‘पीडितका लागी स्थानीय सरकार छ, राहतका नाममा कसैले राजनीति नगरौँ’



नानीराम नेपाल, सिन्धुपाल्चोक ।

बाह्रबिसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले विपदका बेला राहतका नाममा राजनीति नगर्न खबरदारी गर्नुभएको छ । स्थानीय सरकारका हैसियतले नगरपालिकाले बाढीपीडितलाई राहत सामाग्री पुयाइरहेको भन्दै नगरपालिकासँग समन्वय गरेर मात्र राहत उपलब्ध गराउँन उहाँले सार्वजनिक अपिल गर्नुभएको छ ।

जम्बु खागदलका बाढीपीडित तथा बिस्थापितको दीर्घकालिन व्यवस्थापन गरिने बताउनुभएको छ । बाढीपीडितलाई तत्कालीन राहत अन्तर्गगत एक चरण गाँसबासका लागी चाहिने सामाग्री

पुर्याइएको भन्दै उनीहरुको दीर्घकालिन व्यवस्थापनमा नगरपालिकाले ठोष योजनाका साथ काम गर्ने उहाँले बताउँनुभयो ।

पीडित विस्थापितका लागी तत्कालीन राहतका सबैखाले सामाग्री पुगिसकेको भन्दै उनीहरुलाई तत्काललाई गाँस बासको समस्या हुन नदिने उहाँले बताउनुभयो । ‘एक चरण सबैतिर गाँसबासका अत्यावस्यक सामाग्री पुगिसक्यो, यातायात अवरुद्ध भएपछि नगरपालिकाले बोकेरै राहत सामाग्री लग्यो’, मेयर शेर्पाले भन्नुभयो ।

बर्खायाम पछि जम्बु खागदल बाढीका विस्थापितहरुलाई दीर्घकालिन व्यवस्थापनको योजनका साथ काम गर्ने उहाँले बताउनुभयो । केन्द्र, प्रदेश र स्थानीय सरकारबीच समन्वय गरेर विस्थापितको दीर्घकालिन व्यवस्थापनको काम थालिनेशेर्पा बताउँनुहुन्छ ।

विपदका बेला पनि अराजक मनोवृतिका मानिसहरुले राजनीतिको खेति गरिरहेको भन्दै मेयर शेर्पाले विपदका बेला राजनीति नगर्न खबरदारी समेत गर्नुभयो । ‘केन्द्रमा काँग्रेस सरकारी विपद कोषमा सहयोग गर्छ, यहाँ काँग्रेसी साथीहरु राहतका नाममा भोट माग्न गइरहेका छन् ।’

एकद्वार प्रणालीमा पीडित विस्थापितलाई सहयोग गर्ने नीति भएपनि काँग्रेसका स्थानीय नेताहरुले नगरपालिकासँग कुनै समन्वय नै नगरी चुनावी शैली देखाएर अघि बढेको बताउँनुभयो । ‘राजनीतिमा पनि संस्कार हुन्छ, विपदमा सरकारलाई सघाउने की राजनीतिक स्वार्थ बोकेर हिड्ने ?’ शेर्पाले प्रश्न गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्