सलहलाई गीत र कोरोनालाई बेसार !



  • पेशल आचार्य

हरेक मानिस आफ्नो मर्जीको दास हो, चाहे त्यो मन्त्री होस् या अन्य । हाम्रोजस्तो तन्नम, अति निम्न पूँजीवादी सोच हाबी भएको र पुरातनपन्थी शैलीले शासनका सबै स्तरहरू धानेको मुलुकमा सत्ता एवं शक्तिको उपल्लो तहमा पुगेका मानिसले गरेका हरेक काममा जग हँसाइएका छन् । यही क्रम केही अघि माननीय कृषिमन्त्रीले गरेका छन् । त्यो हो– ‘सलह भगाउनका लागि अङ्ग्रेजी गीतको सङ्कलन गरिँदै छ’ भन्ने बौद्धिक भाषण । ‘अब चाँडै सलहलाई अङ्ग्रेजी गीत सुनाएर भगाइन्छ ।’

प्रसिद्ध साहित्यकार सरुभक्तले आफ्नो एक सिर्जनामा भनेका छन्– ‘हामीभित्र सबै प्रकारका जनावरहरू सुषुप्तरुपमा रहेका हुन्छन् । तिनीहरूले बाहिर प्रकट हुनका लागि मौका तलासिरहेका हुन्छन् र जब मौका प्राप्त गर्दछन् अनि ती स्वतः बाहिर प्रकट भैहाल्छन् ।’

अन्ट र सन्ट कुरा गर्ने काम संसारका सबै मानिसले गर्छन् । कोही काममा विश्वास गर्छन् भने कोही कुरामा । अहिले विश्वको सर्वशक्तिमान् नेतामध्ये एक कहलिएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बोलेका, काम गरेका, कहिलेकाहीँ ट्वीट गरेका कुराहरू सुन्दा, देख्दा र पढ्दा संसारलाई उदेक लाग्छ । मानौं कहिलेकाहीँ उनी महा जोकरजस्ता लाग्छन् । तरकारी बारीभित्रको ‘बुख्याँचा’ । जसले चराहरूलाई भगाउन मात्र किसानलाई काम दिएको हुन्छ ।

कोही मानिस बाहिरबाट हेर्दा शालीन लाग्न सक्छन् । बुद्धिजीवीजस्ता देखिन सक्छन् । भलाद्मी र उच्च व्यवहारका पनि जँच्न सक्छन् । तर संसारमा हरेक मांसपिण्डले बनेका मानिसहरू कोही पनि महामानव होइनन् । भगवान् हुँदै होइनन् । अनि हामी जनसामान्यभन्दा ठूला कोही पनि होइनन् । हुँदै होइनन् ।

संसार आफैँ भ्रमको तुँवालोमा छ । हामी जसलाई ठूलो र असल भन्छौं नि, हो त्यही मानिस नै समयका घडी घन्टाका परीक्षामा नीच, हराम, सस्तो र खल्लो पाराको देखिन्छ । भैदिन्छ कहिलेकाहीँको व्यवहारमा अचाडु अनि पानीमरुवा ।

अहिले विवेच्य विषय सलह र विवेचनाका पात्र बनेका छन्– नेकपाका दार्शनिक कृषिमन्त्री माननीय घनश्याम भुसाल । भर्खरैजसो नेकपाको रडाकोको प्रहार बनेर एक्कासि अन्त्य भएको संसद्मा बजेट पेस हुँदा खासगरी शिक्षामन्त्री गिरिराजमणि पोखरेल, कृषिमन्त्री घनश्याम भुसाल र स्वयम् अर्थमन्त्री युवराज खतिवडालाई जनताले ‘तीन विदुषक’ को उपमाले व्यङ्ग्यसमेत गरे । अहिले सो सन्दर्भ पुरानो भएझैँ भए पनि त्यसको राग अझै सेलाएको छैन ।

हरेक मानिसले आफ्नो व्यक्तित्वको छवि आफ्नै परिश्रम, मूल्य, मान्यता र शैलीले उठाएको हुन्छ । जब ऊ सार्वजनिक पद ग्रहण गरेर सार्वजनिक चासोको विषय हुन्छ अनि उसका कठिन दिन शुरू हुन्छन् । त्यसैले राजनीति गर्ने मानिसहरू जब–जब सानो होस् या ठूलो कार्यकारी पदमा पुगेपछि सयका ५÷१० प्रतिशत मानिसहरू मात्र चोखा, इमानदार र आदर्शवादी देखिन्छन् ।

बाँकी सबैलाई समयको आरनले कि त डढाएर खरानी बनाइदिन्छ । कि त ती आफैँ बद्नामीको बर्को ओढेर पदबाट लखेटिन्छन् । यही नेकपाको पुगेस् पुगेस् दुई तिहाइको सरकारमा पनि लोकप्रियताको शिखर चढ्दै गरेका सामान्य प्रशासन र संघीय मामला मन्त्री लालबाबु पण्डित कर्मचारी समायोजनमा वैज्ञानिकता बत्र्याउँदा बत्र्याउँदै आफ्ना सिन्चाधुन्जा कार्यकर्ता र केही छिप्पेका अरिङ्गालहरूलाई कमाउ मन्त्रालयमा लैजाने खेल गर्दागर्दै जनविरोधका तारो बन्न पुगे र मन्त्रिमण्डल पुनर्गठन हुँदा हठात निकालिए ।

आम जनताले ‘राजनीतिक तित्रो’ को उपमा दिएका तत्कालीन सञ्चारमन्त्री गोकुल बास्कोटा सेक्युरिटी प्रेस खरिद मामलामा ७० करोडको डिल गर्दै गर्दा विजय मिश्र नामका मिडिएटरसँगको केही सेकेन्डको अडियो टेपमा ‘बर्बाद’ भए । उहिले कांग्रेसका दिवङ्गत नेता सिके प्रसाईं भन्ने गर्दथे– ‘राजनीति स्त्रीको सिल र पुरुषको दिलझैँ कोमल हुन्छ ।

त्यसलाई भत्काउन पावर, मनी र सेक्सको एक झोक्का नै काफी हुन्छ ।’ सूक्ष्म विश्लेषण गर्ने हो भने नेपाली राजनीतिमा पञ्चायतकालदेखि नै मन्त्रीहरू आफूले प्राप्त गरेको पावर गलत प्रयोग गरेका कारण, नपच्ने गरी घूस हसुरेर बद्नाम भएका कारण र सानातिना ‘सेक्स स्क्यान्डल’ (अझ अहिले त ‘मिटु अभिभान’ नै भनियो पनि) मा मुछिएका कारण बद्नाम भएका छन् । पदमा जाँदा प्रख्यात मानिएका मानिसहरू कुख्यात बनी फालिएका छन् ।

मानिसले आफ्नो व्यक्तिलाई व्यक्तित्व बनाउनका लागि अहोरात्र परिश्रम गर्छ । तर त्यो व्यक्तित्व एकैछिन्को मज्जा र सनकमा चूर्ण हुन पुग्छ । पञ्चायतकालमा वीर हस्पिटलकी नर्सलाई ‘दुव्र्यवहार गरेर दुर्नाम कमाएका’ तत्कालीन मन्त्री बद्री मण्डल हुन् या कांग्रेसी शासनकालमा पर्खाल चढेर कुचर्चित बनेका बलबहादुर केसी, यी सबै–सबै पात्रहरूले पावरको सनकका भरमा गरिएका कुत्सित कार्य हुन् । इतिहासले सबै–सबै झीनामसिना कार्यको समीक्षा र मूल्याङ्कन गरिरहेको हुन्छ । मानिसले त्यो कहिल्यै बिर्सिंदैन । पावरले थिचेका बेला बिर्सिएको अभिनय मात्र गरेको हो ।

केही वर्षअघि असारे धान दिवसका दिन आयोजना गरिएको रोपाइँ कार्यक्रममा तत्कालीन कृषिमन्त्री हरिप्रसाद पराजुलीले आफ्नै कार्यकर्तामाथि गरेको ‘पावरको हर्कत’ले बजार मात्र तताए धेरै दिनसम्म मिडियामा स्थान पायो । अघिल्लो वर्ष बाग्मती प्रदेशका भौतिक व्यवस्थामन्त्री केशव स्थापित ‘स्त्रीयोचित विवाद’ मा तानिएर अनायास मन्त्री पद छाड्न पुगे ।

हुन त त्यस बेला उनी र मुख्य मन्त्रीबीच ‘पर्सनालिटी टक्कर’ भयो भनियो । तर कुराको चुरोमा उनले मेयर हुँदाताका उनीबाट दुव्र्यवहार गरिएकी भनिएकी एकजना पत्रकार महिला विवादको न्यूक्लियसमा आएकी थिइन् । त्यति बेला विश्व र नेपालमा समेत मिटु अभियानले मिडिया तताएको अवस्था थियो । विचरा ! हक्की, विकासप्रेमी र ड्रिम्स भिजनेरी मन्त्रीका रूपमा स्थापित केशव स्थापित असमयमै ‘जिउँदो राजनीतिक शहीद’ भए ।

यी र यस्ता सन्दर्भहरू इतिहासका गर्तमा थुप्रै थिए र छन् । खोतल्ने र खोजी गर्ने पत्रकारहरू अब क्रमशः यो मुलुकमा सिद्धिँदै गएका हुन्जस्तो लाग्छ । अझ अहिलेको समय त डरलाग्दो छ, कोही पनि स्वतन्त्र र कुनै पनि पार्टीसार्टीको पुच्छर नभएको मानिस नै हुँदैन । वरिष्ठ भनिएका एकजना कपाल फुलेका पत्रकारले रुकुममा भएको सामूहिक हत्याको एकल अनुसन्धान गरेर निकालेको निष्कर्ष सुन्दैमा कुरीकुरी लाग्ने थियो । उनले त्यहाँ बोलेको कुराले ‘बाहुनवादी गन्ध दियो’ भनेर मिडियाले लेख्यो ।

यो बजेट अधिवेशनमा कांग्रेसका बौद्धिक र पाका सांसद प्रदीप गिरीले कृषिमन्त्री घनश्याम भुसालको चालढाल, कुरा गराइ र काम गराइलाई विहंगमरुपले तुलना गर्दै भुसाललाई ‘चक्रव्यूहमा फँसेको अभिमन्यू’ सँग तुलना गरेर संसद्मा भाषण गरे । जवाफमा मन्त्री भुसालले ‘आफू चक्रव्यूहमा फँसे पनि सो व्यूह तोडेर बाहिर निस्कने तागत भएको’ कुरा जवाफमा फर्काए ।

पछि मन्त्री भुसालले एक अर्को सन्दर्भमा भने– ‘नेपाली कृषिलाई जानेबुझेरै ४० वर्षयता बिगारिएको रहेछ ।’ काम गर्ने कर्मीले कामलाई प्राथमिकता दिन्छ । बितेको व्यवस्था र तिनका नेतालाई गाली गर्दै सत्तोसराप गर्दैन । फगत् मित्थ्या आरोप लगाउँदैनन् । बजेटमै पनि भुसाल र खतिवडाको दन्तबझान भएको देखेका जनताले यी दुवै झुट भन्ने करा बुझेका छन् ।

रह्यो पानीमाथिको ओभानो बन्ने शैली । यो नेपाली राजनीतिमा नयाँ हुँदै होइन । कोरोनाले देशको स्वास्थ्य व्यवस्थाको मेरुदण्ड नै भाँचेका बेला नेपाली कृषिविद्ले विश्वासै नगरेको र आँउदैन भनेको अर्को समस्या सलह भारतबाट नेपाल आयो र तराईका १५ जिल्लामा लगाएको बालीनाली सखाप बनायो । किसानले थाल ठटाए, विषादी छरे, घरेलु विधि प्रयोग गरेर मारे । ५ नं. प्रदेशले २० रुपियाँ किलो किन्ने नीति बाहिर ल्यायो ।

तर यता कृषिमन्त्री घनश्याम भुसालले ‘सलह भगाउन अङ्ग्रेजी गीतको सङ्कलन गरिँदै छ’ भनेर जगत् नै हँसाए । कुरो नीतिको मात्र रहेन, अब त नियतको पनि रह्यो । जसरी कोरोना नियन्त्रण गर्न नेपाली बेसार काफी हुने कुरा गरेर प्रधानमन्त्री ओली असफल भए, त्यसै गरी सलहको नियन्त्रित व्यवस्थापन गर्न अङ्ग्रेजी गीत खोज्न थालेर हाम्रा ‘बौद्धिक’ कृषिमन्त्री भुसाल पनि असफल भएकै हुन् ।

भुसालको इच्छाशक्ति हुन्थ्यो भने उनले ७७ जिल्ला र ७ प्रदेशको भ्रमण गर्न सक्थे । जिल्लामा रहेका कृषि ज्ञान केन्द्रमार्फत किसानका समस्या, निदानका उपाय र कृषिलाई निर्वाहमुखीबाट निर्यातमुखी बनाउन सकिने हरेक काम–कुराका बारेमा तथ्याङ्क र अवस्था बुझ्न सक्थे । चाहना भए बहाना बनाइरहनु नै पर्दैन भनेझैँ हाम्रा कृषिमन्त्री भुसाल पनि कुरौटे रहेछन् । काम कम र कुरा दोचार्ने स्वभाव बढी भएका । नत्र यिनले यातायातमन्त्री वसन्त नेम्वाङबाटै सिक्नुपर्ने हो कि ‘काम गर्ने मानिस कुरा गर्दैन, कुरा गर्ने मानिस काम गर्दैन’ लकडाउनको समयलाई सदुपयोग गरेर नेम्वाङले सडक निर्माण र मर्मतमा उदाहरणीय काम गरेका छन् ।

हरेक कुराका लागि ‘राम–भरोसा’ हुनुपर्ने देशमा सलहका लागि पनि ‘राम–भरोसा’ नै हुनुपर्ने भयो । यो कुनचाहिँ दुःखको कुरा हो र ? बाँकी कुरा मिलाएर बुझ्ने जिम्मा पाठकहरूको हो । देशमा कोरोनारूपी कहर र सलहरूपी कलह क्रमशः बढिरहेको छ । त्यो शरीर, खेत र सत्तामा नै किन नहोस् ।

प्रतिक्रिया दिनुहोस्