खोकनाबासीको विरोध अनावश्यकः राज्यमन्त्री मानन्धर

मानन्धरलाई बहिष्कार गर्ने चेतावनी



न्युज अफ नेपाल, काठमाडौं ।

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले खोकनावासीको आन्दोलन सही नभएको बताउनुभएको छ ।

विकासको नाउँमा सरकारले सांस्कृतिक बस्ती मासिन लागेको भन्दै खोकनाबासीका विरोधप्रति ऐक्यबद्धता जनाउँदै विशेषतः यहाँका नेवाः समुदाय आन्दोलित भइरहेको बेला सो धारणा सार्वजनिक गर्नुभएको हो ।

विकासको नाउँमा उपत्यकाको सांस्कृतिक, पर्यावरणको विनाश गर्न लागेको भन्दै आन्दोलनमा भइरहँदा सञ्चारकर्मीहरुसंग कुराकानी गर्दै उहाँले भन्नुभयो ‘ काठमाडौं–तराई मधेश जोड्ने फास्ट ट्रयाकको ‘जेरो प्वाइन्ट’ खोकनामा बनाउ“दा त्यहा“का विभिन्न धार्मिक तथा पुरतात्विक सम्पदा मासिने भन्दै स्थानीयले जुन विरोध गरिरहेको छ । यो सही छैन। ’

राज्यमन्त्री मानन्धरले अर्को वैकल्पिक चक्रपथ बनाए झन् राम्रो हुने भन्दै यसबाट निजगढको अन्तर्राष्ट्रिय विमानस्थललाई जोडन सकिने धारणा राख्नुभयो । उहाँले भन्नुभयो ‘ यसबाट नै पूर्व पश्चिम राजमार्ग जोड्ने हो । फास्ट ट्रयाकको लक्ष्य भनेकै भारतको व्यापारिक केन्द्र जोडिनु हो । पहिले जापानले बनाई दिएको वीपी राजमार्ग निजगढबाट १ सय कि. मी टाढा छ । यसबाट कम दुरीबाट राजधानी जोडिनु भनेकै ठूलो उपलब्धि हुन् । यसबाट राजधानी आउन सर्वसुलभ हुनेछ । तसर्थ हामीले नयाँ शहरको कल्पना गर्नु पर्दछ ।’

सरकारले अहिले ४ वटा स्मार्ट सिटी बनाउन लागेको बताउँदै राज्यमन्त्री मानन्धरले भन्नुभयो ‘ त्यसका लागि डिपीआर बन्दै छ ।सूर्यविनायक मुनिको पहाड हेर्न जानुभयो भने त्यहाँका अधिकाशं ठाउँ खुल्ला छ । त्यसलाई पनि शहरको रूपमा विकसित गर्न सकिन्छ । जस्तै अहिले टोखा र तारकेश्वरलाई मिलाएर एउटा राम्रो शहरको परिकल्पना गरिएको छ । ऐतिहासिक शहर टोखामा महर्जनहरूको जग्गा धेरै नै रहेको छ । हिजो रिंगरोड बन्दा टोखामा ४ लेनको बाटो बनाईदिएको भए अहिले जनजीवन कति सरल र सहज हुन्थ्यो होला ।’

यसैबीच मन्त्री मानन्धरको धारणाप्रति आक्रोश व्यक्त गर्दै आन्दोलनरत खोकनाबासीहरुले राज्यमन्त्री वहिष्कार अभियान चलाउने चेतावनी दिएका छन् । आन्दोलनको अगुवाई गरिरहनुभएका असोज महर्जनले जिम्मेवार मन्त्री विषयको गम्भीरता नबुझेर हचुवा तरिकाले प्रतिक्रिया दिइरहने हो भने भोलि वहिष्कार गर्ने समेत दिन आउने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्