नदीमा हराएका मजदुर परिवारलाई चार लाख ५० हजार राहत दिइने



सीताराम अधिकारी,धादिङ ।

त्रिशुली नदीबाट स्थानीय ठेकेदारको बालुवा झिक्ने क्रममा नदीले बगाएर बेपत्ता भएका व्यक्तिको परिवरलाई क्षतिपूर्ति दिइने भएको छ ।गल्छी गाउँपालिका वडा नम्बर २ निवास १६ वर्षीय ताराबहादुर लुंगेली मगरको असार २४ गते डिलबहादुर भण्डारीको बालुवा झिक्दै गर्दा नदीले बगाएर हराएका थिए ।

हराइरहेका परिवारलाई ठेकेदारको तर्फबाट ३ लाख ५० हजार रुपैयाँ र गाउँपालिकाको तर्फबाट १ लाख रुपैयाँ गरि ४ लाख ५० हजार रुपैयाँ क्षतिपूर्ति दिन सम्बन्धीत पक्ष सहमत भएका हुन् । प्रमुख जिल्ला अधिकारी असमान तामाङ समक्ष पीडित परिवारको तर्फबाट क्षतिपूर्तिका लागि माग गर्दै आज निवेदन दिएका थिए ।

जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी तामाङ, जिल्ला समन्वय समितिका प्रमुख जगन्नाथ नेपाल, प्रहरी उपरिक्षक रबिन्द्र रेग्मी, गल्छी गाउँपाकिला अध्यक्ष कृष्णहरी श्रेष्ठ, नेकपा धादिङका अध्यक्ष नेत्रराज पौडेल, नेपाली काग्रेस धादिङका सभापति रमेश धमला, पीडित परिवार समेत बिच भएको छलफलका क्रममा मजदुर परिवारलाई क्षतिपूर्ति दिने सहमति भएको पीडित परिवारका छिमेकी शागर लामीछाने मगरले बताउनुभएको छ ।

नदी नजिकै घर भएका भण्डारीले बालुवा झिकेर विक्रि गर्दा मजदुरलाई ६ हजार दिने र नाफा गरेर विक्रि गर्ने गरेका थिए । हराइरहेका ताराबहादुर सहित १५ जना मजदुर भण्डारीले काम लगाइरहेका थिए । पीडित परिवारले प्रमुख जिल्ला अधिकारीलाई दिएको निवेदनमा नदीमा काम गर्ने सम्पूर्ण मजदुरको विमा गर्न, जोखिममा काम गर्दा सुरक्षाका सबै उपायहरु अपनाउन समेत माग गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्