आउने भयो डान्सिङ विथ स्टार



कोरोना महामारीका कारण महिनौंदेखि घरमै थुनिएर बसेका दर्शकका लागि अब हिमालय टेलिभिजनमा लोकप्रिय स्टारहरूको मनोरञ्जनात्मक रियालिटी सो आउने भएको छ।

लकडाउनअगाडि नै घोषणा भए पनि कोरोना महामारीका कारण सुटिङ शुरू हुन नपाएको डान्सिङ विथ द स्टार नेपाल हिमालय टेलिभिजनबाट प्रसारणको अन्तिम तयारी भइरहेको सो टेलिभिजनका प्रस्तोता राज श्रेष्ठले जानकारी गराएका छन्। ‘हामीले सबै तयारी पहिले नै सकिसकेका थियौं, लकडाउन शुरू भएपछि सुटिङ रोक्नुपरेको थियो’, कार्यक्रमका निर्देशक लक्ष्मण पौडेलले जानकारी गराए– ‘सरकारले तय गरेको गाइडलाइन फलो गर्दै हामी सुटिङको तयारीमा जुटेका छौं।’

उनका अनुसार २६ शृङ्खलाको यो कार्यक्रममा १२ जना स्टार कलाकारले एकएक जना प्रोफेसनल डान्सरसँग जोडी बाँधेर नृत्य प्रतिस्पर्धामा भाग लिनेछन्। हरेक साता हुने भोटिङबाट एलिमिनेसन हुनेछ। ‘लकडाउनका बेला पनि सुटिङ गर्न सकिने गरी बीबीसीले नयाँ गाइडलाइन बनाएको छ’, हिमालय टेलिभिजनका कार्यकारी निर्देशक श्याम कँडेलले भन्नुभयो– ‘लकडाउनकै बीचमा २७ वटा मुलुकमा डान्सिङ विथ द स्टार सुटिङ र प्रसारण भइसकेको हुँदा हामीले पनि त्यसैलाई पछ्याउने निधो गरेका छौं।’

सरकारले जारी गरेको स्वास्थ्य निर्देशिका र सुरक्षाका उपायसम्बन्धी गाइडलाइनको पूर्ण परिपालना गरी अभ्यास र सुटिङ गरिने कँडेलले बताए। ट्यालेन्ट, इमोसन, ह्युमर र कम्पिटिसनको फ्युजन रहने डान्सिङ विथ द स्टार्स बहुचर्चित फ्यामिली रियालिटी शोको रूपमा परिचित छ।

लकडाउनका बेला घरमै थुनिन बाध्य नेपाली दर्शकका लागि मनोरञ्जनको पूर्ण प्याकेजका रूपमा यो रियालिटी सो ल्याउन लागिएको हिमालय टेलिभिजनले जनाएको छ। अनस्क्रिन प्रतिस्पर्धासँगै हुने स्क्रिनबाहिरका गतिविधिले दर्शकलाई नृत्यमार्फत शारीरिक तथा मानसिक स्वास्थ्य मजबुत बनाउन सहयोग पुग्ने टेलिभिजनले विश्वास लिएको छ।

दर्शकहरूको भोट र निर्णायकहरूको मूल्यांकनका आधारमा हरेक हप्ता १ जना कार्यक्रमबाट इलिमिनेट हुँदै जानेछन्। विजेताले कुल २५ लाख (करसहित) नगद र अन्य पुरस्कार प्राप्त गर्ने छन्।

 

प्रतिक्रिया दिनुहोस्