सुदूरमा समृद्धिका सम्भावना



यसअघि केन्द्रीय राज्यले पछाडि पारेको भनिएको कर्णाली र सुदूर पश्चिम क्षेत्रका १८ र रुकुमको आधा भाग मिलाएर बनाइएको छैटौं प्रदेश भविष्यमा सबैभन्दा समृद्ध बन्ने सम्भावना छ । भौगोलिक आधारमा सबैभन्दा ठूलो भए पनि केही जिल्लामा अझै मोटरबाटो नपुगेका कारण विकास गर्न कठिन हुन सक्छ । कर्णालीका नदीको उद्गम स्थल र महाकाली नदीका कारण जलविद्युत् विकासको दृष्टिले यो क्षेत्र देशकै सबैभन्दा धनी हो ।

निकट भविष्यमा बन्न लागेको नेपालकै सबैभन्दा ठूलो ७ सय ५० मेगावाटको पश्चिम सेती जलाशययुक्त आयोजना, सम्भाव्यता अध्ययनको चरणमा रहेको पञ्चेश्वर र अमेरिकादेखि भारतसम्मको आँखा गढेको ८ हजार मेगावाटको कर्णाली चिसापानी आयोजना यसै क्षेत्रमा पर्दछन् । बहुमूल्य जडीबुटीको खानी भएका कारण पनि यहाँ भविष्यमा समृद्ध बन्ने आधार छन् ।

माथि उल्लिखितबाहेक पनि ती सुदूरका विशेषता छन् । कुनै प्रदेशमा जलविद्युत् आयोजना वा विमानस्थल भए पनि त्यसबाट आउने सलामी दस्तुर (रोयल्टी) त्यही प्रदेशको मात्र हुँदैन । खासगरी, मुद्रा, सेना, परराष्ट्र सम्बन्ध, ठूला जलविद्युत् आयोजना, राजमार्ग र रेलमा केन्द्र सरकारको नियन्त्रण हुने हुँदा स्रोतको समानुपातिक वितरण हुनेछ ।

संघीयता लागू हुँदैमा जनताले भोगिरहेका समस्या तत्कालै समाधान हुने छैनन्, तर पनि संघीयताले आर्थिक समृद्धिको ढोका खोल्ने निश्चित छ । ढिलो भए पनि ६ प्रदेशको प्रस्ताव सुझबुझपूर्ण ढंगले आएको छ । संघीयताको सही ढंगले कार्यान्वयन भयो भने देश छिट्टै समृद्धिको मार्गमा लम्किनेछ । देशलाई राजनीतिक अस्थिरता र संक्रमणबाट समृद्धिको मार्गमा लैजाने सही सेतु संघीयता बन्न सक्छ ।
– रोशन खत्री, कैलाली ।

 

प्रतिक्रिया दिनुहोस्