्ध धर्म विकासको बृहत संस्थागत प्रयासले केन्द्रको गुरुत्व बढाएको थियो । यसमा विश्व शान्ति विहारको संस्थागत प्रयास पनि उल्लेखनीय छ । त्यो केन्द्रबिन्दुलाई यथावत राख्न यहाँको गतिविधिलाई अझै चलायमान बनाउनुपर्ने जिम्मेवारी अहिले पनि छ । संस्थागत परिपाटीलाई बलियो बनाई राख्नु नै त्यस जिम्मेवारी पुरा गर्ने मुख्य आधार हुन् ।

नेपाल बुद्धजन्मभूमि देश भएर पनि यहाँ बुद्धधर्र्म सम्बन्धी गहन पुस्तकहरु सर्वथा अभाव रहेको छ । हिन्दीमा बाहेक श्रीलंका, थाईल्याण्ड र बर्माको पुस्तक पढ्न भाषिक ज्ञानमा सर्वसाधारणको सहज थिएन । अझ बुद्ध वचनको संग्रह त्रिपिटकको सुत्तपिटक, विनयविपटक र अभिधम्म पिटक मध्ये विनय र अभिधम्ममा नेपाल र नेपालीमा सहज पहुँच अझै भएको छैन । वीरपूर्ण संग्रहालयद्वारा प्रकाशित विनयपिटकको प्रतिसम्भिदा मग्ग र अभिधम्म वर्ग पनि जस्ता बुद्धधर्मको महत्वपूर्ण ग्रन्थ तयार गर्न उहाँको विशेष सक्रिय भूमिका रह्यो । संग्रहालयले त्रिपिटकका सारा ग्रन्थ नेपाल र नेपाली भाषामा अनुवाद गर्ने कार्यलाई ४० वर्षदेखि निरन्तरता दिँदै आएको छ । संग्रहालयको सक्रियता पछिल्लो दिनमा निकै बढेको छ ।यस काममा भिक्षु ज्ञाणपूर्णिकको प्रेरणा, तदारुकता, घचघच्याउने स्वभाव महत्वपूर्ण उर्जाको काम गरेको संग्रहालयका अध्यक्ष दुण्डबहादुर बज्राचार्यको भनाई रहेको छ ।

म्यानमारका प्रसिद्ध पुस्तकहरु मध्ये बुद्धवाद बेजोडको विश्लेषणात्मक पुस्तक थियो । त्यसैगरी प्रतित्य समुत्पाद लगायत ६० भन्दा बढी ग्रन्थहरु अनुवाद गरी बर्माको बुद्धधर्मको अध्ययन धारालाई परिचित गराउन उहाँको विशेष देन रह्यो । चित्त, कर्मफल, प्रतित्यसमुत्पाद, बुद्धवाद जस्ता गहनत्तम ग्रन्थ उहाँको अथक मिहिनतको परिणति थियो ।

भिक्षु ज्ञाणपूर्णिक केवल हाड, छाला भएका मानिस मात्र थिएन । उहाँकी आमा तानसेन निवासी चन्द्रमाया शाक्यले ११ वर्षको उमेर बालक हिरालाललाई समर्पण गर्नुृभएको समयदेखि गणना गर्ने हो भने झन्डै ७० वर्षको जीवन बुद्ध धर्मको विकास र विस्तारमा समर्पण गर्नुभयो । अमूल्य मनुष्य जीवन एउटै विचार वा क्षेत्रमा समर्पण गर्नु सर्वसाधारणका लागि सरल विषय पक्कै होइन । यस अर्थमा उहाँ निष्ठा र त्यागका प्रतिमूर्ति पनि हुनुहुन्छ । भावि पुस्ताले उहाँको त्याग, निष्ठा र योगदानलाई सम्झिने र परिचित हुने गरी उहाँको स्मृति प्रतिष्ठान बनाउने वा कुनै नै कुनै रुपमा सम्झिने आधार बनाउनु अहिलेको सामयिक कर्तव्य हुन् । भिक्षु ज्ञाणपूर्णिक पुराना पुस्ता र आधुनिक पुस्तालाई जोड्ने महत्वपूर्ण कडी हुन् ।उहाँको निधनले उहाँको स्मृति, जीवनी, त्याग बिर्सिने अवस्था आउने अवस्थाले बुद्धधर्मको विकास र विस्तारको दिशामा ठूलो घाटा लाग्नेछ ।

नेपालको बुद्धधर्मको क्षेत्रमा अर्को ज्ञाणपूर्णिक फेरी जन्मिदैनन् । जसरी उहाँले विशेषतः भिक्षु प्रज्ञानन्द, भिक्षु बुद्धघोष महास्थविरको अध्ययन र चिन्तन धारालाई नयाँ उचाईमा पु¥याउनुभयो । त्यसैगरी उहाँले समग्रमा गर्नुभएको योगदानको उचाईलाई अर्को उचाईसम्म पु¥याउन भिक्षु ज्ञाणपूर्णिकको अन्र्तदृष्टि, प्रतिभा, योगदानको उचित समिक्षा र अध्ययन गर्नु जरुरी रहेको छ । उहाँको यान्त्रिक नक्कल होइन, उहाँको समग्र जीवनबाट नयाँ अन्र्तदृष्टि प्राप्त गरेर अघि बढ्नुपर्ने दायित्व पनि आधुनिक पुस्ताको दायित्व हो ।

अर्कोतर्फ उहाँको ७० वर्षको जीवन्त इतिहासको आलोकमा स्थविरवाद बुद्धधर्मको धारा अझ समृद्ध र फराकिलो बन्ने छ । पुराना पुस्ताका भिक्षुहरुको निधनले पारेको क्षति र त्यसलाई न्यूनीकरण गर्ने उपाय पहिल्याउन पनि भिक्षु महाप्रज्ञाबाट शुरुआत भएको स्थविरवाद बुद्धधर्मको विकासको धारालाई भिक्षु ज्ञाणपूर्णिकको निधनसम्म आउँदाको अवस्थाबारे सुक्ष्म विश्लेषणको आवश्यकता छ ।उहाँको निर्वाण कामना गर्दछु ।

प्रतिक्रिया दिनुहोस्