खेलकुद गतिविधि सञ्चालन गर्न माग



पोखरा, (नेस)
विश्वमा महामारीका रूपमा फैलिएको कोरोना भाइरस रोकथाम र नियन्त्रण गर्नका लागि सरकारले चैत ११ गतेदेखि लकडाउनको घोषणा ग¥यो । अहिले सरकारले विस्तारै खुकुलो बनाउँदै लाने तयारी पनि गरेको छ । लकडाउनका कारणले खेल गतिविधि भने ठप्प हुन पुगेको छ । तर व्यक्तिगत खेलहरू भने शुरू गरिसकेको छ ।

‘स्वास्थ्यका लागि खेलकुद’ भनिए पनि खेलकुद राज्यका लागि अनिवार्य आवश्यकताभित्र पर्दैन । अनिवार्य आवश्यकताभित्र नपर्दा संघीय सरकारले कोभिड–१९ को महामारीकै कारण खेलकुद गतिविधि सञ्चालन नगर्न निर्देशन गर्दै आएको छ । जिल्ला खेलकुद विकास समिति कास्कीले चैतको पहिलोसातादेखि नै पोखरा रंगशालाभित्र कुनै गतिविधि नगर्न सूचना जारी गरेको थियो ।

लकडाउन गर्नुअघि नै राष्ट्रिय खेलकुद परिषद्को निर्देशनअनुसार रंगशालाभित्र कुनै पनि खेलकुद गतिविधि नगर्न जिल्ला खेलकुद विकास समिति कास्कीले सर्वसाधारणका लागि मुख्य प्रवेशद्वारमै सूचना टाँस गरेको थियो । सरकारले भीडभाड हुने खेलले कोभिड–१९ को जोखिम बढ्ने सम्भावना देखाउँदै समूहगत खेललार्ई प्राथमिकतामा राखेको छैन ।

पोखरामा लकडाउन खुकुलो भएसँगै बजार तथा सवारीसाधन गुड्न र बजार खुल्न थालेका छन् । सरकारले सबै क्षेत्र खुलाउने प्रयास गरिरहँदा खेलक्षेत्र भने प्राथमिकतामा छैन । व्यायाम व्यवसाय संघ कास्की, कास्की बडिबिल्डिङ एन्ड फिटनेस संघ, फुटसल व्यवसायी, जुम्बा व्यवसायी कास्कीले खेलकुद क्षेत्रलाई प्राथमिकतामा राखी जिम, जुम्बा, फुटसल सञ्चालन गर्न दिनुपर्ने मागसहित जिल्ला प्रशासन कार्यालय कास्कीमा धर्ना दिएका छन् । संघहरूले संयुक्तरूपमा सरकारको ध्यानाकर्षण गराउँदै ९ बुँदे मागसहित आइतबार ज्ञापनपत्रसमेत बुझाएका छन् ।

पोखरामा स्पोर्टस् क्याटल सञ्चालन गर्दै आइरहेका पूर्वराष्ट्रिय खेलाडी ईश्वर गुरुङ (चन्द्र)ले चार महिनादेखि फुटसल तथा जिमहल सञ्चालन गर्न नपाउँदा धेरै खेलाडी तथा सर्वसाधारणलाई मर्का परेको बताए । ‘कोभिडका कारणले चार महिनादेखि व्यवसाय ठप्प छ, कर्मचारी छन्, भाडा तिर्नुपर्छ, यतिमात्र होइन, जिम र फुटसलमा मानिस फिटनेसका लागि आउने गर्दछन्, जुन स्वास्थ्यका लागि अपरिहार्य कुरा हो । हामीले सञ्चालन गर्न पाउनुपर्छ।’ –उनले भने ।

युरोपका देशमा खेल गतिविधि सञ्चालन भए पनि नेपालमा भने नभएको र अब खेल गतिविधि सुचारु गर्नुपर्ने उनले बताए । ‘खेलकुदले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । उच्च सतर्कता अपनाउँदै हामी सञ्चालन गर्न सक्छौं।’ –उनले भने ।

यस्तै व्यायाम व्यवसायी संघ कास्कीका सचिव बलराम सुवेदीले रोगले भन्दा पनि भोकले मर्न बाध्य भएको बताए । व्यायाम, फुटसल, जुम्बालगायत कार्य खेलकुदमात्र नरहेर मानिसलाई स्वस्थ बनाउने माध्यमसमेत रहेको बताउँदै सञ्चालनका लागि ९ बुँदे माग सुनुवाइ नभए आन्दोलन थप चर्काउने चेतावनी दिए ।
आफूहरूले उचित मापदण्ड बनाएर सञ्चालन गर्न सक्ने उनले बताए ।

घर तथा जग्गाको भाडा तथा बंैकको किस्ताले समेत दबाब दिएकै कारण व्यवसाय सञ्चालन गर्न आवश्यक रहेको उनले बताए । मानिसहरूलाई कसरतले र खेलले फुर्तिलो बनाउनुका साथै मानसिकरूपमा समेत बलियो बनाउने हुँदा यस्ता संस्था खोलिनुपर्ने औंल्याए । नेपाल यू–१९ का राष्ट्रिय खेलाडी रन्दीप पौडेलले अब राज्यले प्रशिक्षणसमेत शुरू गर्नुपर्ने बताए । चार महिनादेखि प्रशिक्षण बन्द हुँदा फुटसलमात्र खेले पनि केही राहत मिल्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्