सम्पदाको सुरक्षा



राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले सम्पदा पुनर्निर्माण दुई विधिमार्फत गरिरहेको छ, एक ठेकदारमार्फत र दोस्रो स्थानीय समुदायमार्फत । प्राधिकरणको अहिलेसम्मको अनुभवमा सम्पदा पुनर्निर्माणमा उपभोक्ता समितिमार्फत गराउने कार्य अब्बल ठहरिएको छ, ठेक्का प्रथाको तुलनामा ।
सम्पदा पुनर्निर्माणका विभिन्न अनुभवले समुदायमार्फत गर्ने कुरा प्रभावकारी हुँदै गएको निष्कर्ष राष्ट्रिय

पुनर्निर्माण प्राधिकरणले पनि निकालेको छ । भत्किएको सम्पदाप्रति एकाकार भएका समुदायले हाम्रो सम्पदा हामी आफैं निर्माण गरौं भन्ने भावनाले पुनर्निर्माणले गति लिएको छ । पुनर्निर्माणमा समुदायको अपनत्व, जिम्मेवारी र एकाकार नै यसको मुख्य कारण हो । पछिल्लोपटक स्थानीय समुदायले पुनर्निर्माण थालेका कार्यहरू समयमै पूरा भएका अनेक उदाहरण पाइएको छ । पुरातत्व विभाग र स्थानीय नेवाः गुहाली पुचःले जिम्मा लिएका ४९ सम्पदामध्ये ४३ सम्पदा पुनर्निर्माण सम्पन्न हुनु उपभोक्ता समितिमार्फत गरिएको काम प्रभावकारी हुनुको अर्को उदाहरण बन्न पुगेको छ ।

ठेकेदारको लापरबाहीका कारण धेरै वर्षसम्म बन्न नसेकको ललितपुरको बुंगमतीको रातो मच्छिन्द्रनाथ मन्दिरको पुनर्निर्माण उपभोक्ता समितिमार्फत पुनः गति लिन थालेको छ । ललितपुरको विश्व सम्पदा सूचीमा सूचीकृत भीमसेन मन्दिर पुनर्निर्माण काष्ठमण्डप मन्दिर र भक्तपुर नगरपालिकाले जिम्मेवारी लिएका १६ सम्पदा सबै पुनर्निर्माण सम्पन्न हुनुले पनि उपभोक्ता समितिको प्रभावकारीलाई पुष्टि गर्दछ । सम्पदाको पुनर्निर्माण सामान्य विकास तथा पूर्वाधारका कामजस्तो होइन ।

सडक, पुल वा कुनै व्यावसायिक भवन निर्माणभन्दा भिन्न छ, सम्पदा पुनर्निर्माण । सार्वजनिक खरिद ऐनअनुसार विकास निर्माणका कामहरू ठेक्का प्रथाबाट गर्नुपर्ने नियम छ । तर, पुरातात्विक तथा ऐतिहासिक महत्वका सम्पदाहरूको पुननिर्माणको काम ऐनअनुसार गर्दा तिनको मौलिकता र गुणस्तरीयतामा प्रश्न उठ्ने गरेका छन् । ठेक्कामार्फत गराउँदा कतै ठेकदार भाग्ने, मौलिकता बिग्रिने समस्या सिर्जिएको छ । नेपालको पुरातात्विक सम्पदा पुनर्निर्माणमा निर्माण व्यवसायीहरूको क्षमता कमजोर छँदै छ, अर्कोतर्फ सम्पदाको रेखदेख र पुनर्निर्माणको जिम्मेवारी सरकारी निकायको खरिद व्यवस्थापन गर्ने क्षमतामा कमी देखिएको छ ।

पाटनको राधाकृष्ण मन्दिर यसको एउटा ज्वलन्त उदाहरण बनेको छ । मन्दिर निर्माणको शुरूका चरणमै ठकेदार गायब भएका थिए । खरिद ऐनअनुसार टेन्डर गर्दा प्रायःजसो सबैभन्दा कम मूल्यमा ‘बिड’ गर्नुपर्ने हुन्छ । बोलपत्र आह्वान गरेर गराउँदा लागत रकमभन्दा कम राख्नेले ठेक्का पाउँछ । त्यसमा गुणस्तरीयतामा सम्झौतामा हुने गरेको छ । यसले गर्दा ठेकेदारीमार्फत सम्पदा पुनर्निर्माण कार्य प्रभावकारी नभएको हो ।

सम्पदाविद्हरूका अनुसार सम्पदाको पुनर्निर्माण गर्नु भनेको भौतिकरूपमा उभ्याउनु मात्र होइन । मौलिकतालाई जोगाएर सम्पदा पुनर्निर्माण गर्नुपर्ने हो । भूकम्पले क्षति पु¥याएका सम्पदामा अब हामी जसरी पुनर्निर्माण गर्छौं, त्यसले हाम्रो मौलिकता कसरी जोगाउँछ, पहिलेको जस्तै महत्व कसरी झल्काउँछ र अरू सम्पदा तथा सभ्यतासँग कसरी एकरूपता कायम गर्छ भन्ने मुख्य चुनौती रहेको छ । सम्पदामा रहेका हाम्रा मूल्य–मान्यता कसरी स्थापित गर्ने भन्ने मुख्य प्रश्नमा सार्वजनिक खरिद ऐनमार्फत गरिएका काम खरो उत्रिन सकेको छैन । यसले गर्दा उपभोक्ता समितिमार्फत निर्माण कार्य बढी प्रभावकारी भएको हो ।

प्रतिक्रिया दिनुहोस्