नेपाली चाडपर्वमा विकृतिको गन्ध



नेपालमा मुख्य गरी मनाइने पर्वहरुमा दशैँ, तिहार, तीज, जनैपूर्णिमा तथा समुदायमा आधारित साँस्कृतिक मूल्य र मान्यताहरुमा समेत धेरै विकृति फैलिने गरेको छ । हाम्रा सांस्कृतिक पर्वहरुमा भएका कुरीतिलाई हटाउँदै सभ्य तरिकाले मनाउनुपर्नेमा पछिल्लो समय झन् विकृति थुपार्दै हामीले झन् जटिल बनाउँदै लगेका छौँ । हाम्रो संस्कृतिमा विकृति मिसिँदै आउन थाल्यो भने हाम्रा सन्ततीलाई हामीले दिने जवाफ नै हुँदैन ।

नेपाल मौलिक चाडपर्वले विश्वमा नै धनी मुलुकको रूपमा चिनिने गरेको छ । संरक्षणका अभावमा कतिपय चाडपर्वहरू लोपान्मुख अवस्थामा पुगेका छन् भने धेरै चाडपर्वहरूमा विकृति मिसिएको छ । हाम्रा इतिहासमा तथा धार्मिक ग्रन्थमा लेखिएका चाडपर्व मनाउने पद्धतिभन्दा हाल आएर मनाउने गरिएको चाडपर्व धेरै नै फरक हुँदै आएका छन् । त्यस्तै, हाम्रो सामाजिक कार्यहरूसमेत पुरानो शैलीबाट फेरिएर नयाँ तरिकाले मनाउने गरिएको छ । पछिल्लो समय नेपाली मौलिक चाडपर्व तथा सांस्कृतिक पर्वहरू मनाउने शैली फेरिएसँगै भड्किलो हुँदै गएका छन् ।

संस्कृतिको विशेषता नै हो, एक पुस्ताबाट अर्को पुस्तामा हस्तान्तरित हुँदै जानु, जसले मानवसभ्यतालाई अघि बढाउन महत्वपूर्ण भूमिका निर्वाह गर्छ । पुर्खाको सद्व्यवहारसँग वर्तमान संस्कार र संस्कृतिको अन्तर्सम्बन्ध हुन्छ । मानिसलाई एकताको सूत्रमा आबद्ध गर्दै संस्कार र संस्कृतिले सुमार्गतर्फ अघि बढाउँछ ।
फलस्वरूप चाडपर्वको जन्म हुन्छ । त्यसकारण संस्कार, संस्कृति, मानवीय सभ्यता एवं चालचलन नै चाडपर्वका जननी हुन् । समाज र सभ्यताबीच, मानवीय व्यवहार र पुराना मान्यताबीच अनि मुख्यरूपमा संस्कृति र चाडपर्वबीच गाढा सम्बन्ध हुन्छ । दशैं–तिहारजस्ता पर्व हाम्रा त्यस्तै पर्व हुन् जसको आगमनसँगै प्रेम तथा सद्भाव झाँगिन्छ ।

संस्कृतिको संरक्षण गर्दै यसमा भएका खराब खालका प्रवृत्ति हटाएर सुसंस्कृत बनाउन सकेमा सुनमा सुगन्ध हुने थियो । वैदिककालदेखि नै नेपालीहरुले मनाउँदै आएको दशैँ पनि पछिल्लो समय भड्किलो हुँदै गएको छ । दशैँमा आफूभन्दा ठूलाबाट टीका र आशीर्वाद ग्रहण गर्नुपर्नेमा टीकासँगै पैसा तथा उपहार दिनुले हामीलाई गिज्याइरहेको भान हुन्छ ।

साउनमा हरियो चुरा लगाउने परम्परा पछिल्लो समय नेपालमा भित्रिएको छ । न हाम्रा आमा, न त हजुरआमा कसैले पनि साउनमा हरियो चुरा लगाउने गरेका थिएनन् । अफवाह फैलाउँदै साउनमा हरियो चुरा लगाउँदा सर्पले डस्दैन, सुख÷शान्ति÷समृद्धि प्राप्त हुन्छ भनेर व्याख्या गर्ने गरिएको छ ।

हाम्रो कुनै पनि धार्मिक ग्रन्थमा उल्लेख नभएको साउनमा हरियो चुराले हामीलाई कंगालसमेत बनाउँदै लगेको छ । हरियो चुरा खरिदको लागि साउन महिनामा मात्रै अर्बौं रुपियाँ भारत निकासा हुने गरेको छ । सचेत वर्गहरुले आजैदेखि जागेर आफ्नो मौलिक संस्कृति जोगाउँदै विकृति र विसंगति हटाउन पहल गर्नुपर्दछ ।
– समृद्धि सुनार, दैलेख ।

प्रतिक्रिया दिनुहोस्