रियल मेड्रिड उपाधि नजिक



लन्डन, एजेन्सी ।

स्पेनिस ला लिगा फुटबलमा रियल मेड्रिड उपाधि नजिक पुगेको छ ।

लिगको ३६औं चरणको खेलमा रियलले लिगको १०औं स्थानको ग्रानाडालाई उसैको घरेलु मैदानमा २(१ गालेअन्तरले हराउँदै उपाधि नजिक पुगेको हो । उक्त जितपछि रियललाई अब उपाधि च्याम्पियन बन्न मात्रै एक जित आवश्यक छ । समान ३६ खेलपछि दोस्रो स्थानको बार्सिलोना स्पष्ट ४ अंकले पछि परेको छ ।

ग्रानाडाको घरेलु मैदानमा भएको निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा रियलले घरेलु टोलीविरुद्ध पहिलो हाफमै २(० को सहज अग्रता लिएको थियो । रियलका लागि खेलको १०औं मिनेटमै डिफेन्डर फोर्लान् मेन्डीले कासेमिरोको पासमा गोल गरेका थिए । त्यसपछि खेलको १६औं मिनेटमा रियलका फ्रेन्च फरवार्ड करिम बेन्जेमाले गोल गर्दै रियलको अग्रता दोब्बर बनायो ।

यता ग्रानाडाले दोस्रो हाफ सुरु भएको ५ मिनेटमै गोल फर्कायो । सो गोल डर्विन म्याचिसले गरेका थिए । रियलका मिडफिल्डर कासेमिरोले बल क्लियर गर्न नसकेको गल्तीको फाइदा उठाउँदै क्रस पासमा म्याचिसले कोर्टुवाको टाङमुनिबाट आकर्षक गोल गरेका थिए ।

यो सिजन ग्रानाडाले आफ्नो घरेलु मैदानमा बार्सिलोना र एथ्लेटिको मेड्रिड दुवैलाई पराजित गरेका थिए । तर, सोही मैदानमा लिग लिडर रियलले भने स्पष्ट जित निकालेर उपाधि नजिक पुुुग्न सफल भयो । रियल मेड्रिडले कोरोना भाइरसपछि सुचारु भएको लिगको ९ वटै खेलमा शतप्रतिशत जित आत्मसात गरेको छ ।

मंगलबार बिहानको जितपछि रियलले लिगका ३६ खेल सकिँदा कूल ८३ अंक जोडेको छ । समान म्याच खेलेको बार्सिलोना ७९ अंकसहित लिगको दोस्रो स्थानमा छ । पराजित ग्रानाडा ५० अंकसहित १०औं स्थानमा यथावत छ ।

प्रतिक्रिया दिनुहोस्