वर्षासँगै डेंगुको डर



विश्वभर कोरोना महामारीको कहर चलिरहेका बेला नेपालमा वर्षायामसँगै डेंगुको डर दिनदिनै बढिरहेको छ । विशेष गरी तराई मधेसका क्षेत्रमा यस्तो बेला अत्यधिक डेंगुको संक्रमण देखिने गरेको छ । डेंगु भएपछि उच्च ज्वरो आउँछ । डेंगुविरुद्धको खोप तथा खास उपचार नभएकाले लामखुट्टेको टोकाइबाट बच्नु नै मुख्य उपाय हो ।
तराई मात्र होइन, केही वर्षयता पहाडी जिल्लामा समेत डेंगुको संक्रमण देखा पर्ने गरेको छ ।

रोगले जटिल रूप लिएको अवस्थामा शरीरका भित्री अंगबाट रक्तस्राव हुने भएकाले यो प्राणघातक मानिएको छ । विश्व स्वास्थ्य संगठनले डेंगु विस्तारमा उल्लेखनीय वृद्धि भइरहेको तथ्य सार्वजनिक गरिसकेको छ । मनसुनअघि नै प्रकोपको रूप लिएको डेंगुको चुनौती थपिएको छ ।

डेंगु रोगबाट बच्ने उपाय नै लामखुट्टेको टोकाइबाट जोगिनु हो । सरकारले हरेक वर्ष लामखुट्टे नाश गर्न कीटनाशक औषधि छर्कनुका साथै झुल वितरण गर्दै आएको छ । रोकथाममूलक ती कार्यक्रम अपर्याप्त देखिएका छन् । त्यसमा दोष बजेटलाई दिने गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले डेंगुबाट जोगिन अपनाउनुपर्ने सावधानीका सन्देश समयमै लक्षित समुदायमा प्रवाह गर्न सकेको छैन । लामखुट्टेको टोकाइबाट जोगिन घरवरपरको पानी जम्ने खाल्डा पुर्नुपर्छ । बर्खामा बाहिरका भाँडामा पानी जम्न दिनुहुँदैन । एसी, कुलर, फ्रिजजस्ता उपकरणमा पनि पानी जम्न दिनुहुँदैन ।

डेंगु ज्वरोको समस्या देखा परेमा तत्काल स्वास्थ्य संस्थामा गई जँचाउनुपर्छ । यस्ता सामान्य सावधानीका उपायसमेत सर्वसाधारणसम्म पुग्न सकेको छैन । राज्यले स्वास्थ्यसम्बन्धी सन्देश एवं सूचना सुलभरूपमा प्रवाह गर्नुपर्छ । स्थानीय भाषामा समेत सूचनामूलक, प्रवद्र्धनात्मक र जनचेतनामूलक स्वास्थ्य शिक्षा र सूचनाको प्रवाह गर्न सरकारी र गैरसरकारी क्षेत्रलाई परिचालन गर्नुपर्छ । संविधानको मर्म र भावनाअनुरूप स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन उपलब्ध साधन–स्रोतको अधिकतम प्रयोग गर्नुपर्छ ।

यसका लागि सेवाप्रदायक, सेवाग्राही र सरोकारवालाबीच रणनीतिक सहकार्य गर्नुपर्छ । नागरिकको स्वस्थ रहन पाउने मौलिक अधिकारको सुनिश्चित गर्नुपर्छ । यो दायित्व सरकारकै हो । संघीयतासँगै बनेका तीन तहका सरकारबीच अधिकार, दायित्व बाँडफाँड र समन्वय गरेर यो अवस्थालाई पराजित गर्न आवश्यक कदम चाल्नुपर्दछ । स्वास्थ्यमा पनि हालत यही छ । त्यसलाई चाँडै सल्टाएर डेंगुजस्ता दुःख दिने रोगबाट मुक्ति दिलाउनु आवश्यक छ ।
– रोशन चौधरी, सप्तरी ।

प्रतिक्रिया दिनुहोस्